२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
सारांश
- २४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा भिड्दैछन्, जहाँ ह्यारी केन र लियोनेल मेस्सीबीच प्रतिस्पर्धा हुनेछ ।
- यसअघि सन् १९८६ को ह्यान्ड अफ गड र १९९८ को बेकह्यामको रातो कार्ड जस्ता घटनाले दुई टोलीबीचको खेल सधैं तनावपूर्ण रहँदै आएको छ ।
- इङ्गल्यान्डले ४-२-३-१ र अर्जेन्टिनाले ४-४-२ को फर्मेसनमा आफ्नो सुरुवाती ११ खेलाडी मैदानमा उतार्नेछन् ।
काठमाडौँ । २४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना फिफा विश्वकपको मञ्चमा फेरि एक पटक आमनेसामने हुँदैछन् । यसपटक विश्व फुटबलका दुई महान् स्ट्राइकरहरू ह्यारी केन र लियोनेल मेस्सीबिच मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार बिहीबार राति १२ः४५ बजे सुरु हुने यस रोमाञ्चक सेमिफाइनल खेलको विजेताले आइतबार न्यूयोर्क–न्युजर्सी स्टेडियममा हुने विश्वकपको फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
यी दुई राष्ट्रबिचको फुटबल इतिहास निकै रोचक र विवादले भरिएको छ । सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि लिएर, सन् १९९८ मा डेभिड बेकह्यामले डिएगो सिमियोनेलाई लात हानेपछि रातो कार्ड पाएको घटनासम्म, इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको प्रतिस्पर्धा सधैं तनाव र रोमाञ्चले भरिएको छ । यसका साथै फकल्यान्ड टापुको सार्वभौमिकतासम्बन्धी राजनीतिक विवादले पनि मैदानभित्रको यस खेललाई थप संवेदनशील बनाएको छ ।
यस विश्वकपमा दुवै टोलीले कठिन परिस्थिति पार गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् । इङ्ग्ल्यान्डको लक्ष्य लियोनेल मेस्सीलाई रोक्दै ६० वर्षपछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेर उपाधि जित्नु हो । इङ्गल्यान्ड समूह ‘एल’ मा सात अङ्कका साथ शीर्ष स्थानमा रहँदै अघि बढेको हो, जहाँ उसले क्रोएसिया र पानामालाई पराजित गर्यो भने घानासँग बराबरी खेल्यो । राउन्ड अफ ३२ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोलाई दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै पराजित गरेको इङ्ग्ल्यान्डले प्रतिष्ठित एज्टेका स्टेडियममा सहआयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अन्तिम १६ पार गर्यो । क्वार्टरफाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै इङ्ग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
अर्जेन्टिनाको लक्ष्य पनि कठिन खेल जित्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेर उपाधि रक्षा गर्नु हो । अर्जेन्टिनाले समूह ुजेु मा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराउँदै शीर्ष स्थान हासिल गरेको थियो । राउन्ड अफ ३२ मा उसले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हरायो । अन्तिम १६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको स्थितिबाट फर्केर ३–२ को नाटकीय जित दर्ता गरेको अर्जेन्टिनाका लागि उक्त खेलमा रेफ्रीको निर्णयलाई लिएर विवाद समेत भएको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्धको खेल पनि अतिरिक्त समयमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले ३–१ को जित निकाल्यो ।
२१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा ३९ वर्षीय लियोनेल मेस्सीले पहिलो पटक इङ्ग्ल्यान्डको सामना गर्दैछन् । सन् २००५ को मैत्रीपूर्ण खेलमा रातो कार्ड पाएका कारण उनले इङ्ग्ल्यान्डविरुद्ध खेल्ने अवसर गुमाएका थिए । मेस्सीले इङ्ग्ल्यान्डबाहेक लगभग सबै ठूला टोलीविरुद्ध खेलेको र उनीहरू विश्व फुटबलको महाशक्ति भएकाले विश्वकपको सेमिफाइनलमा उनीहरूविरुद्ध खेल्नु विशेष हुने बताएका छन् । जारी प्रतियोगिताको ६ खेलमा ८ गोल गरेका मेस्सी गोल्डेन बुट जित्ने र कप्तानका रूपमा अर्जेन्टिनालाई सन् १९६२ पछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बनाउने अभियानमा छन् । यदि अर्जेन्टिना विजयी भएमा मेस्सीले लगातार तीन विश्वकप फाइनल खेलने ब्राजिलका महान् कप्तान काफुको कीर्तिमानको बराबरी गर्नेछन् ।
सन् १९६६ मा आफ्नै भूमिमा विश्वकप जितेयता इङ्ग्ल्यान्डले कुनै ठूलो उपाधि जितेको छैन, तर ह्यारी केन र जुड बेलिङ्घमको नेतृत्वमा रहेको यो टोली इतिहास रच्न तयार देखिन्छ । गोलरक्षक जोर्डन पिकफोर्डका अनुसार टोली दबाब झेल्न तयार छ । उनले पूरै प्रतियोगिताभर टोलीले जित्ने चाहना देखाएको र मैदान बाहिरको विवादमा नपरी फुटबलमार्फत नै मैदानमा जवाफ दिने बताएका छन् । फिफा वरीयतामा चौथो स्थानमा रहेको इङ्गल्यान्ड पछिल्ला पाँच प्रमुख प्रतियोगितामध्ये चौथो पटक सेमिफाइनल खेलिरहेको छ ।
यस खेलको रेफ्री टोलीमा मुख्य रेफ्रीका रूपमा अमेरिकाका इस्माइल एलफाथ रहेका छन् भने उनलाई अमेरिकाकै सहायक रेफ्रीहरू कोरी पार्कर र काइल एट्किन्सले सहयोग गर्नेछन् । त्यस्तै चौथो रेफ्रीका रूपमा इटालीका माउरिजियो मरियानी र रिजर्भ सहायक रेफ्रीका रूपमा डानिएले बिन्डोनी रहेका छन् । यी दुई टोलीबिच हालसम्म १४ खेल भएका छन्, जसमा इङ्ग्ल्यान्डले ६ खेल जितेको छ भने अर्जेन्टिनाले ३ खेलमा जित हात पारेको छ र बाँकी ५ खेल बराबरीमा सकिएका छन् । दुई टोलीबिचका पछिल्ला नतिजाहरू हेर्दा सन् २००५ को मैत्रीपूर्ण खेलमा इङ्गल्यान्ड ३-२ ले विजयी भएको थियो भने सन् २००२ को विश्वकपमा इङ्ग्ल्यान्डले १-० को जित निकालेको थियो । त्यसअघि सन् २००० मा गोलरहित बराबरी भएको थियो भने सन् १९९८ को विश्वकपमा २-२ को बराबरीपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-३ ले विजयी भएको थियो । सन् १९९१ को खेल पनि २-२ को बराबरीमा टुङ्गिएको थियो ।
यस रोमाञ्चक भिडन्तका लागि इङ्ग्ल्यान्डले ४-२-३-१ को फर्मेसनमा आफ्नो आधिकारिक सुरुवाती टोली मैदानमा उतारेको छ । टोलीको गोलपोष्ट जोर्डन पिकफोर्डले सम्हाल्नेछन् । रक्षापङ्क्तिमा रिस जेम्स, जोन स्टोन्स, मार्क गुएही र जेड स्पेन्स रहनेछन् । डिफेन्सिभ मिडफिल्डमा डेक्लान राइस र इलिअट एन्डरसन रहनेछन् भने अट्याकिङ मिडफिल्डको जिम्मेवारी मोर्गन रोजर्स, जुड बेलिङ्घम र एन्थनी गोर्डनले पाएका छन् । टोलीको मुख्य स्ट्राइकरका रूपमा कप्तान ह्यारी केन मैदानमा रहनेछन् ।
अर्कोतर्फ, अर्जेन्टिनाले ४-४-२ को फर्मेसनमा आफ्नो सुरुवाती टोली तय गरेको छ । टोलीको रक्षापंक्तिलाई मजबुत बनाउन गोलरक्षकका रूपमा एमिलियानो मार्टिनेज रहनेछन् भने रक्षापङ्क्तिमा निकोलस टालियाफिको, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो र नाहुएल मोलिना मैदानमा उत्रिनेछन् । मिडफिल्डको कमाण्ड एन्जो फर्नान्डेज, अलेक्सिस म्याक एलिस्टर, लिआन्द्रो परेडेस र जियोभानी सिमियोनेले सम्हाल्नेछन् । टोलीको अग्रपङ्क्ति तथा आक्रमणको नेतृत्व भने जुलियन अल्भारेज र कप्तान लियोनेल मेस्सीले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण