शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी

शुक्रबार, ०१ साउन २०८३, ०७ : ३६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • इंग्ल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४ विकेटले पराजित गर्दै तीन खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको छ।
  • इंग्ल्याण्डको जितमा जो रुट ९९ रनमा अविजित रहे र खेलको उत्कृष्ट खेलाडी घोषित भए।
  • भारतले पहिले ब्याटिङ गर्दै ४४ ओभरमा २३३ रनमा अलआउट भयो, जसको जवाफमा इंग्ल्याण्डले ४४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

कार्डिफ । इंग्ल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४ विकेटले पराजित गर्दै तीन खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको छ। कार्डिफको सोफिया गार्डन्समा बिहीबार राति २३४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४४.१ ओभरमा ६ विकेट गुमाएर जित हात पार्‍यो।

इंग्ल्याण्डको जितमा जो रुट नायक बने। उनी ९९ रनमा अविजित रहे र खेलको उत्कृष्ट खेलाडी घोषित भए। अब शृङ्खलाको निर्णायक खेल १९ जुलाईमा लर्ड्स मैदानमा हुनेछ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले तीव्र सुरुवात गरेको थियो। कप्तान शुभमन गिलले ३१ रन र रोहित शर्माले २६ रन बनाउँदै पहिलो विकेटका लागि ४४ रन जोडे। गिल आउट भएपछि रोहित र विराट कोहलीले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे।

रोहित आउट भएपछि ईशान किशन छिट्टै पेभेलियन फर्किए। तर विराटले श्रेयस अय्यरसँग मिलेर चौथो विकेटका लागि ६७ रन जोड्दै टोलीलाई १७८/३ को अवस्थामा पुर्‍याए। विराटले ६६ बलमा ६५ रन तथा श्रेयसले ७१ बलमा ६६ रनको योगदान दिए।

एक समय भारत ठुलो स्कोरतर्फ अघि बढिरहेको देखिन्थ्यो तर विराट आउट हुने बित्तिकै भारतीय इनिङ्स धर्मरायो। टोलीले थप ५५ रन जोड्दा अन्तिम ७ विकेट गुमाउन पुग्यो। अन्तिम समयमा जसप्रीत बुमराहले १३ बलमा अविजित २० रन बनाउँदै टोलीको स्कोर २३३ सम्म पुर्याए। भारत ४४ ओभरमा अलआउट भयो।

इंग्ल्याण्डका बलर जोफ्रा आर्चर र गस एटकिन्सनले समान ३–३ विकेट लिए। यस्तै साकिब महमुदले २ तथा सैम करन र विल ज्याक्सले १–१ विकेट हात पारे।

२३४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात भने निकै खराब रह्यो। जसप्रीत बुमराहले खेलको पहिलो बलमै बेन डकेटलाई विकेटकिपर ईशान किशनको हातबाट क्याच आउट गराए। 

त्यसपछि प्रसिद्ध कृष्णाले ज्याकब बेथेललाई आउट गर्दै इंग्ल्याण्डको स्कोर ८/२ को स्थितिमा पुर्‍याए। लगत्तै गुरनूर बरारले कप्तान ह्यारी ब्रुकलाई पेभेलियनको बाटो देखाए।

सुरुवाती झट्कापछि रुटले इनिङ्स सम्हाल्दै पहिले साम करनसँग ४१ रन र त्यसपछि जोस बटलरसँग ३१ रन जोडेर इंग्ल्याण्डलाई संकटबाट बचाए। बटलर आउट भएपछि भारतले खेलमा पकड बलियो बनाएको थियो। तर विल ज्याक्सले रुटलाई बलियो साथ दिए। यी दुईले छैटौँ विकेटका लागि ७२ रनको साझेदारी गर्दै जितको आधार खडा गरे।

४०औँ ओभरमा ज्याक्स आउट भएपछि मैदान छिरेका गस एटकिन्सनले १६ बलमा अविजित २३ रन बनाए। उनले रुटसँग मिलेर सातौँ विकेटका लागि ३८ रनको अविजित साझेदारी गरे। 

जितका लागि मात्र १ रन आवश्यक भएको अवस्थामा एटकिन्सनले प्रसिद्ध कृष्णाको बलमा चौका प्रहार गर्दै खेल सकाए। सोही चौकाका कारण रुट ९९ रनमा अविजित रहन बाध्य भए। यससँगै उनी एकदिवसीय क्रिकेट इतिहासमा ९९ रनमा अविजित रहने १७औँ ब्याट्सम्यान बनेका छन्।
Bidhan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप