आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
होल्डिङ सेन्टरका सुकुमबासी

सुकुमबासीको चमेली बोल्दिने कोही छैन

आइतबार, २१ असार २०८३, २० : ३०
आइतबार, २१ असार २०८३

काठमाडौँ  । यो बिहानीले ठ्याक्कै ११ वर्षअघि आएको महाभूकम्पलाई बिर्साइदियो । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती वरिपरि बाक्लो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी बलको बाक्लो दस्ता तैनाथ देखिन्थ्यो । नेपाली सेनाको गाडीले गस्ती गरिरहेको थियो । प्रहरीको माइकिङले सबैका कान ठाडाठाडा हुन्थे, सबै दृश्य हेर्दा यस्तो लाग्थ्यो, यहाँ ठुलै युद्ध हुँदैछ ।

थापाथलीस्थित सुकुमबासी बस्तीका घरटहरा डोजरले जब धमाधम भत्कायो, सुकुमबासीहरुको जीवनमा भुइँचालो गएजस्तै भयो । काखमा बालबच्चा, सरसामान च्यापेर बाहिर निस्किएका सुकुमबासीहरुको अनुहारमा निराशाको छाया भेटिन्थ्यो । घरपालुवा जनावरहरुले बस्ती छोड्नै नमानेको दृश्यले धेरैलाई भावुक बनाएको थियो । 

कडा सुरक्षाबिच सुकुमबासी बस्तीका घरटहरा छिनमै भत्काइए । केही घण्टामै सिंगो बस्ती खण्डहरमा परिणत भयो । घरटहरा भत्काएपछि सुकुमबासीहरुले निरीह र सहाराविहीन महसुस गरे । उनीहरूमा अन्योल र सन्नाटा छायो । कहाँ जाने, के खाने ? कुनै टुंगो थिएन । 

थापाथलीपछि काठमाडौंको गैरीगाउ, शान्तिनगरका सुकुमबासी बस्तीमा पनि डोजरले धमाधम घर भत्कायो । नेपाली सेना हातहतियारसहित सडकमा उत्रियो । मनोहरामा पनि सोही दिन साँझ डोजर चल्यो । जुन रफ्तारमा बस्तीमा डोचर चल्यो सुकुमबासीहरुको व्यवस्थापन भने जटिल र भद्रगोल बन्यो । अबेर साँझसम्म डोजरले घर भत्काउँदा काठमाडौंका बस्तीहरू सिरिया, गाजाका युद्धग्रस्त क्षेत्र जस्ता देखिए ।

Sukumbasi Basti

सिमसिम पानी बर्सिरह्यो, बेघर बनाएका सुकुमबासीहरु कति सडकमै पाल टाँगेर रात काटे । ढिलो गरी सूचना पाएका कतिपय दशरथ रंगशाला पुगे । दिनभरको भोको पेटमा कतिलाई होल्डिङ सेन्टरहरूतर्फ लगियो । 

काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास लगाइएपछि ६१ वर्षीय इन्द्रबहादुर राईले बागमती नदीमा हाम फालेर आत्महत्या गरे । आँखा अगाडि घर भत्काएको हेर्न सक्दिनँ भन्दै दिउँसो घरबाट निस्किएका राई साँझपख मृतावस्थामा फेला परेको खबर फैलियो । उनी भन्दा अगाडि अर्को सनसनीपूर्ण खबर सहरभरि फैलिइसकेको थियो । 

मनोहराको सुकुमबासी बस्तीमा डोजर चलेपछि मानसिक पीडा खप्न नसकी १७ वर्षीय छोरा रविन तामाङले कलिलो उमेरमै आत्महत्या गरेर जीवन समाप्त पारे । उनको कथा खोतल्दै जाँदा बुबा हस्तबहादुर तामाङले परिवारको दर्दनाक कथा सुनाएका थिए । 

सिन्धुपाल्चोक, बाह्रबिसेमा उनीहरुको जायजेथा केही थिएन । ‘यो टहरामा बस्तीमा डोजर चल्यो भने कसरी जीवन धान्ने भनेर तनावमा देखिन्थ्यो,’ हस्तबहादुरले छोराको मृत्युको केही दिनपछि सुनाएका थिए,’ त्यही तनावले घरको शौचालयमा झुन्डिएर आत्महत्या गरेको भेटियो ।’ छोरा गुमाउनुको पीडा त छँदै थियो, आफ्नै घरको यही वास्तविक पीडा सुनाउँदा पनि सोझा हस्तबहादुरलाई प्रहरीले धेरै दिनसम्म फोन गरेर तनाव दिइरह्यो । मिडियामा किन यो कुरा बोलेको भनेर तर्साएपछि उनको होसहवास उडेको थियो ।

७२ दिनदेखि होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूमध्ये कतिको बोली नै फर्किएको छैन । कोही गम्भीर प्रकृतिको मानसिक रोगले ग्रसित छन्, त कोही गहिरो तनावमा भेटिन्छन् । बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकाको सबैभन्दा बिजोग अवस्था छ । नयाँ शैक्षिक सत्र लागु भएपनि होल्डिङ सेन्टरमा राखिएका विद्यार्थीहरु निर्धक्क पढ्न र स्कुल जान पाएका छैनन् । त्यसमाथि विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुलाई सरकारले केही दिनभित्रै छोड्न अल्टिमेटम दिएपछि थप त्रासको वातावरण सिर्जना भएको छ । घर न घाटको अवस्थामा पुगेका सुकुमबासीहरु आक्रोशित हुँदै आन्दोलित बनेका छन् । 

डोजर भत्काउँदा घरटहरामै नागरिकता पुरिएपछि बैंक खाता समेत खोल्नबाट बञ्चित हुनेको संख्या ठुलो छ । विस्थापित सुकुमबासीलाई पुनर्सथापना खर्च २५ हजार र न्यूनतम मासिक १५ हजार रुपैंयाँ दिइने भनिएपनि यो योजना कार्यान्वयन हुन सकेको छैन । नागरिकता नै नपाएका सुकुमबासीहरुले आफ्नै देशमा ‘शरणार्थी’ हुनु परेको पीडा पोखेका छन् ।

वैशाख १२ देखि २१ गतेसम्म डोजर चलाउँदा झण्डै १८ हजारको संख्या विस्थापित भएको तथ्यांक छ । विस्थापित सुकुमबासीहरुलाई सुन्दरीघाट, बनेपा, नगरकोट, खरिपाटी लगायत विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ । केही परिवारलाई इचंगुनारायणको सरकारी आवासमा राखिएको छ । अधिकांश होल्डिङ सेन्टरमा बसेका सुकुमबासीहरु आफूलाई ‘जेलभित्र बसेको’ अनूभुति र पीडा पोखेका छन् । कतिले अत्यावश्यक औषधि र उपचार नपाएको दुखेसो गरेका छन् । सुत्केरीले पोषणयुक्त खानेकुरा नपाएको बाध्यता पोखे । 

होल्डिङ सेन्टरमा पुगेर सुकुमबासीहरुका समस्या र दुःख बुझ्ने काम सरकारका कुनै कर्मचारीले नगरेको गुनासो छ । आफ्नै देशभित्र अपमान र हेलाको जीवन बाँच्न बाध्य भएको उनीहरुले दुखेसो पोखेका छन् । सुकुमबासी बस्तीमा रहँदा ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुले टाढा–टाढा होल्डिङ सेन्टर पुगेपछि रोजगारी गुमाएका छन् । भित्र, बाहिर निस्किन पनि कडिकडाउ गरिएको उनीहरुको भनाइ छ ।  

कीर्तिपुरको राधास्वामी सत्सङ होल्डिङमा आश्रय लिइरहेका सुकुमबासी डम्बरबहादुर तामाङलाई जेलमा राखिएको छ । भोजपुर स्थायी घर भएका ३९ वर्षीय तामाङले सुकुमबासी समस्या समाधानको विषयलाई लिएर उत्तेजक अभिव्यक्ति दिए । ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेको आरोपमा उनलाई ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’मा प्रहरीले नियन्त्रणमा लिएको थियो  । असार १४ गते पक्राउ परेका उनी हालसम्म छुटेका छैनन् ।  

थापाथलीको सुकुमबासी बस्तीमा डोजर चलेपछि अस्थायी बसोबासका लागि ६८ परिवारका २ सय ३ जना कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । तिनैमध्येकी एक हुन्, कमली लिम्बू । ‘घरमा डोजर चलाएर हामीलाई उठाए, यहाँ ल्याएर थन्काए । होल्डिङ सेन्टरमा न खानपिनको टुङ्गो छ, न स्थायी बासको,’ उनले दुखेसो पोखिन् ।

भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा एकल महिला महिमा राईले सकसपूर्ण दिनहरू गुजारिन् । आफ्ना एक छोरा र छोरी कोठा लिएर बाहिरै बसेपछि उनी थप सहाराविहीन बनिन् । सरकारले हालै होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएपछि उनमा तनाव बढ्यो । ‘हामीलाई घरबाट निकालेर सडकमा पुर्‍याइयो । अब मर्नुको विकल्प छैन,’ महिमाले दुखेसो पोख्दै भनिन्, ‘सरकारले हामीलाई बाहिर निस्केर जाऊ भन्छ, हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ ।’

सरकारले १०० दिनमा गरेका कामको फेहरिस्त प्रचारप्रसार गरिरहँदा सुकुमबासी समस्या समाधानका लागि ठोस समाधान र प्याकेज अझै दिन सकेको छैन । ७ दशकमा १९ वटा आयोग बने पनि हालसम्म सुकुमबासी समस्या दीर्घकालीन निकास दिन सकेको छैन । गम्भीरतापूर्वक सुकुमबासीहरुको समस्या बुझ्न र समाधानतर्फ सरकारले पाइला चालेको देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप