शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

बिहीबार, ०७ साउन २०८३, १७ : ४७
बिहीबार, ०७ साउन २०८३

सारांश

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् ।
  • मुख्यमन्त्री बानियाँसहित ८ सदस्यीय मन्त्रिपरिषदमा शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी, उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण, कञ्चनचन्द्र बादेले स्वास्थ्य तथा सामाजिक विकास, प्रभात तामाङले आर्थिक मामिला तथा योजना, सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ र  बिनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
  • एमालेले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ६ मन्त्रीलाई सामूहिक राजीनामा गराएपछि मुख्यमन्त्री बानियाँले रिक्त मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूलाई जिम्मेवारी प्रदान गरेका हुन् ।

हेटौँडा । बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौजुदा मन्त्रिपरिषद्मा कार्य विभाजन गरेका हुन् ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख देवकाटाले बिहीबार मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री बानियाँसहित ८ सदस्यीय मन्त्रिपरिषदमा जिम्मेवारी बाँडफाँड गरिएको छ ।

मुख्यमन्त्री बानियाँको नेतृत्वमा शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र  बिनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

साउन ७ गते बिहीबारदेखि लागू भएको उक्त कार्य विभाजनसँगै बागमतीमा ८ मन्त्रालयमा मन्त्री कायम भएको छ भने प्रदेश सरकारले पूर्णता पाएको छ । 

प्रदेश सरकारको गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा ८ मन्त्रालय कायम हुने गरी १४ मन्त्रालयलाई घटाएको थियो । उक्त निर्णय साउन १ गतेबाट लागू गरिए पनि सत्ता गठबन्धनका कारण ६ मन्त्री विना विभागीय रहेका थिए । जसमा एमालेका ३ र कांगेसका ३ मन्त्री विना विभागीय रहेका थिए भने सरकारमा एमालेका ३ र कांग्रेसबाट मुख्यमन्त्री बानियाँसहित ५ मन्त्री रहेका थिए ।

उक्त अवस्थाका बिच बुधबार मात्र एमालेले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ६ मन्त्रीलाई सामूहिक राजीनामा गराएको थियो । एमालेबाट मधुसूदन पौडेल, डा.दिनेशचन्द्र देवकोटा, विन्दु श्रेष्ठ, किरण थापामगर, जयराम थापा र भरतबहादुर केसीले मन्त्रीबाट राजीनामा गरेका थिए ।

मुख्यमन्त्री बानियाँले एमालेका ६ मन्त्रीले राजीनामा दिएसँगै रिक्त रहेका ३ मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूलाई जिम्मेवारी प्रदान गरेका हुन् । कांग्रेसका मन्त्रीहरू नेपाल, श्रेष्ठ र पौडेललाई यसअघि विना विभागीय भूमिकामा रहेका थिए । उनीहरूले पाएको जिम्मेवारीको मन्त्रालय यसअघि एमालेका मन्त्रीहरूले सम्हाल्दै आएका थिए ।

सूची-

752538693_1045710561727048_8393681419891327066_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप