बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने

गोल्छा ग्रुपसँग सम्झौता नवीकरण, ९ विधामा सम्मान दिइने
बुधबार, ०६ साउन २०८३, १६ : ०८
बुधबार, ०६ साउन २०८३

सारांश

  • २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ १८ गते काठमाडौँमा आयोजना हुने भएको छ।
  • गोल्छा ग्रुपले लगातार १९ औँ वर्षसम्म अवार्डको मुख्य प्रायोजन गरेको छ र यसपटक १७ लाख नगद र पाँच वटा बाइक प्रदान गरिनेछ।
  • यसपटक ९ विधामा अवार्ड प्रदान गरिनेछ जसमा वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्।

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड' को २३ औँ संस्करण आगामी भदौ १८ गते काठमाडौँमा हुने भएको छ। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौँमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको २३ औँ संस्करणबारे जानकारी दिएको हो। 

यसपटक अवार्ड कार्यक्रम काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको 'द ब्लु प्याभिलियन' मा आयोजना हुनेछ। गत संस्करण भने पहिलोपटक उपत्यकाबाहिर पोखरामा आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा मञ्चले अवार्डको मितिसँगै मुख्य प्रायोजकबारे पनि जानकारी दिएको छ।

 मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र मुख्य प्रायोजक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कूल ४५ लाख रुपैयाँ बराबरको उक्त सम्झौतामा गोल्छा ग्रुप लगातार १९ औँ वर्षसम्म अवार्डसँग जोडिएको छ। अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता नवीकरण भइसकेको थियो।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकर्मीको सबैभन्दा लोकप्रिय अवार्डसँग १९ वर्षसम्म सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए। यसपटक १७ लाख नगद र पाँच वटा बाइक प्रदान गरिने उनको भनाइ छ। गोल्छा ग्रुपले यो अवार्डलाई सहकार्यभन्दा पनि दायित्वका रूपमा लिँदै आएको उनले बताएका छन्। खेलकुदका विभिन्न गतिविधिमा जोडिए पनि यो अवार्डले सबैभन्दा बढी उत्साह दिने र खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई प्रत्यक्ष रूपमा सम्मान गर्ने भएकाले विशेष आत्मीयता रहेको उनले उल्लेख गरे।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले यो अवार्ड समग्र नेपाली खेलकुदकर्मीहरूको साझा सम्मान भएको बताए। २३ औँ संस्करणसम्म निरन्तर रूपमा खेल क्षेत्रका लागि काम गर्न पाउँदा एनएसजेएफ परिवार उत्साहित रहेको उल्लेख गर्दै उनले अवार्डलाई अझ व्यवस्थित, निष्पक्ष र भव्य बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको जानकारी दिए।

मञ्चका महासचिव अन्जन खड्काका अनुसार यसपटक ९ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ।

प्रत्येक विधामा समान जनाको अन्तिम मनोनयन रहनेछ। उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक, पिपल्स च्वाइस र युवा विधाका विजेताले एक-एक थान बजाज मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई नगदसहित सम्मान प्रदान गरिने महासचिव खड्काले जानकारी दिएका छन्।

गत वर्ष दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, कविराज नेगी लामा वर्ष उत्कृष्ट प्रशिक्षक, भलिबलका हिमाल सुनारी पिपल्स च्वाइस अवार्ड र पूजा महतो वर्ष उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। त्यस्तै स्पेसल अवार्डबाट तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बाङ्गलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप