निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
सारांश
- नेपालमा डेढ दशकदेखि देखिएको बर्ड फ्लुको प्रकोप यस पटक आक्रामक रूपमा फैलिएको छ जसले पोल्ट्री व्यवसायलाई नराम्ररी असर पारेको छ ।
- कोशी प्रदेशको मोरङबाट सुरु भएको यो प्रकोप काठमाडौँ उपत्यकासहित ११ जिल्लामा फैलिएको छ, जसले राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा गम्भीर धक्का दिएको छ ।
- बर्ड फ्लु नियन्त्रणमा मानवीय असावधानी, कमजोर व्यवस्थापन र किसानहरूको हेलचेक्र्याइँ प्रमुख कारण बनेको छ, जसले गर्दा १७ वर्षमा २७ लाखभन्दा बढी पन्छी मारिएका छन् ।
काठमाडौँ । नेपालमा विगत डेढ दशकदेखि पशुजन्य क्षेत्रमा ठुलो चुनौतीका रूपमा देखा परेको घातक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) को प्रकोप यस पटक थप फरक र आक्रामक रूपमा फैलिएको छ । ग्रामीण र अर्ध–सहरी अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको व्यावसायिक पोल्ट्री व्यवसायलाई यस महामारीले पुनः एकपटक नराम्ररी थला पारेको छ ।
विगतका वर्षहरूमा निश्चित भौगोलिक क्षेत्र र सीमित व्यावसायिक फार्महरूमा मात्र देखा पर्ने यो रोग यस पटक फरक वातावरणीय संवेदनशीलता, कमजोर जैविक सुरक्षा र जङ्गली पन्छीहरूको बदलिँदो व्यवहारका कारण तीव्र गतिमा फैलिएको छ ।
पशु सेवा विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क र प्राविधिक प्रतिवेदनहरूले यस वर्षको प्रकोप विगतका वर्षहरूभन्दा धेरै जटिल र चुनौतीपूर्ण रहेको देखिन्छ । कोशी प्रदेशको मोरङ जिल्लाबाट सुरु भएको बर्ड फ्लुको यो शृङ्खलाले हाल देशको राजधानी काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लालाई नराम्ररी गाँजेको छ । बजारमा मासु र अण्डाको मागमा आएको ह्रास, लाखौँ पन्छीको कलिङ (नष्ट गर्ने कार्य), किसानहरूले बेहोर्नुपरेको अर्बौंको क्षति र जनस्वास्थ्यमाथि मडारिएको सम्भावित जोखिमका कारण यो विषय केवल एउटा पशु स्वास्थ्यको मुद्दामात्र रहेन, बरु यसले राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा समेत गम्भीर धक्का दिएको छ ।
नेपालमा पोल्ट्री व्यवसायमा झन्डै १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको सम्बद्ध व्यवसायी बताउँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जंगबहादुर बीसीका अनुसार, बर्ड फ्लुको हल्ला र सङ्क्रमणका कारण काठमाडौँ उपत्यकामा मात्र कुखुराको मासुको खपत २० देखि ३० प्रतिशतसम्मले गिरावट आएको छ । काठमाडौँ उपत्यका कुखुराको मासु खपत हुने देशकै ठुलो बजार हो, जहाँ सामान्य अवस्थामा दैनिक करिब ३ लाख केजी मासुको माग हुने गर्दछ । हाल बर्ड फ्लुको त्रासका कारण यो मागमा दैनिक ६० हजारदेखि ९० हजार केजीसम्म कमी आई दैनिक २ लाख १० हजारदेखि २ लाख ४० हजार केजीको हाराहारीमा मात्र मासुको बिक्री–वितरण भइरहेको छ ।

- मोरङबाट सल्किएको प्रकोप
चालु आर्थिक वर्ष (२०८२/०८३) को पहिलो बर्ड फ्लु ‘आउटब्रेक’ (प्रकोप) २०८२ साल चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्ला अन्तर्गत सुन्दरहरैंचा–४ र उर्लाबारी–८ मा पुष्टि भएको थियो । सुरुवातमा पूर्वी तराईका जिल्लाहरूमा सीमित देखिएको यो सङ्क्रमण बिस्तारै देशका अन्य व्यापारिक हब र काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्यो ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल काठमाडौँ उपत्यका बर्ड फ्लु सङ्क्रमणको मुख्य केन्द्रविन्दु (हटस्पट) बनेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न कृषि तथा पोल्ट्री पकेट क्षेत्रहरूमा यसको उपस्थिति तीव्र पाइएको छ । विगतमा एकपटक नियन्त्रणमा आइसकेको दाबी गरिए पनि भाइरसको उत्परिवर्तनशील प्रकृति र प्रतिकूल वातावरणीय अनुकूलताका कारण सङ्क्रमण पुनः ब्युँतिएको प्राविधिकहरूको विश्लेषण छ ।
महानिर्देशक दाहालका अनुसार उपत्यकामा व्यावसायिक फार्महरूमा मात्र नभएर खुला रूपमा बस्ने जङ्गली पक्षीहरू, विशेष गरी कागहरूमा समेत सङ्क्रमण देखिएकाले नियन्त्रण कार्य थप चुनौतीपूर्ण बनेको छ । काठमाडौँका विभिन्न सार्वजनिक पार्क, सडक र वन क्षेत्रमा ठुलो सङ्ख्यामा काग मरेको फेला परेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु पुष्टि भएको थियो । यसले भाइरस हाम्रो खुला वातावरण र जैविक चक्रमा कति गहिराइसम्म स्थापित भइसकेको छ भन्ने स्पष्ट पार्छ ।
हालको तथ्याङ्क अनुसार देशभरका ११ वटा जिल्लामा सङ्क्रमण फैलिएकोमा ७ वटा जिल्ला (झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवन लगायत) हाल सङ्क्रमणमुक्त भइसकेका छन् । यद्यपि, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ४ वटा जिल्लामा अझै पनि जोखिम उच्च छ । ललितपुर जिल्लामा सङ्क्रमण दर केही कम भए पनि भक्तपुर र काठमाडौँका बाहिरी काँठ क्षेत्रमा अझै पनि फाटफुट नयाँ केस देखिइरहेका छन् । अहिले सबैभन्दा बढी चिन्ताको विषय काभ्रेपलाञ्चोक जिल्ला बनेको छ । बनेपा र आसपासका व्यावसायिक क्षेत्रमा सङ्क्रमणको ग्राफ उकालो लागेपछि विभागले थप कडा कदम चालेको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष बीसीका अनुसार जहाँ सङ्क्रमण पुष्टि हुन्छ, त्यहाँको सम्पूर्ण फार्म तत्काल सिल गरेर राज्यले वैज्ञानिक ढंगले कुखुरा नष्ट गर्ने भएकाले सङ्क्रमित मासु बजारमा पुग्ने कुनै सम्भावना रहँदैन । बजारमा आउने मासु पूर्ण रूपमा स्वस्थ र सुरक्षितमात्र आउने व्यवस्था मिलाइएको उनको दाबी छ ।
पशु सेवा विभागका महानिर्देशक दाहाल पनि यसमा सहमत छन् । उनले भने, ‘बर्ड फ्लु लागेपछि कुखुराहरू निकै छिटो मर्ने र रोग लुकाउँदा सिङ्गो फार्म नै सखाप हुने भएकाले किसानहरू आफैँ सचेत भई शङ्कास्पद मृत्यु हुनासाथ विभाग वा स्थानीय भेटेरिनरी अस्पतालमा खबर गर्ने गर्छन् ।’
_ZLq66N0diN.jpg)
- मानवीय लापरबाहीको समस्या पनि
बर्ड फ्लु फैलिनुमा केवल चराचुरुङ्गीमात्र होइन, मानवीय असावधानी, हेलचेक्य्राइँ र कमजोर व्यवस्थापन पनि मुख्य इन्धन बनेको छ । अनुगमनका क्रममा कतिपय फार्महरूमा मरेका कुखुरा वा पक्षीहरूलाई वैज्ञानिक ढङ्गले खाडल खनेर गाड्नुको सट्टा खुला स्थानमा, सडक किनारमा वा खोलाखोल्सामा फ्याँक्ने गैरजिम्मेवार प्रवृत्ति देखियो । यसरी खुला रूपमा फ्याँकिएका मृत पक्षीहरूलाई कुकुर, बिराला वा कागजस्ता जनावर तथा पक्षीले खोतल्ने र अन्यत्र लैजाने गर्दा भाइरस छोटो समयमै विभिन्न नयाँ स्थानमा पुगेको विज्ञ बताउँछन् ।
अर्कोतर्फ किसानहरूमा सुरुमै रोगको शङ्का लाग्दा जानकारी लुकाउने र अवस्था पूर्ण रूपमा नियन्त्रण बाहिर गएपछि मात्र सरकारी अधिकारीहरूलाई ढिलो गरी खबर गर्ने प्रवृत्ति कायमै छ । कतिपय व्यवसायीहरूले फार्ममा सङ्क्रमण पुष्टि भएपछि प्राविधिक टोलीलाई नष्टीकरण कार्यमा सहयोग गर्नुको सट्टा स्थानीय स्तरबाट अवरोध सिर्जना गर्ने, आन्दोलन गर्ने वा कुखुरा लुकाएर अन्यत्र पठाउने प्रयास गर्दा नियन्त्रण कार्य प्रभावित बन्ने गरेको पशु सेवा विभागले जनाएको छ ।
विभागले किसान स्तरमा अनुगमन गरी केही गम्भीर कमजोरी औँल्याएको छ । फार्महरूमा आवतजावत गर्ने सवारी साधन र मानिसहरूलाई निसङ्क्रमण गर्ने प्रभावकारी व्यवस्था नभएको पाइएको छ । यसका साथै कुखुराका चल्लाहरू अनाधिकारिक, सस्तो वा असुरक्षित स्रोतबाट खरिद गरिने र दाना तथा पानीको भण्डारण जङ्गली चराहरूको पहुँचभन्दा टाढा राख्न नसकिँदा भाइरस सहजै फार्मभित्र प्रवेश गरिरहेको छ ।
नेपालमा बर्ड फ्लु भाइरस भित्रिनुको प्राकृतिक र प्राथमिक स्रोत साइबेरिया, मंगोलिया र मध्य एसियाली क्षेत्रबाट हिउँदको समयमा आउने हिउँदे प्रवासी चरा हुन् । यी चराले नेपालका विभिन्न सिमसार, तालतलैया, कोशी टप्पु, जगदिशपुर ताल र कर्णाली तथा नारायणी नदीका तटहरूमा बस्ने क्रममा स्थानीय जलपक्षी र घरेलु पन्छीहरूमा भाइरस सार्ने गर्दछन् । घरेलु पन्छीका माध्यमबाट पोल्ट्री फार्मसम्म सङ्क्रमण पुग्ने जोखिम अत्यधिक रहने विज्ञ बताउँछन् ।
- १७ वर्षमा २७ लाख पन्छी मरे
नेपालले विगत १५ वर्षदेखि यस महामारीको निरन्तर सामना गर्दै आएको छ । नेपालमा पहिलो पटक घातक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण १६ जनवरी २००९ (वि.सं. २०६५ माघ) मा झापा जिल्लाको पूर्वी नाका काँकडभिट्टामा पुष्टि भएको थियो । त्यस लगत्तै सन् २०१० मा पोखरा लगायतका क्षेत्रमा प्रकोप फैलिँदा सङ्क्रमण नियन्त्रणका लागि ११,००० भन्दा बढी पन्छीहरू नष्ट गरिएको थियो ।
- २०२५ सम्मको आउटब्रेक तथ्याङ्क

सन् २००९ देखि २०२६ सम्मको १७ वर्षको अवधिमा नेपालमा ३२० भन्दा बढी बर्ड फ्लु आउटब्रेकहरू विश्व पशु स्वास्थ्य संगठनमा दर्ता भइसकेका छन् । महामारी नियन्त्रणका लागि चालिएका सरकारी कदमस्वरूप नेपालमा हालसम्म २७ लाख (२.७ मिलियन) भन्दा बढी घरपालुवा पन्छी मारिएका छन् । बर्ड फ्लुको प्रकोप देशका २५ भन्दा बढी जिल्लाहरूमा फैलिएको पाइएको छ । जसमध्ये बागमती प्रदेश र विशेषगरी काठमाडौं उपत्यका सबैभन्दा बढी प्रभावित र संवेदनशील क्षेत्रका रूपमा छन् ।
नेपालमा बर्ड फ्लु भाइरसले समय–समयमा आफ्नो स्वरूप परिवर्तन गर्दै आएको छ । सन् २००९ मा एच ५एन १ (क्लेड .२) सक्रिय रहेकोमा सन् २०१० को दशकमा क्लेड २.३.२.१ ए महामारीको मुख्य कारण बन्यो । सन् २०२१ मा पहिलो पटक व्यावसायिक घरपालुवा पन्छीमा एच ५ एच ८ स्वरूप देखा पर्यो । सन् २०२३ र २०२६ को महामारीमा भने दुई फरक स्वरूपहरू (क्लेड २.३.४.४ बी र क्लेड २.३.२.१ ए) आपसमा मिसिएर बनेको नयाँ हाइब्रिड ( रियासोर्टेन्ट) भाइरस सक्रिय रहेको पुष्टि भएको थियो ।
- मानिसमा कस्तो प्रभाव ?
बर्ड फ्लु केवल पन्छीहरूमा मात्र सीमित रहने रोग होइन । यो जुनोटिक अर्थात् पन्छीबाट मानिसमा सर्न सक्ने प्रकृतिको घातक रोग हो । नेपालमा लामो समयसम्म मानिसमा बर्ड फ्लु सरेको घटना नदेखिए पनि सन् २०१९ को मार्च महिनामा नेपालमा बर्ड फ्लु सङ्क्रमणका कारण पहिलो पटक एक २१ वर्षीय युवकको मृत्यु भएको पुष्टि भयो । काभ्रेपलाञ्चोकका ती युवकको मृत्युपछि उनको नमूना परीक्षणका लागि जापानस्थित विश्व स्वास्थ्य संगठनको कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जामा पठाइएको थियो, जसले बर्ड फ्लुकै कारण मृत्यु भएको पुष्टि गरेको थियो ।
सन् २०२६ मा देखिएको प्रकोपबाट मानिसमा सङ्क्रमण सरेको कुनै पनि घटना फेला परेको छैन । यद्यपि, जोखिम उच्च रहेकाले पशु सेवा विभागले हरेक पटक कुनै फार्ममा बर्ड फ्लु पुष्टि हुनासाथ स्वास्थ्य मन्त्रालयलाई तुरुन्त जानकारी गराउने गरेको छ । स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले प्रभावित क्षेत्रका किसान, कामदार र स्थानीयको नियमित स्वास्थ्य निगरानी र नमूना सङ्कलन गरिरहेको छ ।
_L5jyzyjbyL.jpg)
- विश्वभरी फैलिँदैछ बर्ड फ्लु
विश्वव्यापी रूपमा अत्यधिक सङ्क्रामक बर्ड फ्लुको प्रकोप पछिल्लो १५ वर्षमा तीव्र रूपमा फैलिएको पाइएको छ । सन् २०११ देखि २०१५ सम्मको पहिलो चरणमा बर्ड फ्लुको प्रकोप मुख्यतया उत्तर अमेरिका (विशेषगरी संयुक्त राज्य अमेरिकाको आन्तरिक क्षेत्र), एसिया (विशेषगरी दक्षिण र पूर्वी एसिया) र अफ्रिकाका केही देशहरूमा केन्द्रित थियो । यस अवधिमा युरोप र दक्षिण अमेरिकामा यसको प्रभाव निकै न्यून वा नगण्य देखिएको थियो ।
सन् २०१६ देखि २०२० सम्मको दोस्रो अवधिमा बर्ड फ्लुको फैलावटमा ठुलो भौगोलिक परिवर्तन देखियो । युरोप महादेशभर यसको प्रकोप असाधारण रूपमा फैलियो, जसले युरोपेली देशहरूको पोल्ट्री क्षेत्रलाई ठुलो नोक्सानी पुर्यायो । यसका साथै एसिया र अफ्रिकाका विभिन्न क्षेत्रहरूमा पनि प्रकोप कायमै रह्यो । यद्यपि, यो अवधिमा उत्तर अमेरिकामा भने अघिल्लो चरणको तुलनामा प्रकोपका घटनाहरू केही कम दर्ता भएका थिए ।
पछिल्लो पाँच वर्ष (२०२१–२०२५) मा बर्ड फ्लुले इतिहासकै सबैभन्दा व्यापक र घातक रूप लिएको देखिन्छ । यस अवधिमा उत्तर अमेरिका र युरोप पूर्ण रूपमा यस प्रकोपको चपेटामा परेका छन् । सबैभन्दा चिन्ताजनक पक्ष, यसअघिका वर्षहरूमा सुरक्षित मानिएको दक्षिण अमेरिका (विशेषगरी चिली, पेरु र अर्जेन्टिना लगायतका तटीय क्षेत्रहरू) मा पनि यस अवधिमा पहिलो पटक बर्ड फ्लुको ठुलो प्रकोप देखा परेको छ ।
विश्व पशु स्वास्थ्य संगठनको रिर्पोट

- ५० करोडको राहत प्याकेज
यस वर्षको बर्ड फ्लु सङ्क्रमण नियन्त्रणका लागि सरकारले बर्ड फ्लु रोग नियन्त्रण नियमावली तथा कार्यविधि अनुसार प्रभावित क्षेत्र पहिचान गरी पक्षी र पक्षीजन्य उत्पादनहरू नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ । पशु सेवा विभागको पछिल्लो प्रतिवेदन अनुसार देशभर सङ्क्रमण फैलन नदिन ७ लाख ५४ हजार ५ वटा पन्छी, १० लाख ९१ हजार ३०३ वटा अण्डा र २ लाख ४२ हजार ६३५ किलोग्राम दाना सुरक्षित ढङ्गले नष्ट गरिएको छ ।
बर्ड फ्लुबाट प्रभावित र आर्थिक रूपमा धराशायी भएका किसानहरूलाई राहत दिन कृषि, वन तथा वातावरण मन्त्रालयले रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ । विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा किसानहरूलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था छ ।
_3dS8PpmBOZ.jpg)
- कुखुराको मासु खान हुन्छ ?
बर्ड फ्लु भाइरस जनस्वास्थ्यका दृष्टिकोणले संवेदनशील भए पनि यो भाइरस बढी तापक्रममा बाँच्न सक्दैन । त्यसैले उपभोक्ताहरूले सामान्य सचेतता अपनाएर कुखुराको मासु र अण्डा सुरक्षित रूपमा उपभोग गर्न सक्ने विज्ञ बताउँछन् । उनीहरूका अनुसार कुखुराको मासु वा अण्डा खाँदा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्ररी पकाएरमात्र खानुपर्छ र काँचो मासु छोएपछि हातलाई साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म राम्ररी धुनुपर्छ ।
नेपालमा बर्ड फ्लुको महामारी हरेक वर्ष दोहोरिने र अझ आक्रामक बन्दै जानुमा केवल प्राकृतिक कारणमात्र दोषी छैनन्, बरु हाम्रो कमजोर जैविक सुरक्षा प्रणाली र व्यावसायिक जिम्मेवारीप्रतिको उदासीनता पनि उत्तिकै जिम्मेवार छ । पशुपक्षीको स्वास्थ्य सुरक्षा केवल सरकारी निकायको मात्र दायित्व नभई उत्पादक किसान, उपभोक्ता र व्यवसायी सबैको साझा कर्तव्य भएकाले जैविक सुरक्षाका मापदण्डहरूको इमानदार पालना र समयमै सूचना आदानप्रदान गर्न आवश्यक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोज्तबा खामेनीको सार्वजनिक अनुपस्थितिको अर्थ के ?
-
गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग
-
गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
-
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको 'डिजिटल हब' उद्घाटन
-
सांसदहरूलाई गृहमन्त्रीकाे चेतावनी : गणेश नेपालीकाे घटनामा राजनीति नगर्नू
-
तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण