शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा

शुक्रबार, २६ असार २०८३, २० : १५
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । गृह मन्त्रालयले विपद् व्यवस्थापन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विपद् कल सेन्टरको टोल फ्री नम्बर परिवर्तन गरेको छ । 

यसअघि सञ्चालनमा रहेको ‘११४९’ नम्बरलाई परिवर्तन गरी आपत्कालीन अवस्थामा सम्झन सजिलो हुने नयाँ नम्बर ‘१२३४’ सञ्चालनमा ल्याइएको मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । सो नम्बर असार २६ गतेबाट देशभर सञ्चालनमा आउने छ । 

नयाँ नम्बरमा फोन गर्दा फोन गर्ने व्यक्तिकै सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सिधै कल जाने र कल राउटिङ हुने प्राविधिक व्यवस्था गरिएको छ । 

यसअघिको नम्बरमा फोन गर्दा केन्द्रीय स्तरबाट मात्र सम्बोधन हुने गरेको थियो । विपद्जस्तो संवेदनशील अवस्थामा नागरिकले गर्ने फोनको सम्बोधन जिल्लास्तरबाटै हुनुपर्ने आवश्यकता महसुस गरेर नयाँ व्यवस्था लागु गरिएको सहसचिव काफ्लेले जानकारी दिए ।

नयाँ व्यवस्थाअनुसार उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुर बाट ‘१२३४’ मा फोन गर्दा उक्त कल सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा मा उठ्नेछ । बाँकी ७४ वटै जिल्लाको हकमा भने सम्बन्धित जिल्लाकै आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट सीधै गुनासो र समस्याको सम्बोधन हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ लागू गर्ने निर्णयबमोजिम सबै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर स्थापना गरिएको काफ्लेले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप