बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’

पार्टीको इतिहास र पुराना नेताहरूलाई पन्छाएर काँग्रेसको विरासत जोगिँदैन: एनपी साउद
बुधबार, ०६ साउन २०८३, १६ : २४
बुधबार, ०६ साउन २०८३

सारांश

  • कांग्रेस नेता प्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म कांग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने बताएका छन्।
  • उनले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै संस्थापन इतर समूहका कार्यकर्ताहरू कांग्रेसको विचार र सिद्धान्तका असली भरोसा भएको दाबी गरेका छन्।
  • साउदले पार्टी निर्माणमा योगदान दिएका पुराना नेता-कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने भन्दै पार्टी एकताका लागि नेतृत्वले खुला हृदयले पहलकदमी लिनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबिच राजनीतिक एकता कायम नभएसम्म नेपाली कांग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन्।

बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे। उनले संस्थापन इतर समूहमा रहेका नेता-कार्यकर्ताहरू कसैका 'लास र दास' नभई नेपाली कांग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरेका छन्। मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकताबद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भूमिका र अग्रसरता लिनुपर्नेमा जोड दिए।

‘निर्वाचन आयोग र अदालतले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरे पनि जबसम्म राजनीतिक रूपमा विशेष अधिवेशनमा भाग लिने र नलिने कांग्रेसलाई एक बनाएर अगाडि बढ्न सक्दैनौँ, तबसम्म मुलुकका चुनौतीहरूलाई नेपाली कांग्रेसले सामना गर्न सक्दैन,’ साउदले भने, ‘मुलुकको चुनौतीहरूलाई सामना गर्ने शक्तिशाली मियो नेपाली कांग्रेस बन्न सक्दैन। यही कुरालाई दृष्टिगत गरेर पार्टी एकताको माध्यमबाट मुलुककै राजनीतिलाई रूपान्तरण गर्ने गरेर अगाडि बढ्नुपर्छ भनेर हामी अगाडि बढिरहेका छौँ।’

पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र सङ्घर्ष गरेका पुराना नेता-कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क छ।

साउदले थपे, ‘यहाँ ८० प्रतिशत मान्छे जेल गएका, दुःख पाएका, पार्टी निर्माणमा लाठी खाएका, पार्टीको जिम्मेवारी बोकेका र भविष्यमा पनि सङ्घर्ष गर्ने साथीहरू उपस्थित हुनुहुन्छ। त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्वमा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन्, यी भरोसा र विश्वास हुन्।’

पार्टीभित्र एकताको आवश्यकता औँल्याउँदै उनले भने, ‘जबसम्म तपाईँहरूले सच्चिएर, सबै मिलेर मात्रै लडाइँ जित्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढ्न सक्नुहुन्न, तबसम्म नेपाली कांग्रेस प्रभावकारी र बलियो पार्टीका रूपमा स्थापित हुन सक्दैन।’

२००७ सालको क्रान्ति, पञ्चायतविरुद्धको आन्दोलन र राजतन्त्र अन्त्यका लागि कांग्रेसले खेलेको ऐतिहासिक भूमिका र बलिदानलाई बिर्सन नहुने उनले बताए। ‘नेपाली कांग्रेसको इतिहास र विरासतलाई पन्छाएर, ७ सालको क्रान्ति, पञ्चायत र राजा फ्याँकेको इतिहास पन्छाएर विरासत कायम राख्न सकिँदैन,’ साउदले भने, ‘यहाँ उपस्थित नेताहरू व्यक्ति मात्रै होइनन्, सबैसँग जेल गएको, बलिदान र योगदान गरेको इतिहास छ।’

नेतृत्वले खुला हृदयका साथ पार्टी एकताका लागि पहलकदमी नलिए नेपाली कांग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा मात्र खुम्चिने जोखिम रहेको चेतावनी दिँदै उनले अगाडि भने, ‘तपाईँहरूले खुला हृदयले जबसम्म पार्टी एकताका लागि विशेष अधिवेशनमा नगएको पक्ष र गएको पक्षका बिचमा एकता गर्ने कुरामा पहलकदमी गर्न सक्नुहुन्न, तबसम्म नेपाली कांग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा रहने कुरामा अहिले पनि जोखिम छ।’ Party को ऐतिहासिक गरिमा र विरासत कायम राख्न नेतृत्वले सबैलाई मिलाएर लैजाने सङ्कल्प गर्नुपर्नेमा उनको विशेष जोड थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप