गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
सारांश
- पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनाले देशलाई स्तब्ध बनाएको भन्दै कांग्रेस सभापति गगन थापाले चिन्ता व्यक्त गरेका छन्।
- थापाले यो घटनालाई राजनीतिक बहसको विषय नबनाई नागरिकको जीवन र मानवीय संवेदनासँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेका छन्।
- थापाले यस्ता घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने र भविष्यमा कुनै नागरिकले आत्मघाती बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले चिन्ता व्यक्त गरेका छन्।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। मृतक नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।
यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नलगाउन थापाले सबैलाई विनम्र अनुरोध गरेका छन्। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको उनको बुझाइ छ।
यस्तो कठिन घडीमा गणेशको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दुःखमा कसरी मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न उनले आह्वान गरेका छन्।
विगत र वर्तमानमा कसको दोष थियो भनेर बहस गर्नुभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा थापाले जोड दिएका छन्। अब हामीले आफैँसँग केही कठिन प्रश्नहरू सोध्नैपर्ने बेला आएको उनी बताउँछन्।
एउटा युवा किन यस्तो चरम निराशाको बिन्दुसम्म पुग्छ र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भनी उनले प्रश्न गरेका छन्। राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने ठाउँमा किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् भन्ने विषयमा सोच्नुपर्ने थापाको भनाइ छ।
यसरी नागरिकले ज्यान गुमाउनु पर्ने स्थिति आउनुमा समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ भनेर खोज्नुपर्ने उनले औँल्याएका छन्। यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो आत्मघाती बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाले स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण