मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

स्पेनसँगको हारसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा : कस्तो रह्यो उनको ६ विश्वकप करियर ?

मङ्गलबार, २३ असार २०८३, ०६ : २७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • क्रिस्टियानो रोनाल्डोको गौरवशाली फिफा विश्वकप करियर स्पेनसँगको हारसँगै अन्तिम १६ मा समाप्त भयो ।
  • रोनाल्डोले लगातार छ विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
  • रोनाल्डोले विश्वकपमा २७ खेल खेल्दै ११ गोल गरेका छन् र उनी विश्वकप नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् ।

डलासको तातो र आद्र्र दिउँसोमा क्रिस्टियानो रोनाल्डोको गौरवशाली फिफा विश्वकप करियरको अन्त्य भयो । अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएपछि विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको हो ।

सोमबारको खेल विश्वकपमा पोर्चुगलका लागि रोनाल्डोको अन्तिम उपस्थिति बन्यो । उनले लगातार छ संस्करणको विश्वकपमा आफ्नो अमिट छाप छाडेका छन् ।

खेलपछि रोनाल्डोले आफ्नो विश्वकप बिदाइको पुष्टि गर्दै भने, ‘म यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःखी छु । रोनाल्डोले थपे, ‘मैले सक्दो सबै दिएँ । आफ्नो उत्कृष्ट प्रयास गरेँ र अब म शान्त मनका साथ बाहिरिँदै छु । हो, यो मेरो अन्तिम विश्वकप थियो । अब मसँग सोच्ने र परिवारसँग समय बिताउने अवसर हुनेछ । म कुनै हतारको निर्णय गर्नेछैन ।’

४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि भने यो आफ्नो अन्तिम खेल थियो वा होइन भन्नेबारे स्पष्ट प्रतिक्रिया दिएनन् । व्यक्तिगत निर्णयले टोलीको अभियानलाई ओझेलमा पार्न नचाहेको उनले बताए ।

खेल समाप्त भएपछि रोनाल्डोले आँसु रोक्ने प्रयास गर्दै डलास स्टेडियमतर्फ अन्तिम पटक नजर डुलाए । दर्शकलाई ताली बजाएर धन्यवाद दिएपछि कप्तानीको आर्मब्यान्ड हातमा समातेर उनी बिस्तारै ड्रेसिङ रुमतर्फ लागे ।

tag_reuters.com,2026_newsml_UP1EM761MIZM0_945061656_768x432

रोनाल्डो विश्व फुटबल इतिहासमा सबैभन्दा सफल र सम्मानित खेलाडीहरूमध्ये एकका रूपमा स्मरणीय रहनेछन् ।

रोनाल्डोका विश्वकप कीर्तिमान

यस वर्ष समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै पोर्चुगललाई ५–० को जित दिलाएका रोनाल्डो सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो तथा एकमात्र खेलाडी बनेका छन् ।

रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् । उनले विश्वकपमा २७ खेल खेल्दै ११ गोल गरेका छन् ।

यस वर्ष क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गरेको गोल उनको विश्वकप नकआउट चरणको पहिलो गोल थियो । साथै, ४१ वर्ष १४७ दिनको उमेरमा गोल गरेका रोनाल्डो विश्वकप नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् ।

समग्र विश्वकप इतिहासमा भने उनी क्यामरुनका रोजर मिल्लापछि दोस्रो सबैभन्दा पाका गोलकर्ता हुन् । मिल्लाले सन् १९९४ मा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए ।

मेस्सीसँग तुलना

रोनाल्डोले विश्वकपमा २७ खेल खेलेका छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले हालसम्म ३० खेल खेलिसकेका छन् । अर्जेन्टिना प्रतियोगितामा कायम रहेकाले मेस्सीको संख्या अझ बढ्नेछ ।

गत साता मियामीमा केप भर्डेविरुद्ध गोल गर्दै मेस्सीले विश्वकपमा आफ्नो २०औँ गोल पूरा गरेका थिए, जसले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ ।

रोनाल्डो, मेस्सी र मेक्सिकोका अनुभवी गोलकिपर गिलेर्मो ओचोआ ६ वटा विश्वकप खेल्ने दुर्लभ खेलाडी हुन् । तर रोनाल्डोको विशेषता के हो भने उनले खेलेका सबै ६ संस्करणमा गोल गरेका छन् । मेस्सी भने सन् २०१० को विश्वकपमा गोल गर्न असफल भएका थिए ।

अर्जेन्टिनी स्टार मेस्सीले दुइपल्ट विश्वकप फाइनल खेले, २०१४ मा जर्मनीसँग पराजित भए भने २०२२ मा फ्रान्सलाई हराउँदै विश्वकप उचाले l तर रोनाल्डोले विश्वकप उचाल्न त पाएनन् नै, उनले पोर्चुगललाई फाइनलसम्म पनि पु-याउन सकेनन् ।

अब रोनाल्डोको भविष्य के ?

आइतबार पत्रकारहरूसँग कुरा गर्दै रोनाल्डोले भावुक शैलीमा आफ्नो विश्वकप यात्राको अन्त्यबारे बोलेका थिए । उनले भने, ‘मैले फुटबललाई आफूले दिन सक्ने सबै कुरा दिएको छु । धेरै वर्षसम्म खेल्नु मेरो आवश्यकता होइन, मेरो जुनून हो । म राष्ट्रिय टोलीका लागि खेल्न पाउँदा गर्व गर्छु र फुटबललाई प्रेम गर्छु ।’

अब उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासबारे औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ । तर उनी साउदी प्रो लिगको क्लब अल–नासरका लागि भने खेलिरहने सम्भावना बलियो छ । हालै उनले अल–नासरसँग लिग उपाधि जितेका थिए ।

ronaldo

उता पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज ले पनि स्पेनसँगको हारपछि आफ्नो पद छोड्ने घोषणा गरेका छन् । उनले यो हारलाई पोर्चुगल टोलीका लागि एउटा युगको अन्त्यको रूपमा वर्णन गरे ।

मार्टिनेजले रोनाल्डोलाई आदर्श कप्तानको संज्ञा दिँदै पोर्चुगल फुटबलमा पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । यद्यपि उनले रोनाल्डोको भविष्यबारे थप टिप्पणी गर्न अस्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप