सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
सारांश
- सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनाको दोस्रो खण्ड (साँगा-धुलिखेल) को ७३ प्रतिशत भौतिक प्रगति भएको छ भने पहिलो खण्ड (सूर्यविनायक-साँगा) को ५९ प्रतिशत प्रगति छ ।
- साँगामा नेपाली प्रविधि र जनशक्तिबाट बनेको पहिलो अन्डरपास निर्माण भएको छ, जसको मुख्य संरचना र पहुँच सडक निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।
- आयोजना निर्माणमा ढिलाइ हुनुमा आर्थिक, प्राविधिक कारण, साइट क्लियर नहुनु, बजेट अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिटुमिनको अभाव जिम्मेवार छन् ।
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । कुल १५.८ किलोमिटर लम्बाइ रहेको यस सडकको दोस्रो खण्ड (साँगा–धुलिखेल) को भौतिक प्रगति ७३ प्रतिशत र पहिलो खण्ड (सूर्यविनायक–साँगा) को प्रगति ५९ प्रतिशत पुगेको छ ।
आयोजना प्रमुख विजय महतोका अनुसार प्रतिकूल मौसम, स्थानीय अवरोध र निर्माण सामग्रीको अभावका बाबजुद सडक विस्तारको कामलाई गति दिने प्रयास भइरहेको छ ।
‘वर्षाको समयमा पनि काम सुचारु राख्न हामीले भुक्तानी प्रक्रियालाई छिटो छरितो बनाएका छौँ । असार २५ गतेमा खातापाता क्लोजिङ गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले गर्दा अहिलेसम्म कन्ट्याक्टरले सम्पन्न गरेको कामको असार २५ गतेभित्रै हामीले भुक्तानी गरिसकेका छौँ । २५ गतेपछि पनि कन्ट्याक्टरले काम गरिरहेका छन्, जसको भुक्तानी प्रक्रिया पूरा गरी गर्छौँ । यो अत्यन्तै संवेदनशील र राष्ट्रिय प्राथमिकता प्राप्त राजमार्ग भएकाले सरकारले पनि हामीलाई काम नरोक्नुस्, कन्टिन्यु गर्नुस् भनेर स्पष्ट निर्देशन दिएको छ । सोही अनुसार हामी समन्वय गरिरहेका छौँ ।’
स्वदेशी जनशक्ति र प्रविधिबाट बनेको पहिलो अन्डरपास
साँगामा निर्माण गरिएको अन्डरपास नेपालकै दोस्रो अन्डरपास हो । यसअघि कोटेश्वर–कलंकी सडक खण्डको कलंकी अन्डरपास चिनियाँ प्रविधि र जनशक्तिबाट निर्माण गरिएको थियो भने साँगाको अन्डरपास नेपाली इन्जिनियरहरूको डिजाइन, नेपाली कन्ट्याक्टरको संलग्नता र सडक विभागकै प्रत्यक्ष सुपरभिजनमा निर्माण भएकाले स्वदेशी जनशक्ति र प्रविधिबाट बनेको पहिलो अन्डरपास हो ।
यसबाट हाल सवारी सञ्चालनमा छ । आयोजना प्रमुख महतोले भने, ‘एक लेयर कालोपत्रे गरेर सवारी साधन चलाउन छोडेका छौँ । यो अन्डरपासमा नेपाली डिजाइनर छन्, नेपाली कन्ट्याक्टर छन् र सुपरभिजन पनि सडक विभाग आफैँले गरिरहेको छ । नेपाली प्रविधि, नेपाली जनशक्ति र नेपाली सुपरभिजनबाटै बनेको यो देशकै पहिलो गौरवमय अन्डरपास हो ।’

यो अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ । अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ । यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहेको छ । साथै अन्डरपासभित्र २० मिटरको पुल पनि निर्माण गरिएको छ ।
हाल साँगा अन्डरपासको पहिलो लेयर कालोपत्र सम्पन्न भई सवारी साधन सञ्चालनका लागि खुला गरिएको छ । साँगा अन्डरपासको मुख्य संरचना र पहुँच सडक निर्माण करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।
अन्डरपासको माथिल्लो खण्डको करिब ८ सयदेखि ९ सय मिटर क्षेत्रमा हिल कटिङ (भित्तो काट्ने) र पहिरो नियन्त्रणको काम गर्नुपर्ने भएकाले हाललाई तलकै लेनबाट दुवैतर्फका गाडी आवतजावत गरिरहेका छन् । भित्तो काट्ने, पर्खाल लगाउने र जैविक इन्जिनियरिङ (बायो इन्जिनियरिङ) को काम वर्षा सकिएलगत्तै तीव्र रूपमा अघि बढाइने र यसका लागि करिब ३ महिना लाग्ने आयोजना प्रमुख महतोले जानकारी दिए ।
साढे ५ किलोमिटर सडक कालोपत्र सम्पन्न
आयोजनाका अनुसार हालसम्म साँगादेखि धुलिखेल खण्डको बिचमा झन्डै साढे ५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । जसमा ३.२ किलोमिटर क्षेत्रमा ६ लेन (सिक्स लेन) मै र २.८ किलोमिटरमा दुई लेन कालोपत्रे गरिएको छ । यस्तै, सूर्यविनायकदेखि जगातीसम्मको १.५ किलोमिटर खण्डमा ४ लेन कालोपत्रे र साँगा अन्डरपास क्षेत्रमा १ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
वर्षाको समयमा गरिएको कालोपत्रे टिकाउ नहुने भएकाले हाललाई पिच गर्ने काम भने केही समयका लागि रोकिएको छ । वर्षा सिजन सकिएलगत्तै पुनः कालोपत्रे गरिने आयोजनाले जनाएको छ । हाल कालोपत्रेबाहेकका अन्य काम भइरहेको छ ।
पुण्यमाता खोला पुलको विवाद समाधान, काम सक्न म्याद थप्नुपर्ने
आयोजनाअन्तर्गत जगाती, महादेव खोला र बनेपाको पुण्यमाता खोलामा गरी ३ वटा पुल निर्माण भइरहेका छन्, जसको समग्र भौतिक प्रगति हालसम्म १० प्रतिशत मात्रै छ ।
बनेपाको पुण्यमाता खोलामा हरेक वर्ष आउने बाढीका कारण पुल डुबानमा पर्ने समस्या थियो । सो समस्या समाधानका लागि पहिलेभन्दा साढे ३ मिटर उचाइ बढाएर नयाँ डिजाइन प्रस्ताव गर्दा बजार क्षेत्रमा सडकको उचाइ धेरै बढ्ने भन्दै स्थानीय बासिन्दाले करिब साढे २ वर्षसम्म काम रोकेका थिए । हाल स्थानीयको माग सम्बोधन गर्दै अन्डरपास थपेर र पुलको उचाइ केही घटाएर डिजाइन स्वीकृत गरी काम सुरु गरिएको छ ।
गत वैशाखमा आएको बाढीले पुलको जग खन्ने क्रममा क्षति पुर्याएका कारण काम केही प्रभावित भएको थियो । पुल निर्माणको म्याद आगामी कात्तिक मसान्तसम्म रहे पनि सो अवधिभित्र काम नसकिने भएकाले म्याद थप गर्नुपर्ने आयोजनाले जनाएको छ ।
किन ढिला भयो ?
यो आयोजना निर्माणमा ढिलाइ हुनुमा आर्थिक र प्राविधिक दुवै कारण रहेको आयोजनाले जनाएको छ । सुरुमा विद्युत्का पोल, घरटहरा सार्नेलगायत साइट क्लियर समयमा नहुँदा ढिलाइ भएको थियो । यसबिच बजेट अभावका कारण पनि लक्ष्यअनुरुप प्रगति हुन नसकेको अयोजनाको भनाइ छ ।
चालु वर्षमा भने अन्तर्राष्ट्रिय बजारमा देखिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिटुमिन (अलकत्रा) को अभावका कारण काम केही समय प्रभावित बनेको थियो । पश्चिम एशियाको युद्धका कारण सिर्जना भएको यो असहजताले गर्दा काममा करिब २ महिना ढिलाइ भएको आयोजना प्रमुख महतोले बताए । उक्त समस्या नआएको भए असार मसान्तभित्रै दुवै खण्डमा पहिलो लेयरको कालोपत्रे पूर्ण रूपमा सक्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

आयोजना प्रमुख महतोले भने, ‘मध्यपूर्वको युद्धका कारण काममा करिब २ महिना ढिलाइ भयो, नत्र असार मसान्तभित्रै दुवै खण्डमा पहिलो लेयर कालोपत्रेको काम पूर्ण रूपमा सकिने निश्चित थियो, बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले हाम्रो काममा असर परेकै हो । सुरुमा कन्ट्याक्टरहरूले घाटा लाग्ने भन्दै काम गर्नै चाहेका थिएनन् । तर हामीले यो सडकको महत्त्व बुझाएर, उनीहरूलाई नियमअनुसार पाउनुपर्ने मूल्य समायोजनको दाबी पेस गर्न भनेर आश्वस्त तुल्यायौँ । त्यसपछि महँगो भए पनि बिटुमिन ल्याएर काम सुचारु गरियो ।’
२०७९ पुस २४ गते सुरु भएको पहिलो खण्ड (सूर्यविनायक–साँगा) खण्डको २०८३ फागुन २९ गतेसम्म म्याद थप गरिएको छ । यो पहिलो खण्ड आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले निर्माण गरिरहेको छ ।
यस्तै लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको दोस्रो खण्ड (साँगा–धुलिखेल)को म्याद आगामी मंसिर२३ गतेसम्म रहेको छ । पहिलो खण्डमा विद्युतका पोल सार्ने, घर भत्काउने र जग्गा प्राप्तिमा केही स्थानीय अवरोध भए पनि हाल ती समस्या लगभग समाधान भइसकेका छन् ।

आगामी आर्थिक वर्षका लागि आयोजनालाई करिब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुरुवाती विनियोजन न्यून देखिए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेकाले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण