शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर

बिहीबार, ०७ साउन २०८३, २० : ३१
बिहीबार, ०७ साउन २०८३

काठमाडाैँ। मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ । अध्ययनअनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आद्र्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन् चर्किएको हो।

जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्मका धेरै देशले सुक्दै गएका नदी, पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन् । युरोप अहिले व्यापक खडेरीको चपेटामा परेको छ ।

विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) समूहको अध्ययनकी सहलेखक मरियम जचारियाले वसन्त ऋतुमा युरोपका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा भए पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले खडेरीलाई अझ गम्भीर बनाएको बताउनुभयो । उहाँका अनुसार अध्ययनले खडेरीको मुख्य कारण वर्षाको कमीभन्दा पनि तातो वातावरणले जमिनबाट बढी आद्र्रता तानेको देखाएको छ।

इम्पेरियल कलेज लन्डनमा कार्यरत जचारियाले तातो वातावरणका कारण वर्षा सामान्य रहने वा भविष्यमा केही बढ्ने अनुमान गरिएका क्षेत्रमा समेत खडेरीको जोखिम बढ्दै गएको बताए। वैज्ञानिकहरूका अनुसार तापक्रम प्रत्येक एक डिग्री सेल्सियस बढ्दा वायुमण्डलले करिब सात प्रतिशत बढी जलवाष्प धारण गर्न सक्छ र यसका कारण माटो र वनस्पतिबाट पानीको वाष्पीकरण तीव्र हुन्छ।

अध्ययनमा सन् १८५०–१९०० को पूर्व–औद्योगिक अवस्थासँग तुलना गर्दा कोइला, तेल र ग्यासको अत्यधिक प्रयोगका कारण पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियस बढिसकेको उल्लेख गरिएको छ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले खडेरी, बाढी र गर्मीको लहरजस्ता चरम मौसमीय घटना थप बारम्बार र तीव्र बनाइरहेको छ । विश्वकै सबैभन्दा तीव्र रूपमा तापक्रम बढिरहेको महाद्वीप युरोप भएकाले यसको प्रभाव त्यहाँ अझ स्पष्ट देखिएको अध्ययनले औँल्याएको छ।

कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार गत जुन पश्चिमी युरोपमा हालसम्मकै सबैभन्दा तातो जुन महिना बनेको थियो । उक्त गर्मीका कारण हजारौँ अतिरिक्त मृत्यु भएको अनुमान गरिएको छ ।

अध्ययनका अर्का सहलेखक तथा इटीएच जुरिचका डोमिनिक शुमाकरले जाडोयाममा पर्याप्त वर्षा भएका क्षेत्रसमेत केही महिनामै असाधारण रूपमा सुक्खा बनेको बताए। उनका अनुसार तातो हावाले माटोको आद्र्रता तीव्र रूपमा घटाउने, त्यसपछि तापक्रम अझ बढ्ने र माटो झन् सुक्दै जाने दुष्चक्र सिर्जना हुन्छ । यसले डढेलो फैलिने जोखिमसमेत उल्लेखनीय रूपमा बढाएको उनको भनाइ छ।

यस अध्ययनका लागि युरोप, संयुक्त राज्य अमेरिका र बेलायतका वैज्ञानिकहरूले मौसमसम्बन्धी तथ्याङ्क र कम्प्युटर मोडेलको विश्लेषण गरी हालको तातो जलवायु र पूर्व–औद्योगिक अवस्थाको तुलना गरेका थिए।

अध्ययनअनुसार जलवायु परिवर्तन नभएको अवस्थाको तुलनामा अहिले पश्चिमी युरोपमा अत्यधिक सुक्खा माटो हुने सम्भावना पाँच गुणा र पूर्वी युरोपमा ११ गुणा बढी छ । त्यस्तै, पश्चिमी युरोपमा अप्रिलदेखि जुनसम्म माटो र वनस्पतिबाट आद्रता सोस्ने वातावरणीय क्षमता करिब ८० गुणा बढी हुने सम्भावना देखिएको छ।

जचारियाले अहिलेको वायुमण्डल पहिलेभन्दा धेरै ‘तिर्खाएको’ अवस्थामा पुगेकाले पहिले सामान्य मानिने वर्षाको कमीले पनि अब निकै गम्भीर खडेरी निम्त्याउन सक्ने निष्कर्ष अध्ययनले प्रस्तुत गरेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप