सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा

सोमबार, २९ असार २०८३, १० : ०१
सोमबार, २९ असार २०८३

सारांश

  • नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारी तीव्र पारिएको छ।
  • अछामका अनुभवी प्रशिक्षक नृपबहादुर विक काठमाडौँ रेड्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
  • एनभीएलका लागि सहभागी सबै ६ फ्रेन्चाइज टोलीले मुख्य प्रशिक्षक नियुक्त गरिसकेका छन्।

धनगढी । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारीले तीव्रता पाएको छ। 

प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजकले सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

यस क्रममा सुदूरपश्चिम प्रदेशको अछामका अनुभवी प्रशिक्षक नृपबहादुर विक काठमाडौँ रेड्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। लामो समयदेखि नेपाली भलिबलमा खेलाडी तथा प्रशिक्षकका रूपमा सक्रिय विकले आफ्नो खेल अनुभव र प्रशिक्षण क्षमताका कारण राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाएका छन्।

एनभीएलको पहिलो संस्करणका लागि सहभागी सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो मुख्य प्रशिक्षकको टुङ्गो लगाएका छन्। सगरमाथा शमशेरले उत्सव खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ भने मधेस वारियर्सको नेतृत्व भारत यादवले गर्नेछन्।

यस्तै अन्नपूर्ण स्पाइकर किंग्सको मुख्य प्रशिक्षकमा रमेश के.सी., कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्किन्सको मुख्य प्रशिक्षकमा रुपेश कुमार विष्ट नियुक्त भएका छन्। मुख्य प्रशिक्षकहरूको नियुक्तिसँगै सबै टोलीले पहिलो संस्करणको तयारीलाई तीव्र बनाएका छन्।

अब प्रतियोगिताअघि प्लेयर ड्राफ्टमार्फत खेलाडी छनोट प्रक्रिया अघि बढाइनेछ भने त्यसपछि टोलीहरूले औपचारिक प्रशिक्षण सुरु गर्ने आयोजकले जनाएको छ। एनभीएलको पहिलो संस्करणअन्तर्गत पुरुष भलिबल प्रतियोगिता आगामी केही समयभित्र आयोजना गर्ने तयारी भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप