गगन–विश्वले नबुझेको तथ्य र नस्वीकारेको सत्य
सारांश
- नेपाली कांग्रेस अहिले गम्भीर वैचारिक, सङ्गठनात्मक र मनोवैज्ञानिक सङ्क्रमणको चरणमा छ, जहाँ पार्टीलाई डिजिटल ब्रान्ड बनाउने प्रयास भइरहेको छ ।
- गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई स्टार्टअप वा डिजिटल परियोजना नभई ऐतिहासिक चेतना भएको संस्था बुझ्न नसकेको आरोप लगाइएको छ ।
- पार्टीभित्रको नयाँ नेतृत्वले असहिष्णुता, बहिष्कार र भागबन्डाको राजनीति गरेको आरोप छ, जसले पार्टीको आत्मालाई कमजोर बनाएको छ ।
नेपाली कांग्रेस अहिले इतिहासकै गम्भीर वैचारिक, सङ्गठनात्मक र मनोवैज्ञानिक सङ्क्रमणको चरणमा उभिएको छ । बाहिरबाट हेर्दा पार्टीभित्र ‘नयाँ पुस्ता’, ‘ऊर्जाशील नेतृत्व’, ‘स्पष्ट राजनीति’, ‘सुधार’, ‘डिजिटल सङ्गठन’ र ‘परिवर्तन’ का आकर्षक नाराहरू सुनिन्छन् । तर भित्र पसेर हेर्दा एउटा असहज यथार्थ देखिन्छ– कांग्रेसको ऐतिहासिक आत्मा, सामूहिकता र राजनीतिक संस्कारलाई विस्थापित गरेर एउटा कृत्रिम, प्रचारमुखी र डिजिटल छविमा आधारित कांग्रेस निर्माण गर्ने प्रयास भइरहेको छ ।
आज गगन थापा र विश्वप्रकाश शर्माले बुझ्न नचाहेको वा स्वीकार गर्न नसकेको सत्य के हो भने कांग्रेस कुनै स्टार्टअप कम्पनी होइन, कुनै डिजिटल ब्रान्ड होइन, र कुनै ‘डेटा ड्रिभन’ राजनीतिक परियोजना पनि होइन । कांग्रेस ऐतिहासिक चेतना हो । यो लाखौँ कार्यकर्ताको त्याग, पीडा, जेल, सङ्घर्ष, आन्दोलन र भावनाले बनेको संस्था हो । यसलाई केवल भाषण, ट्रेन्डिङ क्लिप, फेसबुक लाइभ, युट्युबका भ्युज र डिजिटल इमेजिङले प्रतिस्थापन गर्न सकिँदैन ।
- ‘हामी ओरिजिनल कांग्रेस, अरू डुप्लिकेट’
गगन–विश्व प्रवृत्तिको सबैभन्दा खतरनाक राजनीतिक मनोविज्ञान के हो भने उनीहरूले आफूलाई ‘शुद्ध कांग्रेस’ र अरूलाई ‘भ्रष्ट’, ‘पुरानो’, ‘निकम्मा’ वा ‘डुप्लिकेट कांग्रेस’ का रूपमा चित्रण गर्न खोजे । यो दृष्टिकोण कांग्रेसको मूल चरित्रविरुद्ध छ ।
कांग्रेसभित्र रहेका विभिन्न समूहहरू वैचारिक रूपमा पृथक थिएनन् । अधिकांश नेता/कार्यकर्ता, कुन नेताको वरिपरि उभिए भन्ने कुरा विचारधाराको भन्दा पनि सङ्गठनभित्र अवसर, पहुँच र आन्तरिक व्यवस्थापनको कारणले तय भएको थियो । गगन थापा वा विश्वप्रकाश शर्मा जति ‘क्रान्तिकारी’ वा ‘प्रगतिशील’ नभएकै कारण अरू नेता/कार्यकर्ता अर्को खेमामा गएका थिएनन् वा गगन–विश्वप्रकाश शर्मासँग उभिएका कार्यकर्ताभन्दा अरू खेमामा उभिएकाहरू कम अग्रगामी होइनन् । बरु थप योग्य र सक्षम हुन सक्छन् ।
वास्तवमा, आज जसलाई उनीहरू सार्वजनिक रूपमा तिरस्कार गर्दैछन्, तिनै नेताहरूको संरक्षण, कृपा र राजनीतिक छाँयामा बसेर उनीहरू यहाँसम्म आइपुगेका हुन् । इतिहासको कठोर सत्य के हो भने गगन र विश्व स्वयं कांग्रेसभित्र कसैका राजनीतिक अनुयायी, संरक्षित पात्र र सत्ता–साझेदार थिए । आज अचानक आफूलाई नैतिकताको एक मात्र ठेकेदार घोषित गर्नु इतिहासप्रति बेइमानी हो ।
- विशेष महाधिवेशन साझा स्वीकृति थिएन
कांग्रेसको पछिल्लो शक्ति संरचना कुनै सर्वस्वीकार्य साझा सहमतिबाट बनेको होइन । त्यो एउटा विशेष परिस्थितिमा, एउटा विशेष समूहको प्रभुत्वमा सम्पन्न संरचना थियो । विगतका महाधिवेशनहरूमा पनि प्रतिस्पर्धी गुटहरूबीच तिक्तता हुन्थ्यो, तर सबैको उपस्थिति हुन्थ्यो । सबैलाई न्यूनतम सम्मान दिइन्थ्यो र सङ्गठनात्मक वैधताको एउटा साझा आधार रहन्थ्यो ।
तर अहिले अवस्था फरक छ । फरक धारका मानिसहरूको उपस्थिति, सहभागिता र सम्मानबिनै निर्माण गरिएको नेतृत्वलाई सबैले सहज रूपमा स्वीकार गर्छन् भन्ने अपेक्षा नै अव्यावहारिक थियो । गगन–विश्व नेतृत्वले यही मनोविज्ञान बुझ्न सकेन ।
अदालत, निर्वाचन आयोगबाट मान्यता पाएर प्राविधिक रूपमा नेतृत्वमा उभिनु एउटा विषय हो; तर सम्पूर्ण पार्टी पङ्क्तिको मनोवैज्ञानिक र राजनीतिक स्वीकृति प्राप्त गर्नु अर्कै विषय हो । आजसम्म पनि कांग्रेसभित्र ठूलो पङ्क्तिले यो नेतृत्वलाई ‘सर्वस्वीकार्य’ रूपमा ग्रहण गरेको देखिँदैन ।
- नयाँ नेतृत्व बदला, बहिष्कार र असहिष्णुताको नमुना बन्दै
विशेष महाधिवेशनपछि पार्टीका गतिविधिहरूमा एउटा खतरनाक प्रवृत्ति देखियो । गगन–विश्व समूहबाहेकका मानिसहरूलाई क्रमशः पाखा लगाउने । जिम्मेवारी खोस्ने । अपमानित गर्ने । निषेध गर्ने ।
यसको सबैभन्दा प्रतीकात्मक उदाहरण थियो, राष्ट्रिय सभाको दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने शैली । शान्ति प्रक्रिया र संविधान निर्माणमा मुलुकका लागि अतुलनीय योगदान पुर्याएका नेता सिटौलालाई सामान्य जानकारीसम्म नदिई, न्यूनतम नैतिकता नदेखाई गरिएको व्यवहारले सङ्गठनात्मक संस्कारको स्तर कति तल झरेको छ भन्ने देखाउँछ ।
यो केवल पद हेरफेर थिएन; यो एउटा राजनीतिक सन्देश थियो ‘हामीबाहेक अरूको अस्तित्व मान्य छैन ।’
विशेष महाधिवेशनपछि कांग्रेसभित्र सबैभन्दा गम्भीर रूपमा महसुस गरिएको कुरा केवल शक्ति हस्तान्तरण थिएन; त्यो इतर पक्षप्रतिको व्यवहार थियो । पार्टीभित्र असङ्ख्य नेता–कार्यकर्ता, जो फरक समूहमा उभिएका थिए, उनीहरूलाई नयाँ नेतृत्वले न्यूनतम राजनीतिक संवेदनशीलतासमेत नदेखाई अवहेलना गर्यो । व्यवहार यस्तो देखियो मानौँ सन्देश स्पष्ट थियो– ‘खाए खा, नखाए घिच ।’
राजनीतिमा विजयपछिको सबैभन्दा ठूलो गुण उदारता हो । परिपक्व नेतृत्वले प्रतिस्पर्धालाई समाप्ति होइन, सहकार्यको नयाँ सुरुवात बनाउँछ । तर गगन–विश्व नेतृत्वले लामो समयसम्म इतर पक्षलाई आश्वस्त पार्ने, संवाद गर्ने वा सम्मानपूर्वक समेट्ने एउटा शब्दसमेत बोल्न आवश्यक ठानेन । किनकि उनीहरूमा एउटा गहिरो भ्रम थियो, ‘हामी नै कांग्रेसको वास्तविक केन्द्र हौँ, अरू सबै गौण हुन् ।’
यही मनोविज्ञान आज उनीहरूको आगामी राजनीतिक यात्राको सबैभन्दा ठूलो अवरोध बनेको छ । कांग्रेसजस्तो बहुधारात्मक पार्टीमा ठूलो पङ्क्तिलाई नजरअन्दाज गरेर कोही पनि दीर्घकालीन रूपमा स्थापित हुन सक्दैन । इतर पक्षलाई गरिएको अपमान र उपेक्षा तत्काल शक्ति प्रदर्शन जस्तो देखिए पनि दीर्घकालमा त्यो राजनीतिक मूल्य चुकाउनुपर्ने ऋण बन्छ ।
विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति पनि वस्तुतः एकतर्फी संरचना हो । यदि सभापति गगन थापाले साँच्चै पार्टी एकताको सन्देश दिन चाहेका भए, उनले विधानले दिएको अधिकार प्रयोग गरेर केन्द्रीय समिति, विभिन्न समिति, उपसमिति र संरचनाहरूमा महाधिवेशनमा अनुपस्थित वा फरक धारमा रहेका नेताहरूलाई सम्मानजनक स्थान दिन सक्थे । त्यसले सङ्गठनभित्र ‘यो केवल विजेताको सत्ता होइन, साझा कांग्रेस हो’ भन्ने सन्देश जान्थ्यो ।
तर व्यवहार उल्टो देखियो । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन’ भनेर हुङ्कार दिने गगन थापा सभापति भएपछिको कांग्रेस संरचनामा त केवल आँखा बन्द गरेर समर्थन गर्ने, ताली बजाउने र आदेश पालन गर्ने मानिसहरूलाई मात्र स्थान दिइएको छ । उनको सन्देश स्पष्ट छ– पार्टीभित्र अब दास र लासहरूलाई मात्र स्थान छ ।
नेतृत्वप्रति निष्ठा र आत्मसमर्पणबीच फरक हुन्छ । चेतनासहितको समर्थन लोकतन्त्रको शक्ति हो; तर प्रश्न नगर्ने, सोच्न नपाउने र केवल ‘थम्स अप’ दिने संस्कृतिले सङ्गठनलाई जीवित आन्दोलनबाट विस्तारै निर्जीव संरचनामा रूपान्तरण गर्छ ।
- आफ्नै विगतलाई बिर्सेर कारबाहीको डन्डा
नेपाली कांग्रेस रामेछाप जिल्लाका सभापतिलाई सामान्य गफगाफका क्रममा व्यक्त भएका शब्दहरूको आधारमा निलम्बन गरिएको छ । तर यहाँ प्रश्न उठ्छ– यदि त्यति सीमित र अनौपचारिक अभिव्यक्तिलाई समेत पार्टीले गम्भीर अनुशासनको विषय बनाउँछ भने, त्यसै प्रसङ्गमा उठाइएका आरोप वा टिप्पणीहरूको वास्तविकता के हो भन्नेबारे निष्पक्ष छानबिन गर्नु पनि उत्तिकै आवश्यक होइन र ? केवल एकतर्फी कारबाहीमा सीमित भएर आरोपको पृष्ठभूमि, सन्दर्भ र सत्यतथ्य नखोजिने हो भने, त्यो न्यायिक प्रक्रिया होइन, प्रतिशोधको निर्णय हो । जसले अन्ततः पार्टीभित्रको विश्वास र आन्तरिक लोकतन्त्र दुवैलाई कमजोर बनाउँछ ।
त्यसैले, आज केही शब्दका आधारमा कार्यकर्तामाथि अनुशासनको डन्डा चलाउने गगन–विश्वहरू बिर्सिरहेका छन् कि हिजो उनीहरूले पुरानो नेतृत्वमाथि लगाएका आरोप र आक्रामक टिप्पणीहरूलाई यदि त्यतिबेलाको नेतृत्वले पनि यही मापदण्डले नापेको भए, उनीहरूको कांग्रेसभित्रको राजनीतिक यात्रा जमानामै समाप्त भइसकेको हुने थियो ।
उनीहरूबाट व्यक्त भएका असन्तुष्टि, आलोचना वा कटाक्षलाई त्यतिबेलाको नेतृत्वले अनुशासनको प्रश्नभन्दा लोकतान्त्रिक संस्कृतिको अंशका रूपमा हेर्ने उदारता देखाएको थियो । वर्तमान नेतृत्वमा जुन उदारताको खडेरी छ ।
- जेनजी आन्दोलन र जनआक्रोशले दिएको सन्देश
गत भदौ २३–२४ को जेनजी आन्दोलनले एउटा कठोर राजनीतिक सन्देश दिएको थियो । त्यो दिन आन्दोलनकारीहरू केवल पुरानो पुस्ताप्रति आक्रोशित थिएनन्; उनीहरूको आक्रोश सम्पूर्ण कांग्रेस नेतृत्वप्रति थियो ।
तत्कालीन सभापति शेरबहादुर देउवामाथि हातपात भयो, उनको निवासमा आक्रमण भयो । तर त्यो भिड गगन थापालाई खोज्दै रातोपुल निवासमा फूलमाला लगाउन गएको थिएन । जनआक्रोशको आगोले उनको घर पनि जोगाएन । उनी स्वयं परिवारको सुरक्षाका लागि पछाडिको बाटो प्रयोग गरेर बाहिरिनुपरेको चर्चा सार्वजनिक रूपमै भयो । उपसभापति विश्वप्रकाश शर्माको झापास्थित घर मात्र होइन, काठमाडौंको बसोबाससमेत आक्रोशको निशाना बन्यो ।
यसले एउटा गम्भीर तथ्य उजागर गर्छ, पुरानो नेतृत्व र नयाँ नेतृत्वबीच जनताले कुनै मौलिक नैतिक भिन्नता देखेनन् । जनताले ‘पुराना खराब, हामी असल’ भन्ने भाष्यलाई स्वीकार गरेनन् । बरु, जनताले सम्पूर्ण नेतृत्व वर्गप्रतिको असन्तोष एकैसाथ अभिव्यक्त गरे ।
त्यसैले ‘शेरबहादुरको युग सकियो, अब हाम्रो युग सुरु भयो’ भन्ने आत्मविश्वास यथार्थभन्दा बढी प्रचारजन्य मनोविज्ञान थियो ।
- चुनावले दिएको कठोर सन्देश
गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै, ‘नयाँ कांग्रेस’ को नारासहित जनतामाझ गएको कांग्रेसले इतिहासकै कमजोर परिणाम बेहोर्यो । पार्टी ३८ सिटमा खुम्चियो । स्वयं प्रधानमन्त्रीका आकाङ्क्षी भनेर प्रस्तुत गरिएका गगन थापाले सर्लाही– ४ बाट लज्जास्पद पराजय भोग्नुपर्यो ।
यो केवल एउटा चुनावी हार थिएन । यो जनताले दिएको राजनीतिक टिप्पणी थियो । ‘भाषणप्रधान कांग्रेस’ लाई अस्वीकार । जनता अन्ततः काम, स्थिरता, व्यवहार र विश्वास हेर्छन्; केवल ओजस्वी भाषण होइन ।
गगन–विश्व नेतृत्वमा लडिएको निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित सफलता त प्राप्त गर्न सकेन नै, बरु इतिहासकै सबैभन्दा कमजोर र निरीह संसदीय अवस्थामा पुर्यायो । जहाँ पार्टीले केवल सिट मात्र गुमाएन, आफ्नो राजनीतिक प्रभाव, मनोवैज्ञानिक बल र जनविश्वासमा समेत गम्भीर क्षयीकरण बेहोर्यो ।
धेरै निर्वाचन क्षेत्रमा लज्जास्पद हार, कतिपय स्थानमा जमानत जफतसम्मको अवस्था, र समग्र रूपमा घट्दो जनविश्वासले एउटा कठोर प्रश्न खडा गर्यो । यदि नेतृत्व परिवर्तनको दाबी गर्ने समूहकै नेतृत्वमा पार्टीले आफ्नो प्रभाव विस्तार गर्न सकेन भने त्यो दाबीको राजनीतिक आधार के थियो ? निर्वाचन परिणामले कम्तीमा यति त देखायो कि केवल नयाँ अनुहार प्रस्तुत गर्दैमा जनताले त्यसलाई वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दैनन्; त्यसका लागि विचार, सङ्गठन, परिणाम र विश्वसनीयताको पनि उत्तिकै आवश्यकता पर्छ ।
- पराजयपछि देखिएको नाटक मञ्चन
विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति वस्तुतः एकतर्फी संरचना नै हो । त्यसैले चुनावी पराजयपछि उत्पन्न भएको नैतिक र राजनीतिक सङ्कटलाई परिपक्व ढङ्गले सम्बोधन गर्नु नेतृत्वको जिम्मेवारी थियो । तर त्यसको सट्टा जुन शैली अपनाइयो, त्यसले नेतृत्वको आत्मविश्वासभन्दा बढी असुरक्षा झल्कायो ।
निर्वाचनमा पार्टीको कमजोर प्रदर्शन र आफ्नै व्यक्तिगत पराजयपछि सभापति गगन थापाले दिएको राजीनामाको घोषणा राजनीतिक जिम्मेवारीको गम्भीर अभिव्यक्ति कम र भावनात्मक तथा नाटकीय प्रस्तुति बढी जस्तो देखियो । अझ त्यसलाई केन्द्रीय समितिबाट ‘अस्वीकृत’ गराउने प्रक्रियाले त झन् सस्तो राजनीतिक रङ्गमञ्चको अनुभूति दियो ।
किनकि परिणाम पहिले नै स्पष्ट थियो, एकतर्फी संरचनाबाट बनेको समितिले त्यो राजीनामा स्वीकार गर्ने सम्भावना नै थिएन । त्यसैले यो घटनाले आत्मालोचना र जिम्मेवारीभन्दा बढी ‘हेरौँ, पार्टीले मलाई कति चाहन्छ’ भन्ने प्रकारको राजनीतिक अभिनयको आभास गरायो ।
राजनीतिमा हारपछि गरिने व्यवहारले नेताको वास्तविक उचाइ देखाउँछ । परिपक्व नेतृत्वले पराजयपछि आत्मसमीक्षा गर्छ, सङ्गठनभित्र संवाद बढाउँछ, आलोचनालाई सुन्छ र नयाँ विश्वास निर्माण गर्ने प्रयास गर्छ । तर यहाँ उल्टो, पराजयलाई पनि सहानुभूति उत्पादन गर्ने माध्यम बनाउने प्रयास देखियो ।
- बीपीको विरासत विस्थापित गर्ने महत्त्वाकाङ्क्षा
बीपी कोइरालाको वैचारिक विरासत, लोकतान्त्रिक दर्शन र ऐतिहासिक ब्रान्डलाई केन्द्रमा राखेर जनतासमक्ष जानुपर्ने ठाउँमा गत निर्वाचनमा गगन–विश्व समूहले स्वयंलाई नै नयाँ राजनीतिक ब्रान्डका रूपमा स्थापित गर्ने प्रयास गर्यो । चुनावी अभियानका क्रममा बीपीको विचार, दर्शन र राजनीतिक आदर्शलाई सशक्त रूपमा प्रस्तुत गर्नेभन्दा नेतृत्वको व्यक्तिगत छविलाई अगाडि सार्ने प्रवृत्ति बढी देखियो ।
पार्टीले प्रचार–प्रसारका लागि प्रयोग गरेका धेरैजसो आधिकारिक सामग्री र ब्यानरहरूमा समेत कांग्रेसका संस्थापक तथा ऐतिहासिक नेताहरूको भन्दा वर्तमान अनुहारहरूको उपस्थिति प्रमुख बनाइयो । मानौँ, पार्टीको वैचारिक विरासतभन्दा नयाँ नेतृत्वको ब्रान्डिङ नै पर्याप्त हुनेछ भन्ने आत्मविश्वास अभियानको केन्द्रमा थियो ।
तर नेपाली कांग्रेसको शक्ति केवल उसका वर्तमान नेताहरूमा कहिल्यै सीमित थिएन । यसको वास्तविक शक्ति बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले निर्माण गरेको वैचारिक, नैतिक र ऐतिहासिक पुँजीमा निहित रहेको छ । यही विरासतले कांग्रेसलाई दशकौँसम्म अन्य दलहरूभन्दा फरक पहिचान दिएको थियो ।
तर जब पार्टीले आफ्नै ऐतिहासिक आत्मालाई पृष्ठभूमिमा धकेल्दै व्यक्तिकेन्द्रित ब्रान्ड निर्माणलाई प्राथमिकता दियो, तब उसको मौलिक पहिचान नै ओझेलमा पर्न थाल्यो । जनतासँग भावनात्मक सम्बन्ध, ऐतिहासिक विश्वास र वैचारिक निरन्तरता केवल नयाँ अनुहार वा आकर्षक नाराले निर्माण हुँदैन । त्यसका लागि इतिहाससँगको सम्बन्ध र विचारप्रतिको निष्ठा पनि उत्तिकै आवश्यक हुन्छ । गत निर्वाचनले यही यथार्थलाई कठोर ढङ्गले उजागर गरिदियो ।
- महाधिवेशनको झुटो वाचा र नियन्त्रणको राजनीति
विशेष महाधिवेशनपछि सभापति घोषित हुँदा गगन थापाले पार्टीको १५औँ महाधिवेशन तीन महिनाभित्र सम्पन्न गर्ने घोषणा गरेका थिए । त्यो घोषणा त्यतिबेला ‘सङ्गठनलाई छिटो एकताको वैधानिक बाटोमा लैजाने प्रतिबद्धता’ का रूपमा प्रस्तुत गरिएको थियो ।
तर महिनौँ बितिसक्दा पनि महाधिवेशनको कुनै स्पष्ट रोडम्याप देखिएको छैन । उल्टै, नवीकरण भइसकेका क्रियाशील सदस्यतालाई फेरि अनलाइन अद्यावधिक गर्ने बहानामा प्रक्रिया लम्ब्याउने सङ्केत देखिएका छन् ।
कांग्रेसभित्र धेरैले यसलाई सामान्य प्राविधिक प्रक्रिया मात्र मानेका छैनन् । उनीहरूको बुझाइमा यो पार्टी सदस्यताको संरचना आफ्नो नियन्त्रणमा राख्ने रणनीतिक प्रयास हो । किनकि कांग्रेसमा सदस्यता केवल सङ्ख्या होइन; त्यो महाधिवेशनको शक्ति, प्रतिनिधित्व र अन्ततः नेतृत्वको आधार हो ।
त्यसैले अहिले उठिरहेको प्रश्न केवल प्राविधिक होइन, राजनीतिक पनि हो– के महाधिवेशन ढिल्याएर सङ्गठनलाई साझा स्वामित्वबाट निकालेर ‘डिजिटल नियन्त्रण’ मा लैजाने प्रयास भइरहेको छ ?
यदि कांग्रेसको आन्तरिक लोकतन्त्र नै सदस्यता नियन्त्रण, प्रक्रियागत विलम्ब र समूहगत एकाधिकारमा सीमित हुन थाल्यो भने, त्यो कांग्रेसको आत्मामाथिको सबैभन्दा ठूलो प्रहार हुनेछ ।
- भागबन्डाको राजनीति र नैतिक विरोधाभास
गगन–विश्व प्रवृत्तिको अर्को ठूलो विरोधाभास के हो भने सार्वजनिक रूपमा उनीहरूले पुरानो नेतृत्वलाई भागबन्डा, संरक्षणवाद र अवसरवादको प्रतीक भनेर आलोचना गरे; तर व्यवहारमा उनीहरू स्वयं त्यही संस्कृतिको सबैभन्दा आक्रामक हिस्सेदार बने ।
शेरबहादुर देउवा र पुराना पुस्तासँग निरन्तर टकराव गर्दै टिकट वितरण, मन्त्री चयन, संसदीय अवसरदेखि विभिन्न नियुक्तिसम्म आफ्ना मानिसहरूलाई स्थापित गर्न उनीहरूले असाधारण दबाब सिर्जना गरेका घटनाहरू कांग्रेसभित्र लुकेका विषय होइनन् ।
विदेशमा बस्ने एक नेपाली डाक्टरलाई एउटा स्वास्थ्य प्रतिष्ठानको भिसी नियुक्तिका लागि समेत आफ्नै सभापतिसँग चरम स्तरको सङ्घर्ष गरेको प्रसङ्गले उनीहरूको शक्ति–साझेदारीको वास्तविक चरित्र देखाउँछ । यसले एउटा प्रश्न उठाउँछ, यदि पुरानो नेतृत्व ‘भागबन्डावादी’ थियो भने नयाँ नेतृत्व उमेर र व्यक्तिगत स्वास्थ्यमा भन्दा केमा फरक देखियो ?
पार्टी कोषाध्यक्षमा निवर्तमान सभापति शेरबहादुर देउवा र गगन थापाले एकै व्यक्तिलाई नियुक्ति गरे । देउवाले उनलाई कोषाध्यक्ष बनाउँदा विरोध गर्ने थापाले फेरि उनैलाई पार्टी विधान मिचेर किन कोषाध्यक्ष बनाए ?
किनभने पार्टीमा केवल अनुहार फेरियो, शैली र संस्कार फेरिएन ।
- भाषणको राजनीति र आत्महीनताको निर्माण
गगन–विश्व प्रवृत्तिले आफूलाई मात्र अब्बल देखाउन विगत लामो समयदेखि कांग्रेसलाई जनतामाझ कमजोर, भ्रष्ट, असफल र लज्जास्पद पार्टीका रूपमा प्रस्तुत गर्यो । आफ्नै सभापति, आफ्नै वरिष्ठ नेता र आफ्नै सङ्गठनमाथि सार्वजनिक प्रहार गरेर उनीहरूले आफूलाई ‘असल कांग्रेस’ र बाँकी सबैलाई ‘खराब कांग्रेस’ बनाउने प्रयास गरे । तर त्यसको परिणाम के भयो त ?
क्रमशः कांग्रेसको सामूहिक मनोबल कमजोर भयो । कार्यकर्तामा आत्मविश्वास घट्यो । समर्थकमा नैराश्य बढ्यो । विदेशमा बस्ने नेपालीहरूबीच समेत ‘कांग्रेसलाई भोट हाल्नु हुँदैन’ भन्ने भाष्य निर्माण गर्न मनोवैज्ञानिक रूपमा यिनै नेताहरूको भाषणले ठूलो भूमिका खेलेको थियो ।
राजनीतिमा आलोचना आवश्यक हुन्छ । तर आफ्नो घर नै निरन्तर जलाएर आफूलाई मात्र ‘उज्यालो’ देखाउने राजनीति अन्ततः आत्मघाती साबित हुन्छ ।
- बोलाइ र गराइको अन्तर
सुरुमा जनता गगन–विश्वसँग आकर्षित भए । उनीहरूको भाषण, ऊर्जा र प्रस्तुति मन पराए । उनीहरू आशाको प्रतीकजस्तै देखिए । तर समयसँगै एउटा प्रश्न उठ्न थाल्यो ‘बोलेजति के गरे ?’
राजनीतिमा निरन्तर भाषणले केही समय प्रभाव पार्न सक्छ, तर अन्ततः जनताले परिणाम खोज्छन् । जब भाषण र व्यवहारबीच दूरी बढ्छ, तब जनताको ‘राजनीतिक सेयर बजार’ मा नेताको मूल्य घट्न थाल्छ ।
आज गगन–विश्वको लोकप्रियतामा आएको गिरावट कुनै षड्यन्त्र होइन; त्यो अपेक्षा र परिणामबीचको अन्तरको स्वाभाविक प्रतिक्रिया हो ।
- अब कांग्रेस कहाँ जान्छ ?
आज प्रश्न केवल गगन वा विश्वको होइन । प्रश्न कांग्रेसको भविष्यको हो । के कांग्रेस आफ्नो ऐतिहासिक सामूहिक चरित्रमा फर्किन्छ ? कि अब यो केवल केही व्यक्तिको डिजिटल ब्रान्डमा सीमित हुन्छ ? यो चुनावमा कांग्रेसले पुरानो पुस्ताको ओज, सङ्गठनात्मक प्रभाव र ऐतिहासिक विरासतको आधारमा ३८ सिट ल्यायो । अब प्रश्न उठ्छ– यदि यही प्रवृत्ति जारी रह्यो भने अर्को चुनावमा ३८ सिट कटाउने क्षमता यो नेतृत्वसँग छ ?
राजनीति केवल ‘ट्रेन्ड’ बाट चल्दैन । पार्टी केवल ‘इमेज’ मा टिकेको हुँदैन । कांग्रेसजस्तो ऐतिहासिक सङ्गठनलाई बचाउने शक्ति अझै पनि साझा स्वीकृति, सहअस्तित्व, सम्मान र सामूहिक नेतृत्वमै छ ।
गगन–विश्वले अझै पनि बुझ्नुपर्ने सत्य यही हो– कांग्रेस कसैको निजी स्टार्टअप होइन । यो लाखौँ मानिसको इतिहास, त्याग र भावनाले बनेको संस्था हो । र, इतिहासलाई ‘डेन्टिङ–पेन्टिङ’ गरेर नयाँ बनाउने प्रयासले अन्ततः केवल रङ फेर्छ, आत्मा होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण