सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा बैठक

‘सङ्घीयताको घाँटी निमोठ्न खोजिए सदनदेखि सडकसम्म प्रतिरोध हुन्छ’

सोमबार, १५ असार २०८३, १५ : २४
सोमबार, १५ असार २०८३

सारांश

  • नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि सङ्घीयता र संविधानको आधारभूत संरचना भत्काउन खोजे सरकारविरुद्ध सदनदेखि सडकसम्म प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
  • कांग्रेस सांसद रञ्जित कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनकपुर र कर्णालीको अधिकारबारे प्रश्न गरेका छन् ।
  • उनले सत्ता साझेदार दल रास्वपाको प्रदेश सभा खारेज गर्ने प्रस्तावको विरोध गर्दै सङ्घीयता नेपाली जनताको सङ्घर्षबाट प्राप्त भएको बताए ।

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले सस्तो लोकप्रियताका लागि सङ्घीयता र संविधानको आधारभूत संरचना भत्काउन खोजेको भन्दै भत्काइए सदनदेखि सडकसम्म प्रतिरोध हुने चेतावनी दिएको छ । 

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए । 

सांसद कर्णले मैथिली भाषामा प्रश्न गर्दै भने, ‘काठमाडौँको सिंहदरबार त बन्यो, तर हाम्रो जनकपुरको अधिकार कहाँ गयो ? उनले प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा जनकपुर र कर्णालीमा पुगेर प्रदेशलाई बलियो बनाउने र अधिकार विकेन्द्रीकरण गर्ने भनी दिएका भाषणहरू स्मरण गराए । ‘हिजो जनकपुरमा प्रदेश बलियो बनाउनुपर्छ भन्ने, कर्णालीका सपनालाई आफ्नै सपना ठान्ने र सुदूरपश्चिममा अधिकारको कुरा गर्ने नेतृत्व आज सिंहदरबार पुगेपछि किन मौन छ,’ कर्णले प्रश्न गरे ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै चितवन भेलामार्फत ‘प्रदेश सभा खारेज गर्ने’ प्रस्ताव ल्याएकोमा कर्णले आपत्ति जनाए । ‘यो व्यवस्था र सङ्घीयता कसैको निगाहमा प्राप्त ‘बक्सिस’ होइन। १७ हजार नेपालीको आहुति, मधेस आन्दोलनको रगत र दलित, जनजाति एवं उत्पीडित समुदायको सङ्घर्षबाट यो प्राप्त भएको हो,’ कर्णले भने । 

उनले प्रदेश असफल हुनुमा सङ्घीय सरकारले कर्मचारी नपठाउनु र अधिकार मुठ्ठीमा कैद गर्नु मुख्य कारण रहेको बताए। ‘खुट्टा बाँधेर दौड प्रतियोगितामा पठाउने, अनि दौडिन सकेन भनेर प्रदेशलाई दोष दिने,’ कर्णले भने ।

सरकार सुशासनको सवालमा पूर्ण रूपमा असफल भएको दाबी गर्दै सांसद कर्णले महँगी ७ प्रतिशत नाघेको र दैनिक २५ सय युवा देश छोड्न बाध्य भएको बताए। 

सांसद कर्णले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा उठाएर संविधानको मूलभूत संरचना परिवर्तन गर्न खोजिएकोमा खबरदारी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप