बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
रातो कार्ड प्रकरण

अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !

मङ्गलबार, २३ असार २०८३, २१ : २१
मङ्गलबार, २३ असार २०८३

सारांश

  • बेल्जियमले अमेरिकालाई विश्वकपको अन्तिम १६ को खेलमा ४-१ गोलले पराजित गर्‍यो, जुन अमेरिकी खेलाडी फोलारिन बालोगुनको प्रतिबन्ध फुकुवाको प्रतिक्रिया थियो।
  • बेल्जियमका खेलाडीहरूले बालोगुनको प्रतिबन्ध फुकुवालाई अन्याय मानेका थिए र मैदानमा त्यसको जवाफ दिने बताएका थिए।
  • बेल्जियमले चौथो गोल गरेपछि 'ट्रम्प डान्स' जस्तै शैलीमा नाचेको र राष्ट्रिय टोलीको इन्स्टाग्राम अकाउन्टले घटनाको खिल्ली उडाएको थियो।

काठमाडौँ । विश्वकपको अन्तिम १६ को खेलअघि फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको एक खेलको प्रतिबन्ध फुकुवा गरेपछि आफ्नो टोलीलाई ‘अन्याय भएको महसुस भएको’ बेल्जियमका मिडफिल्डर निकोलस रास्किनले बताएका थिए।

अघिल्लो चरणमा बोस्निया हर्जगोभिनाका डिफेन्डर तारिक मुहारेमोभिकलाई फउल गरेपछि सिधै रातो कार्ड पाएका २५ वर्षीय बालोगुनले सिएटलमा हुने उक्त खेल गुमाउने निश्चित देखिएको थियो।

तर आइतबार फिफाले स्वचालित रूपमा लाग्ने एक खेलको प्रतिबन्धलाई १२ महिनाका लागि निलम्बन गर्‍यो। यस निर्णयको व्यापक आलोचना भयो। यूईएफए, बेल्जियम र इंग्ल्याण्डका प्रशिक्षक थोमस टुकलसमेत यस निर्णयको विरोधमा उत्रिएका थिए।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालोगुनको प्रतिबन्धबारे पुनर्विचार गर्न आफूले फिफालाई आग्रह गरेको बताएका थिए। उनले प्रतिबन्ध कायम रहे प्रतियोगितामा ‘ठूलो दाग’ लाग्ने धारणा व्यक्त गरेका थिए।

तर, अमेरिकी स्टार स्ट्राइकरले खेल्न अनुमति पाएर सुरुवाती रोजाइमै मैदान उत्रिए पनि बेल्जियमले प्रतियोगिताको सह-आयोजक अमेरिकालाई ४-१ गोलअन्तरले शानदार रूपमा पराजित गर्‍यो।

‘पछिल्ला दुई दिनमा मैदानबाहिर धेरै कुराहरू भए,’ बेल्जियम र रेन्जर्सका मिडफिल्डर रास्किनले भने, ‘टोलीभित्र अन्यायको महसुस भएको थियो । हामी मैदानमै यसको जवाफ दिन कटिबद्ध थियौँ।’

बेल्जियमका कप्तान युरी टिलेमान्सले यस घटनाले आफ्नो टोलीको मनोबल बढाएको दाबी गरे। ‘हामीले मैदानमै जवाफ दिनुपर्छ भनेर आफैँलाई सम्झायौँ। हामीले त्यही गर्‍यौँ,’ उनले भने।

बेल्जियमले चौथो गोल गरेपछि धेरैजसो खेलाडीहरू ‘ट्रम्प डान्स’ जस्तै शैलीमा नाचेका तस्बिरहरू सार्वजनिक भएका थिए। यो नाच, जसमा ट्रम्प कम्मर हल्लाउँदै बिस्तारै हात चलाउँछन्, सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावको प्रचारप्रसारका क्रममा निकै चर्चामा आएको थियो।

बेल्जियम राष्ट्रिय टोलीको आधिकारिक इन्स्टाग्राम अकाउन्टले पनि यस घटनाको खिल्ली उडाएको देखियो। स्ट्राइकर रोमेलु लुकाकुले कानमा हात राखेको तस्बिर राख्दै त्यसमा ‘अब यसलाई उल्ट्याऊ’ भनी क्याप्सन लेखिएको थियो।

बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले पत्रकारहरूसँग कुरा गर्दै खेलपछि बालोगुन ‘कुरा गर्न आएको’ जानकारी दिए। ‘मलाई त्यो एकदमै मन पर्‍यो,’ उनले भने, ‘यो उनको गल्ती होइन, उनलाई दोष दिन मिल्दैन। मैले उनलाई यही कुरा भनेँ।’

यस घटनाले टोलीलाई कस्तो असर गर्‍यो भनी सोधिएको प्रश्नमा गार्सियाले भने, ‘अमेरिकाको सुरुवाती ११ मा को-को छन् भन्ने कुराले हामीलाई फरक पर्दैनथ्यो। हाम्रो लागि मुख्य कुरा खेल योजना थियो। टोली धेरै परिपक्व छ। हाम्रो लागि हामी नै सबैभन्दा महत्त्वपूर्ण छौँ भनेर मैले उनीहरूलाई सम्झाएको थिएँ।’

इरानले पनि आफ्नो आधिकारिक वेबसाइटमा अमेरिका र बालोगुनको घटनाप्रति कटाक्ष गर्‍यो। इरानले बेल्जियमसँग बराबरी खेलेको खेल र अमेरिकाले भोगेको ठुलो हारको स्क्रिनसट सँगै राखेर पोस्ट गरेको थियो। उक्त स्क्रिनसटसँगै लेखिएको थियो, ‘फुटबलविरुद्ध राजनीतिको लज्जास्पद हारका कारण अहिले पूरा विश्व नाचिरहेको छ’।

यसअघि समूह चरणबाटै इरान बाहिरिँदा अमेरिकाको होमल्यान्ड सेक्युरिटीका प्रमुख मार्कवेन मुलिनले आफू ‘खुसीले नाचेको’ बताएका थिए। इरानमा अमेरिकाको युद्धका कारण भिसा र यात्रासम्बन्धी समस्याले इरानको विश्वकप सहभागितामै असर परेको थियो।

ट्रम्पले ‘सही निर्णय’ भएको बताए

आइतबार ट्रम्पले फुटबलको विश्व सर्वोच्च निकायले ‘सही निर्णय लिएको’ बताए। प्रतिबन्ध लागू भएको भए प्रतियोगितामा ‘ठूलो दाग’ लाग्ने उनको भनाइ थियो।

सोमबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले आफूलाई ‘त्यो फउल हो जस्तो नलागेकाले’ निर्णयमा पुनर्विचार गर्न फिफालाई आग्रह गरेको बताए। उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग कुरा गरेको पुष्टि गरे। तर आफूले मात्र पुनर्विचार गर्न आग्रह गरेको प्रस्ट्याउँदै बालोगुनको प्रतिबन्ध हटाउनैपर्छ भनेर दबाब नदिएको दाबी गरे।

ट्रम्पले थपे, ‘मलाई लाग्छ यसले (प्रतिबन्धले) ठुलो दाग छोड्ने थियो। म उनीहरूलाई के गर्ने भनेर भन्न सक्दिनँ। यो निर्णय उनीहरूले गरेका हुन् जस्तो मलाई लाग्दैन; मलाई लाग्छ आयोगले यो निर्णय गरेको हो। र यो सही निर्णय थियो।’

खेलअघि रोयल बेल्जियन फुटबल संघ (आरबीएफए) ले बालोगुनको प्रतिबन्ध हटाउने कदमबाट आफूहरू ‘आश्चर्यचकित’ भएको बताएको थियो। साथै, युनाइटेड स्टेट्स सकर फेडेरेसनलाई बालोगुनको खेल्ने ‘योग्यतामाथि आफूहरूको असहमति’ रहेको सन्देश दिएको थियो।

आरबीएफएले यस निर्णयविरुद्ध अपिल गरेको थियो। तर फिफाको एक समितिले बेल्जियम मूल निर्णयमा संलग्न नभएको र केवल अमेरिकाको अर्को प्रतिद्वन्द्वी मात्र भएको कारण देखाउँदै उसलाई सरोकारवाला पक्ष मान्न इन्कार गर्‍यो।

इंग्ल्याण्डका मुख्य प्रशिक्षक टुकलले यस निर्णयले खतरनाक नजिर स्थापित गरेको बताए भने यूईएफएले प्रतियोगितामा प्रतिबन्ध हटाउन गरिएको हस्तक्षेपले ‘रातो रेखा पार गरेको’ टिप्पणी गर्‍यो।

अन्तिम १६ को खेलमा इंग्ल्याण्डले मेक्सिकोमाथि ३-२ को नाटकीय जित निकाल्दा इंग्ल्याण्डका डिफेन्डर जरेल क्वान्साहले रातो कार्ड खाँदै मैदान छाडेका थिए।

‘अब सीमा कहाँ कोर्ने भन्ने प्रश्न म सोध्न चाहन्छु,’ टुकलले भने, ‘मसँग यसको कुनै जवाफ छैन।’

विश्वकपमा देखाइएका अन्य १८९ रातो कार्डमध्ये केवल एकपटक मात्र खेलाडी प्रतिबन्धबाट बचेका छन्।

त्यो घटना सन् १९६२ मा ब्राजिलका गारिन्चाको थियो, जतिबेला रातो कार्ड पाएपछि स्वतः प्रतिबन्ध लाग्ने नियम लागू भइसकेको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप