बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?

बुधबार, ०३ असार २०८३, १८ : ३२
बुधबार, ०३ असार २०८३

सारांश

  • जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनको जगमा बनेको सरकारले प्रतिबद्धता भुलेको भन्दै प्रश्न उठाएकी छन् ।
  • बमले जेनजी परिषद् गठन र शहीदहरूको स्मारक निर्माणको कार्य कहाँ पुग्यो भन्दै सरकार र रास्वपा नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।
  • उनले जेनजी आन्दोलन वर्तमान सरकारको जरा भएको र चुनावताका शहीदहरूको बलिदानको नाममा भोट मागेको स्मरण गराउँदै वाचा पूरा गर्न आग्रह गरेकी छन् ।

काठमाडौँ। जेनजी अभियन्ता तथा ‘नेपाल जेनजी फ्रन्ट’की संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएकी छन् । 

गत भदौमा भएको जेनजी आन्दोलनको जगमा आएको राजनीतिक परिवर्तनपछि सरकारले आफ्ना पुराना प्रतिबद्धताहरू भुल्न थालेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन् । 

बुधबार फेसबुकमार्फत अभियान्ता बमले सरकार र रास्वपा नेतृत्वलाई प्रश्न गरेकी छिन् ‘जेनजी परिषद् गठनको कार्य कहाँ पुग्यो ?’ र ‘जेनजी शहीदहरूको स्मारक निर्माणको कार्य कहाँ पुग्यो ?’

उनले वर्तमान सरकारको शक्ति र उदयको मुख्य आधार नै जेनजी आन्दोलन भएको स्मरण गराएकी छन् । नेतृत्वलाई हिजोको आन्दोलन बिर्सिएको आरोप लगाउँदै उनले लेखेकी छन्, ‘तपाईंहरू सायद बिर्सिसक्नुभएको होला, जेनजी आन्दोलन यो सरकारको जरा हो । सम्झनुहोस् त, चुनावताका यिनै शहीदहरूको बलिदान र यही आन्दोलनको नाम लिँदै तपाईंहरूले भोट माग्नुभएको थियो । अब वाचा पूरा नगर्ने हो ?’

गत भदौ २३ र २४ गते भएको  जेनजी  आन्दोलनका क्रममा  ज्यान गुमाएका आन्दोलनकारीहरूलाई ‘जेनजी शहीद’को रूपमा सरकारले घोषणा गरेको थियो । 

आन्दोलनपछि सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौताका क्रममा शासन व्यवस्थामा युवाहरूको सहभागिता सुनिश्चित गर्न ‘नेपाल जेनजी परिषद्’ गठन गर्ने र आन्दोलनका शहीदहरूको सम्मानमा ‘शहीद स्मारक पार्क’ निर्माण गर्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप