इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
सारांश
- इचङ्गुनारायणस्थित अपार्टमेन्टमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई असार १९ पछि होल्डिङ सेन्टर खाली गर्न सूचना दिइएको छ।
- अपार्टमेन्टमा रहेका सुकुमबासीहरूले पाँच दिनदेखि खाना र पानी नपाएको गुनासो गरेका छन्।
- राज्यले स्थायी विकल्प दिनुको सट्टा अपार्टमेन्ट खाली गर्न दबाब दिँदैछ।
काठमाडौँ । सुकुमबासीहरू राख्नकै लागि भनेर प्रचार गरिएको काठमाडौँको नागार्जुन नगरपालिका–१, इचङ्गुनारायणस्थित अपार्टमेन्टको गेटमा गोरखापत्र दैनिकमा छापिएको सूचना टाँसिएको छ । सुकुमबासी राखिएका होल्डिङ सेन्टर र होटेलहरूमा टाँसिएका सूचनाको सार एउटै छ– असार १९ पछि होल्डिङ सेन्टर खाली गर्नू ।
कडा निगरानी र पहरा दिइएको इचङ्गुनारायणस्थित अपार्टमेन्टभित्र कसैलाई छिर्न दिइएको छैन । प्रहरी र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बाहेक अरु कसैले यहाँ प्रवेश गर्न पाउँदैनन् ।
इचङ्गुनारायणस्थित अपार्टमेन्टमा आश्रय लिइरहेका सुकुमबासीहरूले पानी र खाना नपाएको आज ६ दिन भइसक्यो । अपार्टमेन्टको साँघुरो कोठाभित्र बसेकी एउटा आँखा गुमाएकी विमला बर्देवाको ०७२ मा दुवै मिर्गौलाले काम गर्दैनन् । उनको ओछ्यानभरि औषधि छरिएको देखिन्थ्यो । राम्ररी हिँड्न नसक्ने उनी कहिलेकाहीँ त कैयौँ दिन ओछ्यानमा ढल्छिन् । सुगर, प्रेसर र मुटुको रोगी उनी रोएरै रात काट्छिन् ।
सिनामङ्गलको सुकुमबासी बस्तीमा वर्षौंदेखि बस्दै आएकी उनी त्यहाँ डोजर चलेपछि एक्लो र निरीह बनेकी हुन् । उनका छोरा र बुहारीले अन्तै कोठा लिएर बसे भने उनलाई बालाजुको होटलमा लगेर राखियो । चौबिस घन्टासम्म आफ्नै छोरी रविनासँग उनी सम्पर्कविहीन बन्न पुगिन् । रविना भत्किएको सिनामङ्गलको टहरा बाहिर सामान रुँगेर बसिन् । यता बालाजुको होटलमा आमा छट्पटिएर बसिन् । १२ दिन होटलमा राखिएपछि बल्ल इचङ्गुनारायणस्थित अपार्टमेन्टमा उनलाई राखियो ।
_l2ZlALrzZt.jpg)
रोगले थला परेकी विमलालाई अब त शान्तिको स्वास फेर्न पाइएला जस्तो लागेको थियो । सरकारले अपार्टमेन्टको गेटमा सूचना टाँसेपछि फेरि तनाब बढ्न थाल्यो । ‘हामीलाई पाँच दिनदेखि खाना र पानी दिइएको छैन,’ आमाको रेखदेखमा बसेकी रविना भन्छिन्, ‘यस्तो त शत्रुलाई पनि व्यवहार गरिँदैन । के हामी मानिस होइन र ?’
सिनामंगलको घरमा डोजर चल्नु अगाडि उनी क्याटरिङमा काम गरेर गुजारा चलाउँथिन् । अहिले रोगी आमाको स्याहारसुसारमा खटिनु परेपछि न रोजगारी छ, न फुर्सद । उनीजस्तै चैनले निदाउन नपाउनेहरूको सङ्ख्या ठुलो छ ।
इचङ्गुनारायणस्थित अपार्टमेन्टमा राखिएका सुकुमबासीहरूलाई रेडक्रसले बेड र तन्ना उपलब्ध गराएको थियो । अन्य संस्थाको सहयोगमा ब्लाङ्केट, भाँडाकुँडा उपलब्ध गराइएको थियो । बाँकी आवश्यक सरसामान आफैँले व्यवस्था गर्नु परेको पूजा खत्रीले बताइन् । ‘हाम्रो त सिरक, डसना पानीले पूरै भिजेको थियो । सामानहरू डोजरले हानेर कच्याककुचुक भइसकेका थिए,’ पूजाले भनिन्, ‘७९ वर्षीय आमा मुटुको बिरामी हुनुहुन्छ, बाहिर कोठा खोज्न जाँदा पाइएको छैन ।’
वैशाख १२ मा बागमती र विष्णुमती किनारका सुकुमबासी बस्तीहरूमा राज्यले डोजर चलाएपछि सुकुमबासीहरू घरबारविहीन बने । इचङ्गुनारायणस्थित अपार्टमेन्टमा झन्डै ४४ परिवारलाई आश्रय दिइएको थियो ।
असार १९ गतेभित्र अपार्टमेन्टमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई सो स्थान खाली गर्न सूचना जारी गरेपछि २४ परिवार पलायन भइसकेका छन् । बिरामी, अशक्त, अपाङ्गता भएका र बालबालिकाहरू अपार्टमेन्टमा आश्रय लिइरहेका छन् ।
_PmvVIUKZ1n.jpg)
सुकुमबासीहरूकै लागि भनेर प्रचार गरिएको इचङ्गुनारायणको यो अपार्टमेन्टमा सुकुमबासीहरूलाई हटाउन थालिएपछि उनीहरूले असुरक्षित र अनागरिक भएको महसुस गरिरहेका छन् । सिनामंगलको गैरीगाउँबाट उठाइएकी ६५ वर्षीय सन्तोषी सुनारको अनुहारमा निराशा स्पष्ट झल्किन्थ्यो । एकल महिला सन्तोषीले टहरामा मजदुरी गरेर जीवन गुजारा गर्दै आएकी थिइन् । अपार्टमेन्टमा उनीसँग अहिले न त ओछ्याउने गतिलो ओछ्यान छ, न त खाने अन्न । ‘हामी पनि मान्छे हौँ नि, कसरी बाँच्नु ?’ उनको प्रश्नमा निरासा थियो ।
सन्तोषीका अनुसार सुरुमा होटलमा राखेर खुवाएका थिए । जब अपार्टमेन्टमा ल्याइयो, बिस्तारै सबै सुविधा खोसियो । ‘अहिले पाँच दिन भयो, भान्सामा चुलो बलेको छैन । पानी बन्द गरियो । फिल्टर बिग्रिएपछि ट्याङ्कर आउन पनि बन्द भयो,’ उनले आफ्नो पीडा सुनाइन् ।
सरकारले राहतस्वरुप बैंक खातामा पैसा हालिदिएको दाबी गरे पनि सन्तोषी त्यो पैसा गुजाराका लागि पर्याप्त नभएको गुनासो गरिन् । महँगो सहरमा एउटा कोठा पाउनै मुस्किल, पाइहाले पनि १५–२० हजार रुपैयाँ एउटै कोठाका लागि तिर्नुपर्ने बाध्यता भएको उनले गुनासो गरिन् । उनले भनिन्, ‘हामी जस्ता गरिबहरूले कहाँबाट ल्याएर तिर्नु ?’
इचङ्गु अपार्टमेन्टमा आश्रय लिइरहेका विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । राज्यले स्थायी विकल्प दिनुको साटो उल्टै कतिलाई ‘वृद्धआश्रममा राखिदिन्छौँ’ भन्दै धम्की आइरहेको पीडितहरूको गुनासो छ । बिहीबार रातोपाटीले कुरा गरेका सुकुमबासीहरूले आफूलाई राज्यले अपराधीजस्तै व्यवहार गरिरहेको दुखेसो पोखे ।
सडकबाट उठाएर ल्याएका सुकुमबासीहरू फेरि बिचल्लीमा पर्ने जोखिम छ । इचङ्गु अपार्टमेन्टलाई अनाथाश्रम, वृद्धाआश्रम बनाउने भन्दै खाली गर्न दबाब दिइएको उनीहरूको गुनासो छ । उनीहरू मानसिक तनावमा छन् ।
सरकारले सुकुमबासीको खातामा प्रतिपरिवार २५ हजार रुपैयाँ पठाए पनि त्यो पैसाले केही दिनको छाक टार्न बाहेक केही नहुने गोपाल सुनारले बताए ।
इचङ्गुनारायणको यो अपार्टमेन्टमा बस्नेहरूमध्ये अधिकांश दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू छन् । नियमित आम्दानी नहुँदा घर खर्च, औषधि किन्न पैसाको अभाव भएको धेरैको दुखेसो छ । होल्डिङ सेन्टरबाट सुकुमबासीलाई निकालेर राज्यले कसरी व्यवस्थापन गर्न खोजेको हो ? यसको जबाफ जिम्मेवार निकायमा बसेकाहरूले दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण