राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
सारांश
- राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ ।
- सांसद मिना सिंह रखालले संसदीय अभ्यास विपरीत अध्यादेश ल्याइएको र यसले जनहितभन्दा राजनीतिक स्वार्थ पूरा गर्ने आरोप लगाइन् ।
- स्वास्थ्य मन्त्री निशा मेहताले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नीतिगत र प्रशासनिक एकरूपता ल्याउन तथा पारदर्शिता बढाउन अध्यादेश आवश्यक रहेको बताइन् ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ ।
शुक्रबार बसेको सभाको बैठकमा उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै स्वीकृतिको प्रस्ताव पारित भएको हो ।
बैठकमा सांसद मिना सिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गरेकी थिइन् । प्रस्ताव प्रस्तुत गर्दै रखालले सरकारले संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य मान्यता विपरीत अध्यादेश ल्याएको आरोप लगाइन् ।
संसद्को अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेश ल्याउनुले जननिर्वाचित निकायलाई उपेक्षा गरेको देखिने उनको तर्क थियो । स्वास्थ्य जस्तो संवेदनशील विषयमा विज्ञहरूको परामर्श र संसदीय बहस आवश्यक हुने भए पनि सरकार पारदर्शिताबाट पन्छिन हतारमा अध्यादेश ल्याउनेतर्फ लागेको उनले दाबी गरिन् । यो अध्यादेश जनहितमा भन्दा पनि राजनीतिक नियुक्ति र पदाधिकारी फेरबदलको स्वार्थबाट प्रेरित भएको आरोप समेत उनले लगाइन् ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रहेका नीतिगत र प्रशासनिक विविधतालाई अन्त्य गरी एकरूपता ल्याउन अध्यादेश आवश्यक रहेको स्पष्ट पारिन् । हाल विभिन्न प्रतिष्ठानहरूमा पदाधिकारीको सङ्ख्या, पदावधि र सेवा सुविधामा ठुलो अन्तर रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कतै उपकुलपतिको तलब एक लाख छ भने कतै पाँच लाखसम्म पुगेको छ । विगतको टिके प्रथा र अपारदर्शितालाई अन्त्य गर्दै एउटा ठोस कार्यविधि र मापदण्डका आधारमा प्रतिष्ठानहरू सञ्चालन गर्न सरकारले यो कदम चालेको हो ।’
मन्त्री मेहताले आफ्नो मन्तव्यका क्रममा प्रयोग गरेको ‘झोले’ शब्दप्रति सदनमा नियमापत्ति जनाइएको थियो । सदस्यहरूले उक्त शब्द असंसदीय भएको भन्दै आपत्ति जनाएपछि मन्त्रीले आफ्नो भनाइ परिमार्जन गर्दै दलप्रति आबद्ध व्यक्तिहरू भन्न खोजिएको स्पष्ट पारिन् ।
स्वास्थ्य बीमाको सन्दर्भमा बोल्दै मन्त्री मेहताले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन बजेटमा उल्लेख्य वृद्धि गरेको जानकारी दिइन् । उनले भनिन्, ‘विगतमा साढे ७ अर्ब विनियोजन हुने गरेकोमा यस वर्ष १५ अर्ब पुर्याइएको छ । स्वास्थ्य बीमा ऐनमा आवश्यक संशोधन गरी आगामी आर्थिक वर्षमा थप व्यवस्थित विधेयक सदनमा ल्याउने तयारी भइरहेको छ ।’
मन्त्रीको जवाफपछि सभाका अध्यक्षले अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सभाले बहुमतले स्वीकृत गरेको घोषणा गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण