मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा

सोमबार, २२ असार २०८३, ०६ : १०
सोमबार, २२ असार २०८३

काठमाडौँ । घाना विश्वकपको अन्तिम ३२ को खेलबाट बाहिरिएसँगै मुख्य प्रशिक्षक कार्लोस क्विरोजले आफ्नो पदबाट राजीनामा दिएका छन्। 

टोली सम्हालेको मात्र तीन महिनामा नै ७३ वर्षीय क्विरोजले प्रशिक्षक पद छाड्ने निर्णय गरेका हुन्।

गत अप्रिल महिनामा घानाको मुख्य प्रशिक्षक बनेका क्विरोजको नेतृत्वमा टोलीले समूह ‘एल’ मा तेस्रो स्थान हासिल गरेको थियो। त्यसपछि नकआउट चरणको पहिलो खेलमा घाना कोलम्बियासँग १-० गोल अन्तरले पराजित भएपछि विश्वकप यात्रा सकिएको थियो।

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका क्विरोजको यो लगातार पाँचौँ विश्वकप खेल थियो। उनले यसअघि इरान, पोर्चुगल र इजिप्ट जस्ता देशको राष्ट्रिय टोलीलाई प्रमुख प्रतियोगिताहरूमा सम्हालिसकेका छन्।

आइतबार विश्वकप खेलिरहेका दुई टोलीका मुख्य प्रशिक्षकहरूले आफ्नो पद गुमाएका छन्। घानाका क्विरोजसँगै जोर्डनका मुख्य प्रशिक्षक जमाल सेलामी पनि टोलीबाट अलग भएका छन्। 

जोर्डन समूह ‘जे’ मा चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएपछि सेलामी र जोर्डन फुटबल सङ्घबिचको यात्रा टुङ्गिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप