शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु

शुक्रबार, २६ असार २०८३, १४ : १९
शुक्रबार, २६ असार २०८३

सारांश

  • जर्मनीमा यस वर्ष हालसम्मको अवधिमा गर्मीको लहरसँग सम्बन्धित घटनामा ५ हजार १२० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
  • मृतकमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् र मर्नेमा पुरुषभन्दा महिला बढी रहेका छन् ।
  • युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ ।

बर्लिन । जर्मनीमा यस वर्ष हालसम्मको अवधिमा गर्मीको लहरसँग सम्बन्धित घटनामा ५ हजार १२० जनाको मृत्यु भएको अनुमान गरिएको छ । जर्मनीको सार्वजनिक स्वास्थ्य संस्था रोबर्ट कोख इन्स्टिच्युटले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा यस्तो जानकारी दिएको हो । 

प्रतिवेदनअनुसार अधिकांश मृत्यु जुन महिनाको अन्तिम सातातिर भएको थियो । त्यतिबेला साप्ताहिक औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा निकै माथि पुगेको थियो । मृतकमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । मर्नेमा पुरुषभन्दा महिला बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

अत्यधिक वृद्ध उमेर समूहमा महिलाको सङ्ख्या बढी भएकोले समग्रमा मर्नेमा महिलाको सङ्ख्या धेरै भएको बताइएको छ । जर्मनीका तथ्याङ्कले युरोपभर फैलिएको भीषण गर्मीको अवस्थालाई थप गम्भीर बनाएको छ ।

युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ । उक्त अवधिमा औसत तापक्रम २० दशमलव ७४ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्यान्ड्सका राष्ट्रिय निकायहरूले जुन २० देखि २८ सम्मको गर्मीको लहरका क्रममा ४ हजार ७०० भन्दा बढी अतिरिक्त मृत्यु भएको जानकारी दिएका छन् । रोबर्ट कोख इन्स्टिच्युटका अनुसार पछिल्लो एक दशकमा जर्मनीमा गर्मीका कारण सबैभन्दा बढी मृत्यु सन् २०१८ र २०१९ मा भएको थियो ।

सन् २०१८ मा करिब ८ हजार ४०० र सन् २०१९ मा करिब ६ हजार ९०० जनाको ज्यान गर्मीसँग सम्बन्धित कारणले गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप