नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
सारांश
- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी एकता ढिला भइसकेकाले नयाँ पार्टी निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन्।
- उनले नेपाली कांग्रेस कमजोर भएमा प्रजातन्त्र र मुलुक दुर्घटनामा जाने खतरा रहेको भन्दै समयमै सचेत हुनुपर्नेमा जोड दिए।
- बस्नेतले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्ने र पार्टी फुटाउने नभई अर्को बलियो पार्टी बनाउनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन्।
बीपी स्मृति दिवसका अवसरमा बुधबार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता बस्नेतले पार्टी एकता गर्नका लागि निकै ढिला भइसकेकाले अब नयाँ ढङ्गबाट पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक नै दुर्घटनामा जाने खतरा रहेको भन्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताए। कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान दिन नहुने टिप्पणी गर्दै उनले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्ने बताएका छन्।
‘दुई महिना अघिदेखि नै पार्टी बनाउने काम गरेको भए अहिले महिनैपिच्छे समय थप्नुपर्ने स्थिति आउँदैनथ्यो,’ नेता बस्नेतले भने, ‘हामीबाटै कमीकमजोरी र ढिलासुस्ती भयो। त्यही कारणले हाम्रा साथीभाइहरू बाध्य भएर पार्टीभित्र आफ्नो अस्तित्व खोजिरहेका छन्।’
भ्रातृ सङ्गठनहरूको अवस्थाबारे बोल्दै उनले थपे, ‘१२-१५ वर्षमा पनि अधिवेशन हुँदैन। वृद्ध हुने बेला भइसक्यो तर तरुण दल भनेर बसेका छन्। अब योभन्दा पछिको जिम्मेवारी कसले लिने?’
नेपाली कांग्रेस कमजोर भए मुलुकको प्रजातन्त्र खतरामा पर्ने भन्दै उनले अगाडि भने, ‘नेपाली कांग्रेस कमजोर भयो भने मुलुकमा प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने होइन, मुलुक कसको हातमा जाने हो भन्ने कुरा पनि गम्भीर छ। त्यही कुरालाई ध्यानमा राखेर आज सातवटै प्रदेशको भेला भयो। लगत्तै राष्ट्रिय भेला गर्ने भनेका थियौँ, त्यसमा पनि ढिला भइरहेको छ।’
आजै केन्द्रीय भेलाको मिति घोषणा हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘हामीले पार्टी फुटाउने होइन, अर्को बलियो पार्टी बनाउने हो। गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरू सती जान दिने होइन। कमजोर पार्टीको नेता बन्नुभन्दा बलियो पार्टीको कार्यकर्ता बन्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण