महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
सारांश
- काठमाडौँको महाराजगन्जमा भएको सवारी दुर्घटनामा इभी माइक्रोका चालकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
- बसुन्धरा चोकबाट चाबहिलतर्फ जाँदै गरेको माइक्रोबसले रोकिरहेका अन्य सवारी साधनहरूलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
- दुर्घटनामा १० वटा सवारी साधनहरूमा क्षति पुगेको छ र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार (आज) साँझ भएको सवारी दुर्घटनामा परेर इभी (विद्युतीय) माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज साँझ करिब ७ः१५ बजेको समयमा बसुन्धरा चोकबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको इभी माइक्रोले सोही दिशातर्फ गुडिरहेका अन्य सवारी साधनहरूलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका माइक्रो चालक लमजुङको सिङ्दी गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँको कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवाललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकहरूले राती ८ः१० बजे मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये ५ जनाको त्रिवि शिक्षण अस्पताल र १ जनाको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बा प्र ०२ ०५६ प ६३५५ नम्बरको इभी स्कुटीका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ६ घर भई हाल कपन बस्ने ३७ वर्षीय सरोज ढुङ्गाना र स्कुटीको पछाडि सवार उनकी श्रीमती ३५ वर्षीया विनिता ढकाल रहेका छन् ।
उनीहरूमध्ये सरोजको आँखामा र विनिताको दायाँ खुट्टा तथा बायाँ कानमा चोट लागेको छ र दुवैको अवस्था सामान्य रहेको छ । यसैगरी बा ५५ प १०७८ नम्बरको मोटरसाइकलका चालक उदयपुर घर भई हाल धुम्बाराही बस्ने ३३ वर्षीय सूर्य मगर र मोटरसाइकलको पछाडि सवार ६१ वर्षीय ज्ञानबहादुर सुनुवार पनि घाइते भएका छन् । सूर्यको दायाँ कुइनो र कम्मरमा तथा ज्ञानबहादुरको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने दुवैको अवस्था सामान्य रहेको छ ।
यस्तै, बा ४ ख ७८२४ नम्बरको बसमा सवार यात्रु कालिकोट घर भई हाल कपन बस्ने ३५ वर्षीय गणेशबहादुर शाही पनि घाइते भएका छन् । उनको कानमा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ । बा प्र ०१–००२ ज ९५०२ नम्बरको ट्याक्सीमा सवार यात्रु टोखा नगरपालिका वडा नं. ६ बस्ने ४४ वर्षीया पूर्ण गिरीको टाउकोमा चोट लागेको छ । मध्यम अवस्थामा रहेका गिरीको भने मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा आएको माइक्रोको ठक्करबाट सडकमा गुडिरहेका १० वटा सवारी साधनहरूमा क्षति पुगेको छ । ठक्कर दिने माइक्रोको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ । यसैगरी बा ४ ख ७८२४ नम्बरको भाडाको बस, बा १ य २२८६ नम्बरको विद्युत् कार्यालय बसुन्धराको टाटा बस, बा प्र ०२ ०५६ प ६३५५ नम्बरको इभी स्कुटी र बा ५५ प १०७८ नम्बरको मोटरसाइकलको पछाडिको भागमा क्षति पुगेको छ ।
दुर्घटनामा बा ७१ प २९६९ र बा ६४ प ३३११ नम्बरका मोटरसाइकलहरूमा पनि क्षति पुगेको छ भने बा २ ज २२०७ नम्बरको ट्याक्सी, बा प्र ०१–००२ ज ९५०२ नम्बरको ट्याक्सी र बा प्र ०१–०३४ च ८८६४ नम्बरको इभी माइक्रोको पछाडिको भागमा क्षति पुगेको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण