बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सरोकार

सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित

बुधबार, ०६ साउन २०८३, १५ : ३०
बुधबार, ०६ साउन २०८३

सारांश

  • जनकपुरधाम-९ रामानन्द चोक, साकेतनगर सडकखण्डमा ढल निर्माणपछि सडकको बीचमै करिब २ फिट गहिरो खाल्डो ह्वाङ्ग देखिएको छ, जसले पैदलयात्री र सवारीसाधनलाई दुर्घटनाको जोखिममा पारेको छ ।
  • ठेकेदारले नालाको च्याम्बरमाथिको ढक्कन नराखी काम अलपत्र छाडेकाले दैनिकजसो दुर्घटनाको जोखिम बढेको छ, जसले गर्दा विद्यालय र अस्पताल जाने बाटो प्रयोग गर्ने सयौं विद्यार्थी र सर्वसाधारण सास्तीमा परेका छन् ।
  • स्थानीयवासी, वडाध्यक्ष र पसलेहरूले बजेट सक्न हतारमा काम गराइएको, ठेकदार र कार्यालयको सेटिङमा काम भएको र साइट इन्जिनियरको लापरबाहीले जनताले दुःख पाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जनकपुरधाम । जनकपुरधाम–९ रामानन्द चोक, साकेतनगरको सडकखण्डमा ढल निर्माण भए पनि सडकको बिचमै भ्वाङ देखिन्छ । उक्त भ्वाङ मुनि नाला छ । त्यसैले उक्त सडक प्रयोग गर्ने पैदल यात्रीदेखि विभिन्न सवारी साधन दुर्घटनाको जोमिममा परेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

नालाको च्याम्बरमाथिको ढक्कन हाल्न ठेकदारले आलटाल गर्दा दिनहुँ दुर्घटनाको जोखिम बढाएको छ । रामानन्द चोक देखि सङ्कटमोचन मन्दिर, देवी चोक हुँदै रेल्वे स्टेशन पुग्न यो बाटो भएर दिनहुंँ सयौँको सङ्ख्यामा जिप, ई–रिक्सा, मोटरसाइकलको आवतजावत हुने गर्छ ।

अहिले सडकको बिच भागमै १ मिटर लामो, आधा मिटर चौडा र करिब २ फिट गहिरो खाल्डो ह्वाङ्ग देखिन्छ । यसरी सडकको बिच भागमा नालामाथिको ढक्कन नहुँदा पैदल यात्रुदेखि सवारी साधन समेतलाई अप्ठ्यारो हुने गरेको छ नै, दुर्घटनाको जोखिम पनि बढेको छ । यो सडक भएर मोटरसाइकल जेनतेन वारपार गरे पनि ईरिक्सा र जिप, कार वारपार गर्न निकै सकस हुने गरेको छ ।

स्थानीय अनिल झाले भने, ‘सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि हतारमा विकास निर्माण गराउँदाको परिणाम हो यो । ठेकदारले काम गरेको रकम बुझिसक्यो । अब उसलाई के मतलब भयो ? सास्ती त जनताले भोग्ने हो ।’

road Chamber-4

उनले ठेकदार र पूर्वाधार विकास कार्यालयको सेटिङमा विकास निर्माणको काम हुँदा जनताले दुःख पाउने बताए । ठेकदार र कार्यालयका साइट इन्जिनियर ज्योति साहसँग यसबारे बुझ्न खोज्दा उनी फोन सम्पर्कमै नआएको झाको भनाइ छ ।

यो सडकखण्डमै माद्यमिक विद्यालय पनि छ, जसको मुख्य द्वार नै यही सडक खण्डमा पर्छ भने अस्पतालको मुख्यद्वार पनि यही सडकखण्डतर्फ सोझिएकोे छ । सयौँको संख्यामा विद्यार्थीहरू पनि यही सडक भएर विद्यालय आउनेजाने गर्छन् ।

स्थानीय संजीव कर्णले भने, ‘एक हप्ता अघि वर्षा भइरहेको बेला पानीले ढाकिएको उक्त खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो । राति बत्ती थिएन, एक्कासि मोटरसाइकल पल्टियो तर चालक सडकतिर उछिट्ट्एिका कारण बाँच्न सफल भए ।’

road Chamber-7

वडाध्यक्ष परमेश्वर साहले ठेकदारलाई आफूले फोन गर्दा नउठाएको गुनासो गर्दै भने, ‘यो विकास निर्माणको नाममा सरासर जनताको साथ ठुलो खेलवाड भएको छ । सम्बन्धित कार्यालयको बदमासी हो ।’ यसलाई नसच्याउने हो भने जनताको दबाब आफूले पनि थेग्न नसक्ने उनले बताए ।

यही सडक खण्डमा किराना पसल सञ्चालन गर्ने तपेश्वर साहले स्थानीय एकजुट नहुँदाको परिणामका रूपमा यसलाई टिप्पणी गरे । उनले भने, ‘एक त पक्की सडक उप्काएर ढल निकासको नाममा ग्राभेल हालेर सडकको अवस्था यस्तो गरिदियो । त्यसमा पनि मुख्य सडकको बिच भागको च्याम्बरसँगै दायाँबायाँ ढक्कन नहाल्दै ठेकदारलाई निकासा दिनु भनेको लापरवाहीको नमुना हो ।’

मधेस सरकारले पूर्वाधार मन्त्रालय मार्फत यो सडकको पक्की भाग उप्काउने र अन्डर ग्राउण्ड ह्युम पाइप राखेर ढल निकासी तथा सडक साइड चेम्बर निर्माणका लागि गत जेठमा टेन्डर आह्वान गरेको थियो । ई–बिडिङ मार्फत आह्वान गरिएको यो कामको ठेक्का स्थानीय मानवी कन्स्ट्रक्सनले हात पारेको थियो । आर्थिक वर्ष सम्पन्न हुन एक साता अघिबाट काम थालेको यो कन्ट्रक्सनले १०/१२ दिनमै काम सम्पन्न गरेको थियो ।

road Chamber-6

कन्ट्रक्सनका म्यानेजर विपिन महरासँग यो विषयमा जिज्ञासा लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । ठेक्का लगाउने पूर्वाधार विकास कार्यालयका साइट इन्जिनियर ज्योति साह पनि सम्पर्कमा आउन चाहँदिनन् ।

स्थानीय अनिल झाले भने, ‘साइट इन्जिनियर फिल्डमा नआइ कार्यालयमै बसेर मूल्याङ्कन गरिदिन्छन् । सोही आधारमा बजेट निकासा गरिन्छ, जबकि काम पूरा भएको हुँदैन ।’

पूर्वाधार मन्त्रालयले यो सडकको ढल निकासीका लागि १६७ मिटर लम्बाइको कामका लागि ३० लाख बजेट छुट्ट्याएको थियो । सोही ठेक्का मार्फत काम आधाअधुरा काम गरेर ठेकदार पन्छिएको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप