मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु

मङ्गलबार, ०५ साउन २०८३, १० : १८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • विश्वकप फाइनल खेल सकिएपछि अर्जेन्टिना र स्पेनका खेलाडीहरूबीच मैदानमा झगडा भएपछि फिफाले अनुसन्धान सुरु गरेको छ।
  • खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी र अफिसियलहरूबीच तनाव बढ्दा हातहालाहालको स्थिति सिर्जना भएको थियो।
  • सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अर्जेन्टिनाका खेलाडी लिआन्द्रो पारेदेसले स्पेनका खेलाडी एरिक गार्सिया र गाभीलाई धकेलेको देखिन्छ।

जुरिच । अमेरिकाको न्यु जर्सीमा सम्पन्न विश्वकप फाइनल खेल सकिएपछि अर्जेन्टिना र स्पेनका खेलाडीहरूबिच मैदानमै झगडा भएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुसन्धान सुरु गरेको छ। 

अतिरिक्त समयमा १-० को जित निकाल्दै युरोपेली च्याम्पियन स्पेनले दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई पराजित गरी दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो।

सोमबार फिफाले आफ्नो अनुशासन समितिले खेल विवरणको समीक्षा गरिरहेको बताएको छ। फिफाले अल जजिरालाई दिएको वक्तव्यमा भनेको छ, ‘खेलपछिका घटनाहरूको सम्बन्धमा फिफा अनुशासन समितिले नियम उल्लङ्घनको छानबिन गर्न अनुशासन र नैतिक अभियोजक नियुक्त गरेको छ।’ अनुसन्धान पूरा भएपछि निष्कर्ष र नतिजा सार्वजनिक गरिने वक्तव्यमा उल्लेख छ।

दुवै टोलीका खेलाडी र अफिसियलहरूबिच तनाव बढेकाले खेलपछि हातहालाहालको स्थिति सिर्जना भएको थियो। रेफ्रीले अन्तिम सिट्टी बजाउनासाथ केही खेलाडी मैदानमा ढलेका थिए भने अन्य खेलाडीहरू भने कुटाकुटमा उत्रिएका थिए।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा स्पेनका स्टार खेलाडी लामिन यमाल घुँडा टेकेर प्रार्थना गरिरहँदा पृष्ठभूमिमा अर्जेन्टिनाका खेलाडीहरूले स्पेनिस खेलाडीमाथि आक्रमण गरिरहेको देखिन्छ। अर्जेन्टिनाका डिफेन्डर लिआन्द्रो पारेदेसले स्पेनका एरिक गार्सियाको घाँटीमा धकेलेका थिए। स्पेनका वैकल्पिक खेलाडी गाभी बिचमा आउँदा पारेदेसले उनलाई पनि भुइँमा पछारिदिए।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले पारेदेसलाई दुई खेलाडीबाट अलग गराएका थिए। त्यसपछि पनि पारेदेसले अन्य स्पेनिस खेलाडीलाई धकेल्न खोजेपछि साथी खेलाडीले उनलाई तानेर लगेका थिए। यमाल र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीबिच न्यानो अङ्कमाल भए पनि दुवै टोलीबिचको समग्र वातावरण भने तितो नै रह्यो।

पदक वितरण समारोहको मञ्च तयार हुँदा स्पेनका खेलाडीहरूले उपविजेता अर्जेन्टिनालाई सम्मान व्यक्त गर्दै ताली बजाएका थिए। अर्जेन्टिनाका खेलाडीहरूले भने स्पेनलाई सुनको पदक र ट्रफी हस्तान्तरण गर्दा पछाडि फर्केर बसेका थिए।

यसअघि, सेमिफाइनलमा इंग्ल्याण्डलाई हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले राजनीतिक ब्यानर प्रदर्शन गरेको विषयमा पनि फिफाले अनुसन्धान गरिरहेको छ। डिफेन्डर लिसान्द्रो मार्टिनेज र जिओभानी लो चेल्सोले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फ्याकल्याण्ड अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएका थिए। बेलायतको नियन्त्रणमा रहेको उक्त भूभागबारे विवादित ब्यानर देखाएपछि फिफाले छानबिन अघि बढाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप