सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी ४ जना मन्त्रीहरूले बुधवार बिहान पदबाट राजीनामा दिएसँगै राजनीति सरगर्मी बढेको छ । मन्त्रीले राजीनामा दिए पनि समर्थन भने यथावत् नै राखेको छ, कांग्रेसले ।
तत्कालीन अवस्थामा केन्द्रमा भएको एमाले र कांग्रेसबिचको सत्ता समीकरण अनुसार ०८१ साउनदेखि हालसम्म नै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । तत्कालीन अवस्थामा केन्द्रमा भएको सहमति अनुसार गत चैत्रमै कांग्रेसले सरकारको नेतृत्व लिनुपर्थ्यो । तर, सोअनुसार हुन नसकेपछि कांग्रेसले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको ठानिएको छ । यससँगै कतै सत्ता समीकरण बदलिन लागेको त होइन ? भन्ने चर्चा पनि सुरु भएको छ ।
यसै विषयमा रहेर रातोपाटीले पूर्वमुख्यमन्त्री तथा कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीको सम्पादित सार:
आज एक्कासि कांग्रेसका मन्त्रीहरूको राजीनामा आयो, तपाईंहरुले के गर्न खोजेको हो ?
बजेट आउनुअघि नै हाम्रा मन्त्रीहरू परिवर्तन हुनुपर्ने कुरा थियो। तर त्यतिबेला मैले नै ‘बजेटका बेला यस्तो गर्नु हुँदैन’ भनेर रोकेको थिएँ। त्यही बेला मन्त्रीहरूलाई पनि भनेका थियौँ—बजेट सार्वजनिक भएपछि तपाईंहरूले राजीनामा दिनुपर्छ। उहाँहरूले पनि ‘हुन्छ’ भन्नुभएको थियो।
बजेट असार १९ गते नै पास भयो। त्यसपछि उहाँहरू राजीनामा दिन तयार हुनुभयो। त्यसैबिच माथिसम्म पनि केही परिवर्तन हुन सक्छ भन्ने कुरा आयो। अहिले नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ। फेरि यही अवस्थामा मन्त्रालयमा जाँदा कार्यविधिलगायतका विभिन्न प्रक्रिया हुन्छन्।
सरकारको विषयमा हाम्रो पार्टीमा निरन्तर छलफल भइरहेको छ। अहिले हाम्रोतर्फबाट तत्कालै नयाँ मन्त्री सरकारमा जाँदैनन्। केन्द्रमा हुने छलफलपछि सरकार नै परिवर्तन हुन पनि सक्छ । यदि त्यस्तो भएन भने मन्त्री मात्रै परिवर्तन हुन सक्छन्। सरकार परिवर्तन गर्नुपरे पनि वा मन्त्री मात्रै परिवर्तन गर्नुपरे पनि त्यसका लागि बाटो खुला हुनुपर्छ। कुरा त्यति मात्रै हो।
तपाईँले नै सत्ताको नेतृत्व लिन चाहनु भएको हो ? आलोपालो अनुसार चैत्रमै नेतृत्व परिवर्तन हुने चर्चा थियो नि ?
नलिने भन्ने त कुरै होइन । अब लिएकाले चाहिँ ‘ल मेरो पालो पुग्यो, तिमी आऊ’ भन्नुपर्यो नि !
भन्नाले मुख्यमन्त्री यामलाल कँडेलले समय पुग्यो, हस्तान्तरण गर्छु नभनेको कारणले आफ्ना मन्त्री फिर्ता बोलाउनु भएको ?
—होइन, होइन, त्यो भएर यस्तो भएको होइन । त्यो विषयमा त अब माथि केन्द्रमा छलफल भइराखेको छ ।
बजेटभन्दा अगाडि नै फेर्न खोजेका बेला उहाँहरूले बजेट पास भइसकेपछि हामी राजीनामा दिन्छौँ भन्नु भएपछि रोकिएको थियो । सोहीअनुसार अहिले भएको हो, यसबाहेक अन्यथा होइन। अब छलफलको कुरामा त आलोपालो हुने कुरामा त माथि छलफल भइरहेको छ, त्यो होला नै ।
यदि सत्ताको नेतृत्व नै चेन्ज हुने भएपछि र मुख्यमन्त्रीले राजीनामा दिन चाहेपछि मन्त्रिपरिषद् स्वतः विघटन भइहाल्थ्यो, अहिले त मन्त्रीको मात्रै राजीनामा आयो नि ?
मुख्यमन्त्रीलाई हामीले राजीनामा देऊ भन्ने कुरो भएन क्यारे ! त्यो त उहाँले आफैँले राजीनामा दिने हो, सोच्ने हो ।
अब ‘ल मेरो पालो पुग्यो, आफ्नो पालो भन्दा बेसी नै मैले चलाइसकेँ’ भनेर उहाँले भन्नुपर्ने हो । हाम्रा साथीहरूले बजेट बनाइसकेपछि हामी राजीनामा दिन्छौँ भन्नुभएको थियो; अब हामी राजीनामा दिन्छौँ, सरकार चेन्ज गर्ने भए पनि तपाईँ गर्नुहोस् र अर्को मन्त्री पठाउने भए पनि पठाउनुहोस् भन्नुभयो अनि राजीनामा दिनुभयो । कुरा यत्ति हो ।
भनेको अहिलेको मुख्यमन्त्री सत्ता हस्तान्तरण नगरेका कारण दबाब दिन आफ्ना मन्त्रीलाई फिर्ता बोलाउनु भएको हो ?
दबाबमा राख्ने भए त हामी राजीनामा नै दिँदैनथ्यौँ होला । त्यो उहाँलाई दबाब–सबाब दिनका लागि होइन ।
कतिपयको चर्चा के पनि छ भने जीवन शाही आफैँमा केन्द्रको विपरीत डिसिजन गर्न सक्ने मान्छे हुन्; एमालेसँग त्यति राम्रो ट्युनिङ नमिलेकाले नेकपासँग मिलेर सरकार बनाउन लागिपरे भन्ने खालको चर्चा पनि छ नि ?
अब चर्चा गर्नेको मुख त मैले कसरी थुन्न सक्छु र ?
यो सम्भावना कत्तिको छ ?
अब तपाईंलाई थाहा छ नि— राजनीतिमा असम्भव भन्ने केही हुँदैन । पहिला म यही प्रदेशमा एक्लै जितेर आए पनि मुख्यमन्त्री भएको मान्छे हुँ । अहिले १५ जना छन्, पहिलो पार्टी बनाएर आउँदाखेरि पनि यतिका समयसम्म मुख्यमन्त्री हुन नसकेको पनि म नै हुँ । राजनीतिमा सम्भावना भन्ने कुरो त जे पनि हुन्छ नि ! नयाँ समीकरणको सम्भावना नै हुँदैन भन्ने कुरो चाहिँ हुँदैन । अब कहिले कोसँग मिलेर गरियो, कहिले कोसँग मिलेर गरियो । अहिले त त्यस्तो कुरा केही भएको छैन । यो विषयमा म निरन्तर हाम्रा केन्द्रका सभापति, उपसभापति, महामन्त्रीहरूसँग छलफलमै छु ।
उहाँहरूको चाहिँ भनाइ के छ ?
उहाँहरूले योसँग मिलेर जाऊँ, यसो गरौँ, नगरौँ भनेर केही भनेको अवस्था छैन । जस्तै सुदूरपश्चिममा देख्नुभएको छ । छलफल भइरहेको छ । सबैतिर छलफल चलेका छन् ।
एमालेसँग पनि भएको छ । माओवादीसँग पनि भएकै छ । सबैसँग छलफल भइरहेको छ । त्यही छलफलको एउटा परिणाम भनेको मधेसमा तीन दलको सरकार छ । त्यस्तो पनि प्रयास हुन सक्छ नि ! सबैसँग छलफल भइरहेको छ । अब सायद एक–दुई दिनमा केही होला ।
प्रतिक्रिया