बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ

यामलाल कँडेल ‘फेलियर’ भइसकेकाले कांग्रेससँग सहकार्यको सम्भावना बढी
बुधबार, ३१ असार २०८३, १७ : ५२
बुधबार, ३१ असार २०८३

सारांश

  • कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपाले सत्ता सहकार्यका लागि ढोका खुला गरेको छ ।
  • कांग्रेसले सरकार छाडेपछि नेकपा संसदीय दलको बैठकले कांग्रेस सहकार्य गर्न तयार रहे आफूले पनि ढोका खुला गर्ने मनसाय बनाएको हो ।
  • दल नेता शाहीले सत्ता सहकार्यको ढोका खुला गरिएको बताए, यद्यपि त्यो एमाले वा कांग्रेस जो सँग पनि हुनसक्ने बताए ।

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सत्ता सहकार्यका लागि ढोका खुलाएको छ । कांग्रेसले सरकार छाडेपछि बुधबार अपराह्न बसेको नेकपा संसदीय दलको बैठकले यदि कांग्रेस सहकार्य गर्न तयार रहे आफूले पनि ढोका खुला गर्ने मनसाय बनाएको हो ।

बुधबार बिहान कांग्रेसबाट सरकारमा सहभागी ४ मन्त्रीले राजीनामा दिएका थिए ।  यद्यपि, समर्थन भने कांग्रेसले फिर्ता लिइसकेको अवस्था छैन । नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता सहकार्यको बाँकी छलफल गर्ने, समन्वयन गर्ने लगायत सबै कुराको जिम्मेवारी दल नेता मङ्गलबहादुर शाहीलाई दिइएको बताए ।

दल नेता शाहीले पनि सत्ता सहकार्यको ढोला खुला गरिएको बताए  । यद्यपि, त्यो एमाले वा कांग्रेस जो सँग पनि हुनसक्ने बताए। ‘उहाँहरु अहिले सत्ता साझेदार दल हो, कांग्रेसले सरकार छाडे पनि समर्थन फिर्ता लिएको छैन,’ शाहीले रातोपाटीसँग भने ।

तथापि, एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको सरकार ‘फेलियर’ भइसकेकाले सत्ता सहकार्य कांग्रेससँग हुनुपर्ने नेकपाको बटम लाइन रहेको एक सांसदले बताए ।

‘नेकपाले यसअघि नै कांग्रेसलाई तपाईंहरु सहकार्यका लागि तयार हो भने आँट गर्नुस् भनेको हो,’ ती सांसद भन्छन्- ‘कांग्रेसले अहिले आँट त गर्‍यो । तर समर्थन कायमै छ । भोलिसम्म केही आउला नि !’

यसअघि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि सत्ता गठबन्धन बदलिन सक्ने बताएका थिए  यस्तै, कांग्रेस पार्टी केन्द्रले पनि एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेसँगै प्रदेशमा नेकपा—कांग्रेसबिच सत्ता समीकरण बन्ने सम्भावना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप