सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
सारांश
- कांग्रेस सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउन खोजेको र पछिल्लो रवैया निरङ्कुशताको सङ्केत भएको आरोप लगाएका छन् ।
- उनले सरकारले आफ्ना गल्ती ढाकछोप गर्नतिर लागेको र कांग्रेसले यस्ता कदमविरुद्ध संसद्मा निरन्तर प्रश्न उठाइरहने बताए ।
- राईले सरकारले पार्किङ, कीर्तिपुर र सुकुम्बासी बस्तीको ज्यादती तथा आत्मदाह जस्ता गम्भीर मुद्दाबाट ध्यान मोड्न खोजेको आरोप लगाए ।
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउन खोजेको आरोप लगाएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको पछिल्लो रवैया निरङ्कुशताको सङ्केत भएको दाबी गरे ।
सचेतक राईले हिजोको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र प्रश्न गर्न नपाइने प्रवृत्तिको विरोध गर्दै अहिलेको सरकार बनेको स्मरण गराए । ‘तर, अहिले यही सरकार आफैँ निरङ्कुश बन्ने बाटोमा अग्रसर छ, जुन लोकतन्त्रका लागि ठुलो प्रश्नचिह्न हो,’ उनले भने ।
सरकारले नागरिक र विपन्न वर्गलाई केन्द्रमा राखेर काम गर्नुको सट्टा आफ्ना गल्ती ढाकछोप गर्नतिर लागेको उनको भनाइ थियो । उनले कांग्रेसले सरकारका यस्ता कदमविरुद्ध संसद्मा निरन्तर प्रश्न उठाइरहने स्पष्ट पारे । ‘हामी संसद्भित्र र बाहिर सधैँ प्रश्न गर्छौँ । सरकारलाई थप जिम्मेवार बनाउन हामी आवाज उठाइरहन्छौँ,’ राईले थपे ।
साथै, सचेतक राईले सरकारका गल्ती कमजोरीहरूविरुद्ध नागरिक अगुवा र सञ्चारमाध्यमसँग समन्वय गरेर अघि बढ्ने बताए ।
संसद्मा प्रधानमन्त्रीको उपस्थितिका विषयमा पनि राईले असन्तुष्टि व्यक्त गरे । उनले संसदीय अभ्यासमा प्रधानमन्त्री उपस्थित हुँदा प्रतिपक्षी दलका नेतालाई पूर्वजानकारी गराउनुपर्ने परम्परा भए पनि त्यसको पालना नभएको गुनासो गरे । ‘प्रधानमन्त्री संसद्मा आउँदा प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थिति खोजिन्छ । तर, आज प्रधानमन्त्री कति मिनेट र कति सेकेन्ड संसद्मा आउनुभयो भन्ने विषय समाचार बनेको छ,’ राईले भने ।
सचेतक राईले सरकारले गम्भीर मुद्दाहरूबाट ध्यान मोड्न खोजेको आरोप पनि लगाए । उनले हलिउड चलचित्र ‘वाग द डग’ को सन्दर्भ जोड्दै सरकारले पनि मूल समस्या लुकाएर अन्य विषयलाई उछाल्न खोजेको बताए ।
‘पार्किङको विषय, कीर्तिपुर र सुकुम्बासी बस्तीमा भएको ज्यादती तथा गणेश नेपालीलगायतको आत्मदाह जस्ता गम्भीर मुद्दालाई सरकारले विषयान्तर गर्न खोजेको छ,’ राईले भने ।
उनले यी गम्भीर विषयहरूमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने र नागरिकका समस्या समाधानमा गम्भीर हुनुपर्ने माग राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण