मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोक

सोमबार, २९ असार २०८३, १६ : ५६
सोमबार, २९ असार २०८३

सारांश

  • निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–काठमाडौं सडक र कान्ति लोकपथमा सवारी आवागमन रोकिएको छ।
  • यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्को सूचना जारी नभएसम्म यी सडकखण्डहरू बन्द गरेको हो।
  • मौसम विज्ञान विभागका अनुसार मकवानपुरगढीमा पछिल्लो २४ घण्टामा ११९.४ मिलिमिटर वर्षा भएको छ।

हेटौँडा । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोकिएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी–काठमाडौं सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै ती दुई मुख्य सडकखण्डमा सवारी साधन सञ्चालन रोकिएको जनाएको छ। वर्षाका कारण विभिन्न सडक अवरुद्ध भई सडक यातायात प्रभावित भएको र उच्च जोखिमको अवस्था सिर्जना भएकाले आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

उनका अनुसार यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गरिएको हो। हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक (कान्ति लोकपथ) अर्को सूचना नभएसम्म बन्द गरिएको छ। उक्त सडक प्रयोग गर्ने सवारी साधनलाई मकवानपुरको चौघडामा होल्ड गरिनेछ। असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको उनले बताए।

त्यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा चल्ने सवारी साधनलाई हेटौँडाको चौकीटोलमा होल्ड गरिनेछ। यस सडकमा सोमबार साँझ ५ बजेदेखि असार ३० गते मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको अधिकारीले जानकारी दिए।

उनले यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समय र स्थानभन्दा अगाडि सवारी साधन नलैजान तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्।

मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरगढीमा ११९.४ मिलिमिटर वर्षा भएको छ। वर्षा भए पनि हालसम्म मकवानपुरमा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप