यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
सारांश
- दही, प्रोबायोटिक्स र प्रीबायोटिक्सयुक्त खाद्य पदार्थले आन्द्राको स्वास्थ्य सुधार गरी कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्न सक्ने एक नयाँ अध्ययनले संकेत गरेको छ।
- यो अनुसन्धानमा ५० वर्ष वा सोभन्दा माथिका ९ हजार ४०५ जना सहभागीहरूको तथ्यांक विश्लेषण गरिएको थियो, जसले प्रोबायोटिक्स, प्रीबायोटिक्स वा दही नियमित सेवन गर्ने व्यक्तिहरूमा कोलोरेक्टल क्यान्सरको सम्भावना करिब ५० प्रतिशतसम्म कम देखिएको जनाएको छ।
- यद्यपि, यो अध्ययनले सम्बन्ध मात्र देखाएको र दही वा प्रोबायोटिक्सले प्रत्यक्ष रूपमा क्यान्सर रोक्छन् भन्ने कुरा प्रमाणित नगरेको स्पष्ट पारिएको छ।
काठमाडौं । दैनिक खानपानले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने कुरा सबैलाई थाहा छ। हालै सार्वजनिक भएको एक नयाँ अध्ययनले दही, प्रोबायोटिक्स र प्रीबायोटिक्सयुक्त खाद्य पदार्थले आन्द्राको स्वास्थ्य सुधार्न सहयोग गर्ने र कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्न सक्ने संकेत गरेको छ।
विशेषज्ञहरूका अनुसार दही स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। यसमा रहेका प्रोबायोटिक्सले आन्द्रामा रहेका उपयोगी ब्याक्टेरियाको संख्या बढाउँछन् भने प्रीबायोटिक्स ले ती ब्याक्टेरियालाई आवश्यक पोषण प्रदान गर्छन्। यी दुवैले पाचन प्रणाली सुधार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्छन्।
कसरी गरियो अध्ययन ?
यो अनुसन्धान चाङ शान मेडिकल युनिभर्सिटी अस्पतालको अनुसन्धान कार्यक्रमको सहयोगमा गरिएको हो। अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई समेटिएको थियो। अनुसन्धानकर्ताहरूले अमेरिकाको नेसनल हेल्थ एन्ड न्युट्रिसन एग्जामिनेसन सर्वेका सन् २००१ देखि २०२० सम्मका तथ्यांक विश्लेषण गरेका थिए। अध्ययनमा ९ हजार ४०५ जना सहभागी थिए, जसले अमेरिकाका करिब ३ करोड ७० लाख वयस्क जनसंख्याको प्रतिनिधित्व गर्ने जनाइएको छ।
अध्ययनका क्रममा सहभागीहरूको खानपान, सप्लिमेन्ट सेवन गर्ने बानी तथा कोलोरेक्टल क्यान्सरको इतिहासको विश्लेषण गरिएको थियो। नतिजा थप विश्वसनीय बनोस् भनेर उमेर, लिङ्ग, धूम्रपान, तौल, शारीरिक अवस्था, अन्य खानपानका बानी र स्वास्थ्यसम्बन्धी विभिन्न पक्षलाई पनि समावेश गरिएको थियो ।
अनुसन्धानले प्रोबायोटिक्स, प्रीबायोटिक्स वा दही नियमित सेवन गर्ने व्यक्तिमा कोलोरेक्टल क्यान्सरको सम्भावना करिब ५० प्रतिशतसम्म कम देखिएको जनाएको छ।अनुसन्धानकर्ताहरूका अनुसार यसको सम्भावित कारण आन्द्राभित्र रहेका माइक्रोबायोटा अर्थात् उपयोगी र हानिकारक ब्याक्टेरियाबीचको सन्तुलनमा यी खाद्य पदार्थले सकारात्मक प्रभाव पार्नु हुन सक्छ।
के हुन् प्रोबायोटिक्स र प्रीबायोटिक्स ?
प्रोबायोटिक्स जीवित सूक्ष्मजीव हुन्, जसले शरीरमा रहेका उपयोगी ब्याक्टेरियाको वृद्धि गर्न मद्दत गर्छन्। प्रीबायोटिक्स भने यस्ता फाइबर हुन्, जसले ती उपयोगी ब्याक्टेरियाका लागि पोषणको काम गर्छन्। दहीजस्ता फर्मेन्टेड खाद्य पदार्थ मा यी तत्व पाइने भएकाले तिनलाई पाचन प्रणालीका लागि लाभदायक मानिन्छ।
अनुसन्धानकर्ताहरूले यो अध्ययनले सम्बन्ध मात्र देखाएको, दही वा प्रोबायोटिक्सले प्रत्यक्ष रूपमा क्यान्सर रोक्छन् भन्ने कुरा प्रमाणित नगरेको स्पष्ट पारेका छन्। यो अध्ययन विगतका तथ्यांकमा आधारित भएकाले लामो समयसम्म मानिसहरूको स्वास्थ्य अवस्थालाई पछ्याएर गरिने थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।
अध्ययनले सन्तुलित आहार र आन्द्राको राम्रो स्वास्थ्य क्यान्सरबाट बच्ने रणनीतिको महत्त्वपूर्ण हिस्सा हुन सक्ने संकेत गरेको छ। विशेषज्ञहरूका अनुसार दैनिक भोजनमा दही, फाइबरयुक्त खाद्य पदार्थ र आन्द्राको स्वास्थ्यलाई सहयोग गर्ने अन्य पोषक तत्व समावेश गर्दा समग्र स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। तर क्यान्सरको जोखिम कम गर्न यसलाई एकमात्र उपायका रूपमा लिनु उचित हुँदैन। नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र चिकित्सकको सल्लाह पनि उत्तिकै आवश्यक हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला क्लबका महँगा खेलाडी, कतिको मूल्यवान् रह्यो तिनको विश्वकपमा प्रदर्शन ?
-
सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्ड
-
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
-
बहुमूल्य वस्तु भन्दै टल्किने ढुङ्गा देखाएर ठगी गर्ने छ जना पक्राउ
-
पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण