युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
सारांश
- युक्रेनले रुसको अनलाइन रिटेल कम्पनी वाइल्डबेरीजका दुईवटा गोदाममा ड्रोन आक्रमण गरेको छ, जसमा कम्तीमा १५ जना घाइते भएका छन् ।
- यी आक्रमणहरू क्रास्नोडार र स्टाभरोपोल क्षेत्रमा भएका हुन्, जहाँबाट रूसी सेनालाई सैन्य सामग्री आपूर्ति भइरहेको युक्रेनको दाबी छ ।
- युक्रेनले तेल भण्डारण केन्द्र र रुसी जहाजहरूमाथि पनि आक्रमण गरेको दाबी गरेको छ ।
मस्को । युक्रेनले रूसको सबैभन्दा ठूलो अनलाइन रिटेल कम्पनी वाइल्डबेरीजका थप दुईवटा गोदाममा ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १५ जना घाइते भएको कम्पनीकी संस्थापक तथा स्थानीय अधिकारीहरूले बताएका छन् ।
बुधबार राति गरिएको ड्रोन आक्रमणमा दक्षिणपश्चिमी रूसका क्रास्नोडार र स्टाभरोपोल क्षेत्रको नेभिन्नोमिस्क सहरस्थित वाइल्डबेरीजका लजिस्टिक्स केन्द्रहरू प्रभावित भएका हुन् । आक्रमणपछि त्यहाँ कार्यरत कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको कम्पनीले जनाएको छ ।
यो चार दिनभित्र वाइल्डबेरीजका पूर्वाधारमाथि भएको दोस्रो आक्रमण हो । गत शनिबार ताम्बोभ र इलेक्ट्रोस्टाल स्थित कम्पनीका गोदामहरूमा भएको ड्रोन आक्रमणमा आठ जनाको मृत्यु भएको थियो ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले क्रास्नोडार र स्टाभरोपोल क्षेत्रका ती लजिस्टिक्स केन्द्रहरूमा आक्रमण गरिएको पुष्टि गर्दै ती केन्द्रहरूबाट रूसी सेनालाई ड्रोनका पुर्जा, नेभिगेसन उपकरण र अन्य सैन्य सामग्री आपूर्ति भइरहेको दाबी गरेका छन् ।
वाइल्डबेरीजकी संस्थापक तात्याना किमले पनि दुवै गोदाममा आक्रमण भएको पुष्टि गरेकी छिन् । टेलिग्राममार्फत जारी सन्देशमा सामान्य कर्मचारीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै कठिन परिस्थितिका बाबजुद कम्पनीले आफ्नो सेवा निरन्तर जारी राख्ने उनले बताइन् ।
स्टाभरोपोल क्षेत्रका गभर्नर भ्लादिमिर भ्लादिमिरोभका अनुसार नेभिन्नोमिस्कस्थित गोदाममा भएको आक्रमणमा पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार गरिएको छ ।
त्यस्तै, क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्रात्येभले गोदाममा भएको अर्को आक्रमणमा १० जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
बीबीसी भेरिफाइले प्रमाणीकरण गरेका भिडियोहरूमा दुवै गोदाममा आगलागी भएको देखिन्छ । क्रास्नोडारस्थित गोदामबाट बाक्लो कालो धुवाँ आकाशतर्फ उडिरहेको र आगोको ठूलो मुस्लो देखिएको छ । नेभिन्नोमिस्कको भिडियोमा गोदामबाट धुवाँ निस्किरहँदा बाहिर मानिसहरू भेला भएको र बिच–बिचमा विस्फोट भइरहेको देखिन्छ ।
क्रास्नोडारका गभर्नरका अनुसार उक्त क्षेत्रमा रातभर व्यापक ड्रोन आक्रमण भएको थियो । ड्रोनका भग्नावशेष आर्माभिर सहरस्थित एक कम्पनीमा खस्दा एक कर्मचारीको मृत्यु भएको छ ।
साथै, स्थानीय प्रशासनका अनुसार एक तेल भण्डारण केन्द्रमा पनि आक्रमण हुँदा आगलागी भएको छ । यस्तै, ड्रोनका टुक्रा क्रास्नोडारका दुई आवासीय भवन र डिन्स्काया गाउँका दुई घरमा समेत खसेका थिए ।
यद्यपि, ती घटनामा कुनै मानवीय क्षति भएको छैन । राष्ट्रपति जेलेन्स्कीले युक्रेनले तेल भण्डारण केन्द्रका साथै आजोभ र कालो सागर क्षेत्रमा सञ्चालनमा रहेका रूसको छद्म जहाजको सञ्जालका एक ट्याङ्कर र चार मालवाहक जहाजलाई पनि निशाना बनाएको दाबी गरेका छन् ।
रूसले युक्रेनमाथिको पूर्ण आक्रमणपछि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न यस्ता जहाज प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । युक्रेनी सुरक्षा तथा सहकार्य केन्द्रका अध्यक्ष सेर्ही कुजानका अनुसार वाइल्डबेरीजको वेबसाइटमार्फत रूसी स्वयंसेवकहरूले सैन्य सामग्री खरिद गर्ने गरेको जानकारीका आधारमा कम्पनीका लजिस्टिक्स केन्द्रहरूलाई लक्ष्य बनाइएको हो ।
यस्ता आक्रमणको उद्देश्य रूसी सेनालाई पुग्ने दोहोरो प्रयोगका सामग्री, अत्याधुनिक इलेक्ट्रोनिक उपकरण तथा अन्य आवश्यक वस्तुको आपूर्ति प्रणालीमा अवरोध सिर्जना गर्नु भएको उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण