शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन

शुक्रबार, २६ असार २०८३, १२ : ५३
शुक्रबार, २६ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले पठाओ चालक गणेश नेपालीको आत्मदाह र सुकुमबासी व्यवस्थापनमा सरकारको शैलीप्रति असन्तुष्टि जनाएकी छन्।
  • सांसद दर्शनाले गणेश नेपालीको आत्मदाहको घटनालाई केवल उपचार खर्च बेहोर्ने कुरामा सीमित नराखी सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्ने बताएकी छन्।
  • उनले दैनिक निराशामा बाँचिरहेका लाखौँ युवाहरूको जीवन सहज हुने नीति सरकारबाट आउनुपर्ने र आधारभूत आवश्यकता पूरा हुनु नै मनको ठूलो सुरक्षा हुनेमा जोड दिएकी छन्।

काठमाडौँ । रोग, शोक र भोकमा बग्ने आँसु कहिल्यै झुटो नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले सरकारको कार्यशैली र सामाजिक- आर्थिक अवस्थामाथि गम्भीर प्रश्न उठाएकी छन्। 

पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटना र सुकुमबासी व्यवस्थापनमा सरकारले अपनाएको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

हिजो सुकुमबासी व्यवस्थापनको विषयमा सरकारले आफ्नो ‘१०० दिने कार्यसूची’ को बुँदा ९१ भन्दा अघि ९२ लाई अघि सारेको भन्दै उनले आलोचना गरेकी छन् । बच्चालाई दूध चुसाइरहेकी आमा, सुत्केरी र वृद्ध बुबाआमाहरूलाई पनि एकै किसिमको निर्मम व्यवहार नगरियोस् भनेर आफूले सदनमा पटक–पटक आवाज उठाएको र सम्बन्धित निकायमा निवेदन समेत गरेको उनले स्मरण गराएकी छन् । सुकुमबासीहरूलाई हटाउने क्रममा सरकारको तर्फबाट भएको यो काम पटक्कै ठिक ढङ्गले नभएको उनको ठहर छ।

पठाओ चालक गणेश नेपालीले गरेको आत्मदाहको विषयमा बोल्दै सांसद दर्शनाले यो घटना केवल उनको उपचार खर्च बेहोर्ने कुरामा मात्र सीमित रहन नहुने बताएकी छन्। गणेश नेपाली आफूलाई जलाउने विन्दुसम्म किन पुगे भन्ने कुराको गहिरो खोजी हुनुपर्ने र त्यो खोजीबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्ने उनको भनाइ छ। 

एक जना गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक रूपमा ‘मैले सकिन, मरौँ कि क्या हो’ भन्ने सोच आउने लाखौँ युवाहरूको लागि जीवन केही भए पनि सहज हुने नीति सरकारबाट आउनुपर्नेमा उनले जोड दिएकी छन्।

कतिपयले यस्तो अवस्थालाई कमजोर मनोबल मात्र भन्ने गरे पनि ‘मैले सकिन’ भन्ने आभास केवल कमजोर मनोबल मात्र नभएको उनी स्पष्ट पार्छिन्। यो त सामाजिक आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नु सम्म ठेलेपछि यथार्थबाट आएको परिस्थिति हो। 

त्यसैले केवल मनोपरामर्श मात्रै यो अवस्थाको समाधान हुन सक्दैन। जीवनमा आधारभूत आवश्यकता पूरा हुनु नै मनको सबैभन्दा ठूलो सुरक्षा हुने उनको बुझाइ छ।

सरकार गठन भएको १०० दिनमै आमूल परिवर्तन गर्न र लाखौँ रोजगारी एकैपटक सिर्जना गर्न नसकिने कुरा स्वीकार गर्दै उनले यसको जग निर्माणको अध्ययन र सुरुवात भने गर्न सकिने उल्लेख गरेकी छन्। त्यो काम अहिले भइरहेको भए पनि सबैलाई एकैपटक खुसी बनाउन सम्भव नहुने उनी बताउँछिन्। 

तर, समाजको सबैभन्दा पिँधमा रहेका श्रमजीवी र गरिबहरूको रोदन भने सजिलै रोक्न सकिने भन्दै उनले सरकारको ध्यान जाओस् भनी आग्रह गरेकी छन्। उनले आफ्नो यो भनाइ सामाजिक सञ्जालको रेकर्डमा पनि बसोस् भन्ने चाहना राखेकी छन्।

Capture111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप