सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी आक्रमणको दायरा विस्तार, इरानको भित्री क्षेत्रमा पनि बमबारी तीव्र

सोमबार, २९ असार २०८३, १६ : ३८
सोमबार, २९ असार २०८३

सारांश

  • अमेरिकाले इरानमाथि गरिरहेको सैन्य आक्रमण पछिल्ला दिनमा तीव्र बन्दै गएको छ ।
  • सुरुवाती चरणमा तटीय क्षेत्रमा केन्द्रित आक्रमणहरू अहिले इरानको भित्री भूभागसम्म फैलिन थालेका छन् ।
  • मध्य इरानको नाइनस्थित सैन्य केन्द्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

तेहरान । इरानमाथि अमेरिकाले गरिरहेको सैन्य आक्रमण पछिल्ला दिनमा थप तीव्र बन्दै गएको छ ।

सुरुआती चरणमा मुख्यतः स्ट्रेट अफ होर्मुज आसपासका तटीय क्षेत्रमा केन्द्रित रहेका अमेरिकी आक्रमणहरू अहिले इरानको भित्री भूभागसम्म फैलिन थालेका छन् । इरानी सञ्चारमाध्यमहरूले विभिन्न स्थानमा लगातार विस्फोट भएको समाचार सार्वजनिक गरेपछि आक्रमणको तीव्रता र दायरा दुवै बढेको संकेत मिलेको छ ।

पछिल्लो रात अधिकांश अमेरिकी बमबारी इरानको दक्षिणी तटीय क्षेत्रमा केन्द्रित भए पनि मध्य इरानको नाइनस्थित एउटा सैन्य केन्द्र पनि आक्रमणको निशानामा परेको थियो । सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सीका अनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घटनाको पुष्टि नाइन प्रान्तका सहायक गभर्नरले गरेका छन् ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार पछिल्ला केही दिनयता आक्रमणको संख्या पनि लगातार बढिरहेको छ । शनिबार राति मात्र अमेरिकाले इरानका १४० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यसअघि बुधबार राति ९० र मंगलबार राति ८० लक्ष्यमा आक्रमण गरिएको थियो । आइतबार रातिको आक्रमणबारे भने केन्द्रीय कमान्डले ठ्याक्कै संख्या नखुलाई विभिन्न स्थानमा दर्जनौँ लक्ष्यमा प्रहार गरिएको मात्र जनाएको छ ।

यसपटकको आक्रमणमा कम्तीमा एउटा नागरिक पूर्वाधार प्रभावित भएको इरानले जनाएको छ । दक्षिणी तटीय क्षेत्र महशहर काउन्टीस्थित पानी पम्पिङ केन्द्रमा भएको आक्रमणमा एक जना सुरक्षा गार्डको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङले जनाएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले पुष्टि गरेको भिडियोमा दक्षिणपश्चिमी सहर ओमिदियेहस्थित विमानस्थलको एक विमान ह्याङ्गरमा आगलागी भएको देखिएको छ । त्यस्तै सिरिक काउन्टीको ताहेरोयी गाउँनजिक रहेको दूरसञ्चार टावर पनि अमेरिकी आक्रमणको निशानामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । पछिल्ला घटनाक्रमले अमेरिका र इरानबीच यसअघि भएको युद्धविराम पूर्ण रूपमा निष्प्रभावी भएको संकेत गरेका छन् । तेहरानले अमेरिकी आक्रमणको जवाफस्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि आफ्ना आक्रमण जारी राखेको जनाएको छ ।

यद्यपि केही सुरक्षा विश्लेषकहरूले अहिलेको अवस्था पूर्ण युद्धभन्दा पनि सीमित सैन्य टकरावकै रूपमा रहेको बताएका छन् । अमेरिकी वायुसेनाका पूर्व कर्नेल सेड्रिक लेइटनका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध लगातार आक्रमण र प्रतिआक्रमण गरिरहेका छन्, तर हालसम्म दुवैले युद्धलाई पूर्ण रूपमा नियन्त्रणबाहिर जान नदिने रणनीति अपनाएको देखिन्छ । उनका अनुसार अहिलेको अवस्था निरन्तर प्रहार र प्रतिप्रहारको श्रृंखलाजस्तै हो, जसले तनाव कायम राखेको छ तर तत्काल पूर्ण क्षेत्रीय युद्धमा परिणत हुने अवस्था भने अझै देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप