शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा

शुक्रबार, २६ असार २०८३, १३ : ४६
शुक्रबार, २६ असार २०८३

सारांश

  • नेकपाले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
  • सांसद पार्वती विकले चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण गणेश नेपालीले आत्मदाहको बाटो रोजेको बताइन् ।
  • सांसद विकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहतको माग गरेकी छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको बताइन् । 

सांसद विकले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाहको बाटो रोजेको उल्लेख गरिन् ।

 ‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला ? यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ उनले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरेकै कारण यो ज्यान गएको छ।’

सांसद विकले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभएर राज्यको उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र विक्षिप्त परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । 

आफ्नो सम्बोधनका क्रममा सांसद विकले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनको भनाइ थियो। 

यस्तै, सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश र दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले विना अनुमति उडान भरेको विषयमा कूटनीतिक नोट पठाइयो कि पठाइएन भन्ने प्रश्न पनि उनले गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप