मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे

मङ्गलबार, ३० असार २०८३, १० : ३६
मङ्गलबार, ३० असार २०८३

सारांश

  • प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा पार्टी सभापति गगनकुमार थापाको घरअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाको कडा आलोचना गरेका छन् ।
  • आङ्देम्बेले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भएको र सरकारले प्रश्नकर्ताहरूलाई निशाना बनाउन खोजेको बताएका छन् ।
  • उनले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारको शत्रु नभई जनताका कामकारबाही देखाउने ऐना भएको र गाडीले गेट छेक्न सकिए पनि जनआवाज रोक्न नसकिने बताएका छन् ।

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले यस घटनालाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको आलोचना सहन नसक्ने प्रवृत्तिसँग जोड्दै कडा टिप्पणी गरेका छन् ।

आङ्देम्बेले लोकतन्त्रमा आलोचना सहन सक्ने क्षमता नै सरकारको शक्ति हुने बताएका छन् ।

‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो । तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ,’ उनले स्टाटसमार्फत् लेखे ।

गेटअगाडि गाडी राख्ने कार्यले स्वतन्त्र प्रेस र प्रतिपक्षलाई दबाबमा पार्ने उद्देश्य देखिएको उनको भनाइ छ ।

‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो,’ उनले भने, ‘यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ भन्दै तर्साइएको हो ।’

सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रू नभएको पनि बताए । 

‘सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रू होइनन् । उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन् । ऐन फुटाएर अनुहार सुन्दर देखिँदैन ।’

नेता आङ्देम्बेले सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी समस्यादेखि मुगुका गणेश नेपालीले राज्यको दुर्व्यवहारले र सर्लाहीका विवेक मण्डलले बेरोजगारी समस्याका कारण आत्मदाह गरेको घटनालाई लिएर सरकारलाई प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी दलको नेताको गेट छेक्दैमा जनताको आवाज रोक्न नसकिने बताएका छन् ।

‘गाडीले गेट त छेक्न सकिएला तर जन–आवाजहरू छेक्न सकिन्न, इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो बन्द हुँदैन,’ उनले भने । 

सोमबार अज्ञान व्यक्तिहरूले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर र भाटभटेनी सुपरमार्केट अगाडि अनधिकृत रुपमा सवारी पार्किङ गरेका थिए । यो घटनामा रास्वपाकै नेताहरूको संलग्नता खुलेको थियो । यसपछि बालेन सरकार र रास्वपाको आलोचना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप