टिकटकमा अमेरिकाको ‘प्रिन्स’ बनेर १५ लाखभन्दा बढी ठगी गर्ने श्रीमान्-श्रीमती पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी विवाहको झुटो प्रलोभन देखाएर १५ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने एक दम्पतीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौँको माछापोखरीबाट पक्राउ गरेको छ।
आफू अमेरिकामा बस्ने र नेपाली भाषा बोल्न नआउने भन्दै टिकटक र ह्वाट्सएपमार्फत ठगी धन्दा चलाउने स्याङ्जाका ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुलीलाई ब्यूरोको टोलीले असार २ गते पक्राउ गरेको हो।
पक्राउ परेका सञ्जीव नेपालीको स्थायी घर स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ लुगाडाँडा हो भने सरिता पराजुलीको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ हो। उनीहरू दुवै जना हाल काठमाडौँको माछापोखरीमा बस्दै आएका थिए।
मुख्य योजनाकार सञ्जीवले टिकटकमा आफ्नो वास्तविक अनुहार नदेखाई ‘प्रिन्स तामाङ’ नामको फेक आईडी (@princetamang431) बनाएर अङ्ग्रेजी भाषामा मात्र कुराकानी गर्ने गर्दथे। उनले पीडितलाई आफूसँग विवाह गरी अमेरिका लैजाने प्रलोभन र आश्वासन दिएर जालमा पारेका थिए।
विश्वास जित्नका लागि सञ्जीवले पीडितलाई आफ्नै श्रीमती सरिता पराजुलीसँग ह्वाट्सएपमा कुराकानी गर्न लगाएका थिए। सरिताले ह्वाट्सएपमा आफ्नो परिचय प्रिन्सको बहिनी ‘सरगम तामाङ’ का रूपमा दिएर पीडितसँग नियमित संवाद गर्ने गरेकी थिइन्।
यसरी श्रीमान्-श्रीमती मिलेर योजनाबद्ध रूपमा पीडितबाट पटक-पटक गरी जम्मा १५ लाख १० हजार ५ सय रुपैयाँ रकम ठगी गरेका थिए। आफू ठगिएको थाहा पाएपछि पीडितले साइबर ब्यूरोमा लिखित निवेदन दिएका थिए।
पीडितको निवेदनका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान र डिजिटल सञ्जालको सुक्ष्म विश्लेषण गर्दा प्रिन्स तामाङ भनिने व्यक्ति सञ्जीव नेपाली र बहिनी सरगम भनिने व्यक्ति उनकै श्रीमती सरिता पराजुली भएको खुल्न आएको हो।
पक्राउ परेका दुवै जनालाई विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार उनीहरूमाथि थप कानुनी अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण