मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा

सोमबार, २२ असार २०८३, १७ : ५८
सोमबार, २२ असार २०८३

सोमबार राति विश्व फुटबलको ध्यान डलासमा केन्द्रित हुनेछ, जहाँ युरोपका दुई फुटबल महाशक्ति स्पेन र पोर्चुगल विश्वकपको अन्तिम–१६ मा आमनेसामने हुँदैछन् । 

आइबेरियन प्रायद्वीपका यी दुई छिमेकी राष्ट्रबिच एक शताब्दीभन्दा बढी समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । उनीहरूबीच अहिलेसम्म ४३ पटक भेट भइसकेको छ, जसमा धेरै खेल ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका छन् । तर यसपटकको भेट सबैभन्दा ठूलो मानिएको छ, किनभने विजेताले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनेछ । 

के रोनाल्डो स्पेनविरुद्ध सुरुआती टोलीमा पर्नेछन् ? के उनी त्यसका हकदार छन् ?

विश्वकपमा अहिलेसम्म हाइड्रेसन ब्रेक, भार प्रविधि वा गोल्डेन बुटको प्रतिस्पर्धाभन्दा बढी चर्चा यदि कुनै विषयको भएको छ भने त्यो हो–पोर्चुगल टोलीमा ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको भूमिका । समूह ‘के’ को पहिलो खेलमा डीआर कंगोविरुद्ध १–१ को बराबरीमा उनले पूरा ९० मिनेट खेले पनि केही उत्कृष्ट अवसर खेर फालेका थिए । त्यसपछि उनी आलोचनाको केन्द्रमा परे ।

तर उज्बेकिस्तानविरुद्ध उनले दुई गोल गर्दै आलोचकलाई जवाफ दिए । त्यससँगै उनी विश्वकपका छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । पोर्चुगलले ५–० ले जितेको उक्त खेलमा उनले अझ बढी गोल गर्न सक्ने अवसर पनि पाए । 

खेलपछि सामाजिक सञ्जालमा ‘म फर्किएको छु’ लेखेका रोनाल्डो समूह चरणको अन्तिम खेलमा कोलम्बियाविरुद्ध भने खास प्रभावशाली देखिएनन् । गोलरहित बराबरीसँगै पोर्चुगल समूह उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो ।

क्रोएसियाविरुद्धको रोमाञ्चक जितमा भने पुरानो रोनाल्डोको झल्को देखियो । उत्कृष्ट नियन्त्रणपछि गरेको सुन्दर गोल अफसाइडका कारण रद्द भयो भने दोस्रो हाफमा उनले पेनाल्टीमार्फत बराबरी गोल गरे । तर खेल ८१औँ मिनेटमा सन्तुलनमै रहेका बेला प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई मैदानबाट बाहिर निकाले । सुरुमा रोनाल्डो निराश देखिए । उनले टाउको हल्लाउँदै असन्तुष्टि जनाए । तर अन्ततः बाहिरिए ।

उनको स्थानमा आएका गोन्कालो रामोसले इन्जुरी समयमा निर्णायक हेडर गोल गर्दै पोर्चुगललाई अन्तिम–१६ मा पुर्‍याए । 

अब प्रश्न उठेको छ । स्पेनविरुद्ध पनि मार्टिनेजले रामोसमाथि विश्वास गर्लान् कि रोनाल्डोलाई सुरुआती टोलीमै राख्लान् ? कतारमा भएको २०२२ विश्वकपमा पनि तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले स्विट्जरल्यान्डविरुद्ध अन्तिम–१६ को खेलमा रोनाल्डोलाई बेन्चमा राखेका थिए । त्यसअघि दक्षिण कोरियाविरुद्ध समूह चरणको अन्तिम खेलमा १–१ को अवस्थामा उनलाई प्रतिस्थापन गरिएको थियो । उक्त खेल दक्षिण कोरियाले अन्तिम क्षणमा जितेको थियो । 

त्यसपछि स्विट्जरल्यान्डविरुद्ध रामोसले ह्याट्रिक गर्दै पोर्चुगललाई ६–१ को जित दिलाएका थिए । रोनाल्डो अन्तिम १७ मिनेटका लागि मात्र मैदान प्रवेश गरेका थिए । 

यद्यपि, यसपटक पनि रोनाल्डोले सुरुआती टोलीमै स्थान बनाउने सम्भावना बलियो छ । उनी ठुला खेलका खेलाडी हुन् । तर लगातार पाँच विश्वकप खेलमा क्लिनसिट राख्न सफल स्पेनको बलियो रक्षापंक्तिविरुद्ध उनको चुनौती निकै कठिन हुनेछ । 

मार्टिनेजले जितका लागि आवश्यक परे रोनाल्डोलाई फेरि बिचमै प्रतिस्थापन गर्न सक्ने संकेत भने देखाइसकेका छन् । 

ronaldo-portugal

इतिहास स्पेनको पक्षमा

ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पेन र पोर्चुगल पाँच पटक आमनेसामने भएका छन् । दुवैले एक–एक खेल जितेका छन् भने तीन खेल बराबरीमा सकिएका छन् । सन् २०१८ को विश्वकपमा यी दुई टोलीबिच ३–३ को रोमाञ्चक बराबरी भएको थियो, जहाँ रोनाल्डोले शानदार ह्याट्रिक गरेका थिए । 

यस्तै, युरो २०१२ को सेमिफाइनल गोलरहित बराबरीमा सकिएपछि स्पेनले पेनाल्टी सुटआउटमा जित निकालेको थियो । यद्यपि, पोर्चुगलले स्पेनविरुद्ध पछिल्ला १२ प्रतिस्पर्धात्मक खेलमध्ये केवल एक खेल मात्र जितेको छ । त्यो पनि सन् २००४ को युरो समूह चरणमा नुनो गोमेसको गोलमा १–० ले । तर सन् २०२५ को यूईएफए नेसन्स लिग फाइनलमा पेनाल्टी सुटआउटमार्फत स्पेनलाई हराएको स्मृतिले पोर्चुगललाई आत्मविश्वास दिएको छ । 

पोर्चुगलविरुद्ध स्पेनको पूर्वानुमान 

खेलअघि स्पेनलाई स्पष्ट रूपमा दाबेदार मानिएको छ । प्रशिक्षक लुइस दे ला फुएन्टेको टोली पछिल्ला ३४ खेलमा अपराजित छ, जसमा २५ जित र ९ बराबरी छन् । यो क्रम जारी रहे स्पेनले आफ्नो इतिहासकै सबैभन्दा लामो ३५ खेलको अपराजित यात्राको बराबरी गर्नेछ । दे ला फुएन्टे स्वयं पनि विश्वकप र युरोमा प्रशिक्षकका रूपमा पहिलो ११ खेलमा अपराजित छन् । ती खेलमा स्पेनले केवल चार गोल मात्र खाएको छ । 

यदि स्पेनले पोर्चुगललाई हरायो भने दे ला फुएन्टे एमे ज्याके र लुइस भान गालपछि पहिलो १२ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा अपराजित रहने तेस्रो प्रशिक्षक बन्नेछन् । 

स्पेनको प्रदर्शन नतिजामा मात्र होइन, खेलको तथ्याङ्कमा पनि उत्कृष्ट देखिएको छ । यस विश्वकपमा उनीहरूको औसत अपेक्षित गोल –एक्सजि) अन्तर +१.८० रहेको छ, जुन समूह चरण पार गर्ने युरोपेली टोलीमध्ये सन् १९९८ को फ्रान्सपछि उत्कृष्ट हो । 

अप्टाको सुपरकम्प्युटरले २५ हजार सिमुलेसनमध्ये ४९.२ प्रतिशत अवस्थामा स्पेनले निर्धारित ९० मिनेटमै जित निकाल्ने अनुमान गरेको छ । पोर्चुगलको जितको सम्भावना २५.६ प्रतिशत छ भने बराबरी (अतिरिक्त समय वा पेनाल्टीतर्फ जाने सम्भावना) २५.२ प्रतिशत रहेको छ । 

लामिन यामालको भूमिका 

१८ वर्षीय लामिन यामाल विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक हुन् । तर यस विश्वकपमा उनले अझै आफ्नो वास्तविक स्तर देखाउन सकेका छैनन् । 

अप्रिलमा बार्सिलोनाबाट खेल्ने क्रममा ह्यामस्ट्रिङमा चोट लागेपछि उनको विश्वकप सहभागितामै शंका उत्पन्न भएको थियो । समूह चरणमा उनले केवल १४१ मिनेट खेले । केप भर्डे, साउदी अरेबिया र उरुग्वेविरुद्ध खेलेका उनले दोस्रो खेलमा गोल पनि गरे । प्रशिक्षक दे ला फुएन्टेका अनुसार उनी अहिले पूर्ण रूपमा फिट छन् । अस्ट्रियाविरुद्ध अन्तिम–३२ को खेलमा उनले बायाँ विंगबाट सुरुआत गर्दै निकै प्रभावशाली प्रदर्शन गरेका थिए । उनले बल पाउँदा हरेकपटक दर्शकमाझ उत्साहको लहर फैलिएको थियो । 

lamin

फिफाका लागि ‘दुःस्वप्न’ जस्तो खेल ?

स्पेन र पोर्चुगलबिचको यो खेल अन्तिम–१६ कै सबैभन्दा ठुलो भिडन्त मानिएको छ । पोर्चुगल समूह विजेता बन्न नसक्दा आयोजकलाई पनि केही निराशा भएको हुन सक्छ । किनभने यसले नकआउट यात्रा कठिन बनायो र सम्भावित मेस्सीविरुद्ध रोनाल्डो क्वार्टरफाइनलको सम्भावना समाप्त गरिदियो । 

जर्मनी र नेदरल्यान्ड्स अन्तिम–३२ बाटै बाहिरिएपछि आयोजकले अर्को बलियो टोली गुमाउन नचाहेको भए पनि यो खेलपछि स्पेन वा पोर्चुगलमध्ये एक टोली अनिवार्य रूपमा प्रतियोगिताबाट बाहिरिनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा अमेरिका वा बेल्जियमसँग खेल्नेछ । त्यसपछि सम्भावित सेमिफाइनलमा फ्रान्स वा मोरक्कोको सामना हुनेछ । अब रोनाल्डो र मेस्सीबिच सम्भावित भेट केवल जुलाई १९ को फाइनलमा मात्र हुन सक्छ । 

खेलको निर्णय मिडफिल्डले गर्ने ?

अस्ट्रियाविरुद्ध स्पेनले यस विश्वकपकै सबैभन्दा सन्तुलित प्रदर्शन गरेको थियो । रोड्री र पेड्री स्पेनको मिडफिल्डका मुटु हुन् । उनीहरूले चारै खेल सुरुदेखि खेलेका छन् । दे ला फुएन्टेले डानी ओल्मो, मिकेल मेरिनो र फाबियन रुइजलाई पनि अवसर दिएका छन् । ओल्मो अहिले मुख्य रोजाइमा देखिन्छन् । 

यता पोर्चुगलको मिडफिल्ड पनि उत्तिकै बलियो छ । जोआओ नेभेस र भिटिन्हाले लगातार दोस्रो पटक पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई यूईएफए च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए भने ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडबाट उत्कृष्ट सिजन बिताएका छन् । 

रुबेन नेभेसले समूह चरणको अन्तिम खेलमा अवसर पाए पनि स्पेनविरुद्ध मार्टिनेजले आफ्नो भरपर्दो त्रयलाई नै उतार्ने अपेक्षा गरिएको छ । 

स्पेनले चारमध्ये चारै खेलमा बल नियन्त्रणमा वर्चस्व कायम गरेको छ भने पोर्चुगलले पनि कोलम्बियाविरुद्धको खेलबाहेक सबै खेलमा त्यही प्रदर्शन गरेको छ । क्रोएसियाविरुद्धको जितपछि मार्टिनेजले भने, ‘हामी स्पेनलाई धेरै राम्रोसँग चिन्छौं र उनीहरूले पनि हामीलाई राम्रोसँग चिन्छन् । यो उत्कृष्ट खेल हुनेछ । दुवै टोली बल नियन्त्रण गर्न, आक्रमण गर्न, छिट्टै बल फिर्ता जित्न र अवसर सिर्जना गर्न चाहन्छन् ।’ 

यस खेलमा मिडफिल्डको लडाइँ जित्ने टोलीले नै सम्भवतः लस एन्जलसमा हुने विश्वकप क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप