बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ

हस्तकला ग्राम र छुट्टै नीतिको अवधारणामा सहमति, हस्तकला विकास बोर्ड स्थापना गरिने
बुधबार, ०६ साउन २०८३, १५ : ५५
बुधबार, ०६ साउन २०८३

सारांश

  • सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ।
  • प्रधानमन्त्री बालेन्द्र साहले हस्तकला महासंघका पदाधिकारीहरूसँगको छलफलमा बोर्ड गठन प्रक्रिया अगाडि बढाउने सहमति जनाएका छन्।
  • हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने र सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने विषयमा पनि प्रधानमन्त्री सकारात्मक देखिएका छन्।

काठमाडौँ । सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ। 

प्रधानमन्त्री बालेन्द्र साहले बुधबार नेपाल हस्तकला महासंघका पदाधिकारीहरूसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडि बढाउने सहमति भएको हो।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासंघका अध्यक्ष रवीन्द्र शाक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिए। यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्याङ्कन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उनको भनाइ छ।

उनका अनुसार प्रधानमन्त्री साहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धता जनाएका छन्। विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिने महासंघको प्रस्तावमा पनि प्रधानमन्त्रीले सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको अध्यक्ष शाक्यले बताए।

प्रधानमन्त्रीसँग हस्तकला वस्तुको निर्यात प्रवर्धन, नगद अनुदान, भ्याटसम्बन्धी समस्या, हस्तकलाकर्मी तथा कलाकारको परिचय व्यवस्थापन, निष्क्रिय रहेको सार्क हस्तकला विकास केन्द्र सञ्चालन तथा हस्तकलाका लागि छुट्टै नीतिगत व्यवस्था आवश्यक रहेको लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री साहले हस्तकला व्यवसायसम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अध्यक्ष शाक्यका अनुसार प्रधानमन्त्रीले सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाउने तथा सार्वजनिक संरचनामा नेपाली हस्तकलाको प्रयोग बढाउन सरकार सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री साहले हस्तकला सामग्री निर्यात गर्दा बिजक मूल्याङ्कन अनिवार्य गर्ने व्यवसायीको सुझाव अनुसार नै काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए। हालसम्म व्यवसायीहरूले स्वघोषणाको आधारमा सामग्री निर्यात गरिरहेका छन्।

‘प्रधानमन्त्रीसँग असाध्यै सकारात्मक छलफल भएको छ,’ महासंघका अध्यक्ष शाक्यले भने, ‘हाम्रो अनुभवमा अहिलेसम्म यतिको गहन छलफल भएको थिएन। प्रधानमन्त्रीसँग देश विकासको हुटहुटी छ, रोजगार सिर्जनाका लागि गम्भीर हुनुहुन्छ।’

छलफलमा व्यावहारिक कुराहरू मात्र गरिएको बताउँदै उनले थपे, ‘हामीले विगत १५ वर्षदेखि मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्न माग राख्यौँ, उहाँले तुरुन्तै सम्बन्धित निकायमा पहल गरेर सकारात्मक निर्णय गर्छौँ भन्नुभयो।’

आजको छलफलको सबैभन्दा महत्त्वपूर्ण कुरा हस्तकला विकास बोर्ड खडा गर्ने अवधारणा बनेको उनले बताए। ‘हस्तकला क्षेत्रमा भएका समस्या, चुनौती र अवसरहरूलाई समष्टिगत रूपमा मूल्याङ्कन गरी निराकरण गर्न हस्तकला विकास बोर्ड खडा गर्ने अवधारणा संयुक्त रूपमा बनाउन सफल भयौँ,’ शाक्यले भने, ‘नेपाल सरकार र निजी क्षेत्रको बिचमा समन्वय गरेर बोर्ड खडा गर्ने कुरा भएको छ।’

नकासी, क्यास इन्सेन्टिभ, भ्याट, कलाकारको परिचय र थाती रहेको सार्क हस्तकला विकास केन्द्र सञ्चालनबारे पनि कुराकानी भएको उनले जानकारी दिए। ‘क्यास इन्सेन्टिभ र भ्याटको विषयलाई अहिले कार्यविधि बन्दैछ, सकारात्मक रूपमा समन्वय गरेर निराकरण गर्छौँ भन्ने प्रधानमन्त्रीको कुरा छ,’ उनले भने, ‘अन्य वस्तुहरूसँगै राखेर नीति बनाउने प्रावधान हटाएर नयाँ किसिमको हस्तकला नै हेर्ने नीति बनाउने विषयमा पनि सकारात्मक छलफल भएको छ।’

प्रदेश र सार्वजनिक संरचनामा हस्तकलाको प्रयोगबारे बोल्दै उनले थपे, ‘सातै प्रदेशमा हस्तकला ग्राम खडा गरेर रोजगार सिर्जना गर्न सकिने उहाँको हुटहुटी छ। सार्वजनिक रूपमा सरकारी र गैरसरकारी निकायमा संरचना निर्माण गर्दा अलि कलात्मक रूपमा हस्तकलामय हुनुपर्छ भन्ने सरकारको अवधारणा र हाम्रो माग हो।’

प्रधानमन्त्रीले हस्तकला सामग्री निर्यात गर्दा व्यवसायीहरूले पाउनुपर्ने ५ प्रतिशत रकमलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सो रकम तीन वर्षयता रोकिएको महासंघले जनाएको छ। उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री साहले विशेष चासो देखाएको अध्यक्ष शाक्यले बताए। निर्माण व्यवसायीहरूसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबिच सम्झौताका लागि पनि प्रधानमन्त्री सकारात्मक रहेका छन्।

नेपालको हस्तकला उद्योगले वार्षिक करिब २७ देखि २८ अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने गरेको छ। हाल ८२ प्रकारका नेपाली हस्तकला सामग्री ६० देशमा निर्यात भइरहेको महासंघले जनाएको छ। अनलाइन बजार विस्तार, युवा सहभागिता र सहज नीतिगत वातावरण सिर्जना गर्न सके हस्तकला क्षेत्रले निर्यात, राजस्व वृद्धि र रोजगारी सिर्जनामा अझ ठूलो योगदान पुर्‍याउन सक्ने देखिन्छ।

प्रधानमन्त्रीसँगको छलफलमा महासंघका अध्यक्ष शाक्यसँगै वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप