मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा

मङ्गलबार, ३० असार २०८३, १६ : ३७
मङ्गलबार, ३० असार २०८३

सारांश

  • २०२६ को फिफा विश्वकपको सेमिफाइनलमा स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
  • सेमिफाइनलमा बेलोन डी’ओर, यासिन, कोपा र गर्ड मुलर ट्रफी विजेता १० खेलाडी सहभागी हुनेछन् ।
  • विश्वकप उपाधि नजिक पुगेका यी खेलाडीहरूले व्यक्तिगत सम्मानसँगै देशलाई विश्वकप जिताउने ऐतिहासिक लक्ष्य राखेका छन् ।

सन् २०२६ को फिफा विश्वकप आफ्नो सबैभन्दा रोमाञ्चक चरणमा पुगेको छ । 

अब प्रतियोगितामा केवल चार टोली बाँकी छन्, जसले विश्वकप उपाधिका लागि सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्ग्ल्यान्ड आमनेसामने हुनेछन् । 

विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबिच हुने यी दुई खेलमा वर्तमान समयका उत्कृष्ट खेलाडीहरू मैदानमा उत्रनेछन् । यस पटकको सेमिफाइनलमा बेलोन डी’ओर पुरस्कार समारोहका विभिन्न विधाका १० विजेता खेलाडी सहभागी हुदैँछन् । उनीहरू व्यक्तिगत रूपमा विश्व फुटबलका उत्कृष्ट खेलाडीको सम्मान जितिसकेका छन् र अब आफ्नो देशलाई विश्वकप जिताउँदै अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा छन् ।

विश्वकप सेमिफाइनलमा रहेका बेलोन डी’ओर पुरस्कार विजेता

लियोनेल मेस्सी (अर्जेन्टिना) – बेलोन डी’ओर विजेता
रोड्री (स्पेन) – बेलोन डी’ओर विजेता
उस्मान डेम्बेले (फ्रान्स) – बेलोन डी’ओर विजेता
एमिलियानो ‘डिबु’ मार्टिनेज (अर्जेन्टिना) – यासिन ट्रफी विजेता
लामिन यामाल (स्पेन) – कोपा ट्रफी विजेता
जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड) – कोपा ट्रफी विजेता
पेड्री (स्पेन) – कोपा ट्रफी विजेता
गाभी (स्पेन) – कोपा ट्रफी विजेता
किलियन एम्बाप्पे (फ्रान्स) – गर्ड मुलर ट्रफी विजेता
ह्यारी केन (इङ्ग्ल्यान्ड) – गर्ड मुलर ट्रफी विजेता

बेलोन डी’ओर विजेताः विश्व फुटबलका सर्वश्रेष्ठ

विश्वकप सेमिफाइनलमा यसपटक तीन जना बेलोन डी’ओर विजेता खेलाडी मैदानमा उत्रनेछन् । लियोनेल मेस्सी (अर्जेन्टिना) आठ पटक (२००९, २०१०, २०११, २०१२, २०१५, २०१९, २०२१ र २०२३) बेलोन डी’ओर जितेका लियोनेल मेस्सी ३९ वर्षको उमेरमा पनि अर्जेन्टिनाको नेतृत्व गरिरहेका छन् । उनी अझै पनि आफ्नो अद्भुत खेल कौशलका साथ टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन् । 

रोड्री (स्पेन)

२०२४ को बेलोन डी’ओर विजेता रोड्री स्पेनको मिडफिल्डका प्रमुख खेलाडी हुन् । टोलीको खेल निर्माणदेखि खेलको गति नियन्त्रणसम्म उनको भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।

उस्मान डेम्बेले (फ्रान्स)

२०२५ को बेलोन डी’ओर विजेता उस्मान डेम्बेले फ्रान्सका सबैभन्दा खतरनाक आक्रमणकारीमध्ये एक हुन् । उनको गति, ड्रिब्लिङ र गोल गर्ने क्षमता फ्रान्सको ठुलो हतियार बनेको छ । 

यासिन ट्रफी विजेता गोलपोस्टका भरोसायोग्य रक्षक

विश्वकै उत्कृष्ट गोलकिपरलाई प्रदान गरिने यासिन ट्रफीका दुई पटकका विजेता एमिलियानो ‘डिबु’ मार्टिनेज पनि सेमिफाइनलमा छन् । मार्टिनेजले २०२३ र २०२४ मा लगातार यासिन ट्रफी जितेका थिए । अर्जेन्टिनाका लागि उनी गोलपोस्टमा भरोसाको अर्को नाम बनेका छन् । 

कोपा ट्रफी विजेता युवा प्रतिभाको दबदबा 

२१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका चार विजेता पनि सेमिफाइनलमा पुगेका छन् । 

लामिन यामाल (स्पेन) 

आधुनिक फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडी मानिने लामिन यामाल ले लगातार २०२४ र २०२५ मा कोपा ट्रफी जितेका छन् । 

जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड)

२०२३ को कोपा ट्रफी विजेता जुड बेलिङ्घम इङ्ग्ल्यान्डको मिडफिल्डका प्रमुख खेलाडी हुन् र टोलीका प्रेरणादायी नेता मानिन्छन् । 

पेड्री (स्पेन)

२०२१ मा पहिलो पटक प्रदान गरिएको कोपा ट्रफी जित्ने पेड्री अहिले स्पेनको मिडफिल्डका अपरिहार्य सदस्य बनेका छन् । 

गाभी (स्पेन)

बार्सिलोनाका मिडफिल्डर गाभी ले २०२२ को कोपा ट्रफी जितेका थिए । उनी पनि स्पेनका प्रमुख युवा खेलाडीमध्ये एक हुन् । 

गर्ड मुलर ट्रफी विजेता गोल गर्ने महारथी

विश्वकप सेमिफाइनलमा गर्ड मुलर ट्रफी जितेका दुई उत्कृष्ट फरवार्ड पनि छन् । 

किलियन एम्बाप्पे (फ्रान्स)

२०२४ को गर्ड मुलर ट्रफी विजेता किलियन एम्बाप्पे यस विश्वकपमा आठ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनी फ्रान्सको आक्रमणको प्रमुख आधार हुन् । 

ह्यारी केन (इङ्ग्ल्यान्ड)

एम्बाप्पेसँग संयुक्त रूपमा २०२४ को गर्ड मुलर ट्रफी जितेका ह्यारी केन ले यस विश्वकपमा छ गोल गरिसकेका छन् । उनी इङ्ग्ल्यान्डका कप्तान तथा टोलीका मुख्य गोलकर्ता हुन् । 

२०२६ को बेलोन डी’ओर कसले जित्ला ?

स्पेन–फ्रान्स र अर्जेन्टिना–इङ्ग्ल्यान्डबीच हुने सेमिफाइनलमा विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीहरू एकै मैदानमा प्रतिस्पर्धा गर्नेछन् । त्यसैले यी दुई खेल विश्वकपकै सबैभन्दा आकर्षक भिडन्तमध्ये पर्ने अपेक्षा गरिएको छ । 

अब सबैको चासो एउटै छ । के यीमध्ये कुनै खेलाडीले विश्वकप सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै २०२६ को बेलोन डी’ओर जित्ने दौडमा आफूलाई सबैभन्दा अगाडि उभ्याउन सक्ला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप