मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु

मङ्गलबार, ३० असार २०८३, ०९ : २७
मङ्गलबार, ३० असार २०८३

सारांश

  • मेन राज्यमा आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को कारबाहीका क्रममा एक कोलम्बियाली नागरिकको गोली लागेर मृत्यु भएको छ।
  • सवारीसाधन भाग्न खोजेको र सार्वजनिक सुरक्षामा खतरा देखिएकाले एक अधिकारीले गोली चलाएको र चालकको घटनास्थलमै मृत्यु भएको आईसीईले जनाएको छ।
  • घटनाको अनुसन्धान अमेरिकी गृह सुरक्षा मन्त्रालयअन्तर्गतको महानिरीक्षक कार्यालयले गरिरहेको छ र मृतक कोलम्बियाली नागरिक भएको पुष्टि भएको छ।

वाशिङट्न डीसी । अमेरिकाको मेन राज्यमा आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को कारबाहीका क्रममा एक कोलम्बियाली नागरिकको गोली लागेर मृत्यु भएको छ। टेक्सासमा गएको साता अर्को आप्रवासीमाथि घातक बल प्रयोग भएको घटनाको एक सातापछि यो घटना भएको हो।

आईसीईका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार करिब ७ बजे मेन राज्यको बिड्डेफोर्डस्थित एक ठेगानामा अन्तिम निष्कासन आदेश जारी भएका व्यक्तिलाई निगरानी गरिरहेको थियो। सोही ठेगानाबाट एउटा सवारीसाधन बाहिरिएपछि एजेन्टहरूले रोक्ने प्रयास गरेका थिए।

सवारीसाधन भाग्न खोजेको र सार्वजनिक सुरक्षामा खतरा देखिएकाले एक अधिकारीले गोली चलाएको आईसीईको भनाइ छ । गोली लागेका चालकको घटनास्थलमै मृत्यु भएको थियो। अधिकारीले किन सार्वजनिक सुरक्षामा खतरा महसुस गरे भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन। घटनापछि बिड्डेफोर्डमा दर्जनौं प्रदर्शनकारी भेला भएर घटनाको विरोध गरेका थिए।

मेनका महान्यायाधिवक्ता आरोन फ्रेले घटनामा आईसीईको प्रवर्तन तथा निष्कासन सञ्चालन विभागका एक अधिकारी संलग्न रहेको र अनुसन्धान सम्पन्न नभएसम्म उनलाई बिदामा राखिएको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार ती व्यक्ति सवारीसाधन लिएर अधिकारीतर्फ अघि बढ्दै भाग्ने प्रयास गरेका थिए, त्यसपछि अधिकारीले गोली चलाएको महान्यायाधिवक्ता फ्रेले बताएका छन्।

मृतकको औपचारिक पहिचान  र परिवारलाई जानकारी नदिइएसम्म उनको नाम सार्वजनिक नगरिने जनाइएको छ। घटनाको अनुसन्धान अमेरिकी गृह सुरक्षा मन्त्रालयअन्तर्गतको महानिरीक्षक कार्यालयले गरिरहेको छ। मेनबाट रिपब्लिकन सिनेटर सुसन कोलिन्सले अनुसन्धानको जिम्मा उक्त कार्यालयले लिएको जानकारी दिएकी छन्।

मेनकै स्वतन्त्र सिनेटर एङ्गस किङका अनुसार सुरुमा अमेरिकी गृह सुरक्षा विभागका अधिकारी मार्कवेन मुलिनले मृतक व्यक्ति आप्रवासन कारबाहीका क्रममा पक्राउ गर्न खोजिएको व्यक्ति भएको बताएका थिए। तर केही घण्टापछि मुलिनले पुनः सम्पर्क गरी गोली लागेर मृत्यु भएका व्यक्ति पक्राउ गर्न खोजिएको लक्ष्य नभएको बताए ।  

कोलम्बियाको दूतावासले मृतक कोलम्बियाली नागरिक भएको पुष्टि गर्दै घटनाको परिस्थितिबारे अमेरिकी गृह सुरक्षा विभागसँग जानकारी र स्पष्टीकरण माग गरेको जनाएको छ। साथै अनुसन्धानको प्रगतिलाई नजिकबाट अनुगमन गरिने पनि दूतावासले उल्लेख गरेको छ।

मेन आप्रवासी अधिकार गठबन्धनका अनुसार मृत्यु भएका व्यक्ति २६ वर्षीय कोलम्बियाली नागरिक थिए र उनी अमेरिकामा कानुनी रूपमा काम गर्ने अनुमति प्राप्त व्यक्ति थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप