पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
मस्काे । उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार दुई देशबिचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन् ।
कुनै बहुपक्षीय कूटनीतिक कार्यक्रम वा राष्ट्रिय उत्सवको अवसरबिना नै भएको चोको रुस भ्रमणले उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रुस भ्रमणको तयारीबारे अड्कलबाजी बढाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार चो रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा शनिबार रुस पुगेकी हुन् । यद्यपि, भ्रमणको उद्देश्यबारे भने प्योङयाङले विस्तृत जानकारी दिएको छैन ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले सोमबार सोलले यी भेटवार्तालाई नजिकबाट नियालिरहेको बताएका छन् । तर, मस्को र प्योङयाङबिच नेतास्तरीय अर्को शिखर बैठकबारे छलफल भइरहेको छ वा छैन भन्ने विषयमा उनले टिप्पणी गर्न अस्वीकार गरे ।
रुसी समाचार संस्था ‘टास’ का अनुसार, क्रेमलिनमा भएको भेटमा पुटिनले दुई देशबिचको सम्बन्धलाई प्रशंसा गर्दै युक्रेनमा जारी सैन्य कारबाहीका क्रममा सहयोग गरेकोमा उत्तर कोरियाली नेतृत्व र जनताप्रति कृतज्ञता व्यक्त गरे । जवाफमा चोले किम जोङ उनले रुससँगको सम्बन्धलाई समग्र रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएकी थिइन् ।
किमले यसअघि सन् २०१९ र सन् २०२३ मा पुटिनसँग शिखर वार्ताका लागि रुस भ्रमण गरेका थिए । सन् २०२४ जुनमा पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुई नेताले रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै कुनै पनि पक्षमाथि आक्रमण भएमा पारस्परिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रुससँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ । किम प्रशासनले युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप लाग्दै आएको छ । त्यसको बदलामा उत्तर कोरियाले आर्थिक सहयोग र सैन्य प्रविधि प्राप्त गरिरहेको हुन सक्ने विज्ञहरूले बताएका छन् ।
यसैबिच, किमले चीनसँग पनि सम्बन्ध सुदृढ बनाउने प्रयास जारी राखेका छन् । गत जुनमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्योङयाङमा भेटवार्ता गरेका थिए । उत्तर कोरियाले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको प्रभावको प्रतिरोध गर्ने उद्देश्यले रुस र चीनसँगको सहकार्यलाई विस्तार गरिरहेको विश्लेषण गरिएको छ ।
रुस भ्रमणअघि उत्तर कोरियाका उच्च अधिकारीहरूले चीन भ्रमण गरेका थिए । उत्तर कोरियाली मन्त्रिपरिषद्का प्रमुख पाक थे सोङले बेइजिङमा सीसँग भेटवार्ता गरेका थिए भने चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ हुनिङले प्योङयाङ पुगेर किमसँग छलफल गरेका थिए ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि किमले अमेरिका र दक्षिण कोरियासँगको संवाद लगभग रोक्दै आएका छन् । उनले युक्रेन युद्धलाई आफ्नो आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्ने अवसरका रूपमा प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ । अर्कोतर्फ, अमेरिकाले उत्तर कोरियासँगको वार्ताका लागि आणविक निशस्त्रीकरणलाई प्रमुख सर्त बनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण