अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
सारांश
- खगोलविद्हरूले आकाशगङ्गाको केन्द्रनजिकको अन्तरतारकीय धुलो र ग्यासको बादलमा प्राकृतिक चिनी ‘एरिथ्रुलोज’ फेला पारेका छन् ।
- यो खोजले जीवनका लागि आवश्यक रासायनिक यौगिकहरू तारा र ग्रह बन्नुअघि नै अन्तरिक्षमा बन्न सक्ने सम्भावना बलियो बनाएको छ ।
- वैज्ञानिकहरूले यो चिनी बरफयुक्त धुलोका कणमा रहेका सरल अणुहरूबाट बन्न सक्ने र यसले जीवनको उत्पत्तिबारे महत्त्वपूर्ण प्रमाण दिएको बताएका छन् ।
काठमाडौँ । खगोलविद्हरूले पहिलोपटक आकाशगङ्गाको केन्द्रनजिक रहेको अन्तरतारकीय धुलो र ग्यासको बादलमा प्राकृतिक रूपमा पाइने एक प्रकारको चिनी फेला पारेका छन् ।
यो खोजले जीवनका लागि आवश्यक रासायनिक यौगिकहरू ताराहरू र ग्रहहरू बन्नुअघि नै अन्तरिक्षमा बन्न सक्ने सम्भावना बलियो बनाएको वैज्ञानिकहरूले बताएका छन् ।
स्पेनको खगोलजीवविज्ञान केन्द्रका वैज्ञानिकहरूको टोलीले एरिथ्रुलोज नामक चिनी पहिचान गरेको हो । चार कार्बन परमाणुबाट बनेको यो चिनी प्राकृतिक रूपमा रास्पबेरीजस्ता फलफूलमा पाइन्छ ।
चिनीले जीवित प्राणीमा ऊर्जा उपलब्ध गराउने, जैविक संरचना बनाउने तथा आरएनए र डीएनएजस्ता आनुवंशिक पदार्थको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।
अनुसन्धानका लागि वैज्ञानिकहरूले म्याड्रिडको उत्तरमा रहेको येबेस वेधशाला र दक्षिणी स्पेनको सिएरा नेभाडा क्षेत्रमा रहेको आईआरएएम रेडियो वेधशालाका दुई रेडियो दूरबिन प्रयोग गरेका थिए ।
उनीहरूले आकाशगङ्गाको केन्द्रनजिक रहेको G+0.693−0.027 नामक आणविक बादलको अध्ययन गरेका थिए । अनुसन्धान टोलीले रेडियो तरंगबाट प्राप्त अणुको सङ्केतलाई प्रयोगशालामा मापन गरिएको एरिथ्रुलोजको तरंगदैध्र्यसँग तुलना गरेर उक्त चिनीको पहिचान गरेको हो । सुरुमा वैज्ञानिकहरूले तीन कार्बन भएको अझ सरल चिनी खोज्ने प्रयास गरेका थिए, तर त्यस्तो चिनी भने भेटिएन ।
अनुसन्धानकी प्रमुख तथा स्पेनको खगोलजीवविज्ञान केन्द्र र स्पेनी राष्ट्रिय अनुसन्धान परिषद्की खगोलविद् इजास्कुन जिमेनेज सेराले यो खोज अप्रत्याशित भएको बताइन् ।
उनका अनुसार अहिलेसम्म अन्तरिक्षमा रहेका अणुहरू क्रमशः कार्बन परमाणु थपिँदै जाँदा ठुलो बन्दै जाने मान्यता थियो । उनले यो खोजले ताराहरू र ग्रहहरूको जन्म हुनुअघि नै अन्तरतारकीय अन्तरिक्षमा अपेक्षाकृत जटिल चिनी बन्न सक्ने प्रमाण दिएको बताइन् ।
नेचर एस्ट्रोनोमी जर्नलमा सोमबार प्रकाशित अध्ययनअनुसार एरिथ्रुलोज अन्तरिक्षमा रहेका बरफयुक्त धुलोका कणमा रहेका सरल अणुहरूबाट बन्न सक्छ र त्यसपछि अझ जटिल रासायनिक प्रणालीको हिस्सा बन्न सक्छ।
हालसम्म वैज्ञानिकहरूले आकाशगङ्गाको अन्तरतारकीय अन्तरिक्षमा ३४० भन्दा बढी प्रकारका अणु पहिचान गरिसकेका छन् । तर चिनीको प्रत्यक्ष प्रमाण भने पहिलोपटक भेटिएको हो ।
यस अनुसन्धानमा संलग्न नरहेका इम्पेरियल कलेज लन्डनका पृथ्वी विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक मार्क सेप्टनले यसअघि क्षुद्रग्रहमा चिनी र चिनीसँग सम्बन्धित यौगिक भेटिए पनि अन्तरतारकीय अन्तरिक्षमै यस्तो यौगिक भेटिनुले हाम्रो सौर्यमण्डल जीवनका लागि आवश्यक जैविक पदार्थसहित बनेको हुन सक्ने सम्भावनालाई थप बलियो बनाएको बताए ।
वैज्ञानिकहरूले पृथ्वीमा चिनीका अणु पहिलोपटक कसरी बने भन्ने विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएका छन् ।
प्रयोगशालामा गरिएका अध्ययनले प्रारम्भिक पृथ्वीको कठोर वातावरणमा यस्ता चिनीका अणु सजिलै बन्न नसक्ने देखाएको छ । त्यसैले अन्तरिक्षमै यस्तो चिनी भेटिनुलाई जीवनको उत्पत्तिबारे महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण