मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत

मङ्गलबार, ०५ साउन २०८३, १९ : १५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् ।
  • साहले संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु अनुचित भएको बताएका छन् ।
  • उनले राइड सेयरिङ र बिजुली महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि तत्काल खारेज गर्न माग गरेका छन् ।

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् । 

अध्यक्ष साहले मंगलबार सामाजिक सञ्जालमार्फत  प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेको उल्लेख गरेका छन् । 

संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित भएको साहको भनाइ छ। आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सराहनीय कार्य भएको साहले जनाएका छन । 

साथै, आजपा अध्यक्ष साहले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेका छन्  । शिक्षा र स्वास्थ्यको कर हटाउने निर्णयको प्रशंसा गर्दै अध्यक्ष साहले अन्य क्षेत्रमा लगाइएका अनावश्यक करहरूतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै अनावश्यक कर हटाउन माग गरेका हुन् । 

सरकारले राइड सेयरिङ (सवारी साझेदारी) र बिजुली महसुलमा ५ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको उल्लेख गर्दै साहले उक्त करलाई पनि तत्काल खारेज गर्न माग गरेका छन्  । सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका यी क्षेत्रमा कर थोपर्नु न्यायसंगत नभएकाले सरकारले यस विषयमा पनि छिट्टै विशेष निर्णय लिनेमा आफूहरू आशावादी रहेको साहले बिश्वास व्यक्त गरेका छन्  । 

देशमा सरकार पिच्छे सरकारले लिईरहेको थरीथरीका अनावश्यक कर हटाउन सुरुदेखि नै आजपाले बिरोध गर्दै आएको छ । यस अघि आजपाले सरकार पिच्छेको अनावश्यक करका विरुद्धमा आन्दोलन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप