शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो

शुक्रबार, २६ असार २०८३, १३ : ३८
शुक्रबार, २६ असार २०८३

सारांश

  • एमालेले राष्ट्रियता र सीमा सुरक्षाको सवालमा सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
  • सांसद भूमिका लिम्बु सुब्बाले सुस्तामा भारतीय सीमा सुरक्षा बल र दार्चुलामा भारतीय सैनिक हेलिकप्टरले नेपालको अनुमति बिना गरेको हस्तक्षेपबारे सरकारको जवाफ माग गरिन् ।
  • उनले दलाई लामाको जन्मोत्सवमा जिम्मेवार व्यक्तिको संलग्नता र राहदानी विभाग अगाडि युवकको आत्मदाहलाई राज्यको असफलता भन्दै नेपालको सार्वभौमसत्ता रक्षाका लागि एमाले सधैँ अडिग रहने बताइन् ।

काठमाडौँ । एमालेले राष्ट्रियता र सीमा सुरक्षाको सवालमा सरकार गम्भीर नभएको बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति र छिमेकी मुलुकबाट भइरहेका अवाञ्छित गतिविधिप्रति सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाइन् । 

सांसद सुब्बाले जेठ १७ गते प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको निरन्तर विरोध गर्दै सुस्ता र दार्चुलामा भइरहेका हस्तक्षेपबारे सरकारको जवाफ माग गरिन् ।  ‘सुस्तामा भारतीय सीमा सुरक्षा बल पूर्वसूचना बिना प्रवेश गरेको छ र दार्चुलाको आकाशमा भारतीय सैनिक हेलिकप्टरले नेपालको अनुमति बिना उडान भरेको छ,’ उनले भनिन्–  ‘अन्तर्राष्ट्रिय कानुनको यो गम्भीर उल्लङ्घनबारे सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ कि छैन ? छ भने जवाफ के आयो र छैन भने किन पठाइएन ।’

दलाई लामाको ९१ औँ जन्मोत्सवमा देशका जिम्मेवार व्यक्तिहरूको संलग्नताले नेपालको एक चीन नीति र कूटनीतिक विश्वसनीयतामा प्रश्न उठाएको बताइन् । यस्ता संवेदनशील विषयमा सरकारले मौनता साधेर बस्न नहुने उनको तर्क थियो।

मुगुका २५ वर्षीय युवक गणेश नेपालीले राहदानी विभाग अगाडि गरेको आत्मदाहको प्रयास र उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै सांसद सुब्बाले यसलाई राज्यको असफलता भनिन् । १० हजार रुपैयाँ ट्राफिक जरिवाना र राज्यको चरम दबाबका कारण एक युवाले मृत्यु रोज्नुपर्ने अवस्था आउनुले सामाजिक विवेकमाथि प्रश्न उठाएको उनले बताइन् ।  ‘यो केवल एक व्यक्तिको मृत्यु होइन, राज्यको उत्तरदायित्व र मानवीय संवेदना माथिको गम्भीर प्रहार हो,’ उनले भनिन् । 

पछिल्लो समय पुराना र नयाँ दलबिच कृत्रिम विभाजनको भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले पुराना दलहरूकै सङ्घर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान आएको दाबी गरिन् । 

 सांसद सुब्बाले नेपालको एक इन्च भूमि, नेपाली आकाश र सार्वभौमसत्ताको रक्षाका लागि एमाले सधैँ अडिग रहने बताइन् । उनले प्रधानमन्त्रीलाई आफ्ना विवादास्पद अभिव्यक्ति सच्याउन र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन सभामुखमार्फत आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप