मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
सारांश
- मालीको अदालतले पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैदको सजाय सुनायो।
- उनी सरकारविरुद्ध षड्यन्त्र र राज्य सङ्गठन अस्थिर पार्ने दोषी ठहरिए।
- गोइताले आरोप अस्वीकार गर्दै यातनाको दाबी गरेका थिए।
काठमाडौँ । मालीको अदालतले शुक्रबार मालीको पूर्व गुप्तचर प्रमुखलाई ‘सरकारविरुद्ध षड्यन्त्र’ गरेको आरोपमा १५ वर्षको कैद सजाय सुनाएको छ । उनले १० दिनसम्म चलेको मुद्दाको सुनुवाइका क्रममा सत्तारूढ जुन्ता नेतृत्वमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए ।
देशका पूर्व गुप्तचर प्रमुख कर्नेल कासुम गोइताविरूद्ध राज्यका सङ्घसंस्थाहरूलाई अस्थिर बनाउने र सत्तापलटको प्रयास गरेको आरोपमा मुद्दा चलाइएको थियो ।
उनलाई आपराधिक षड्यन्त्रका साथै सरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
मुद्दाको सुनुवाइका क्रममा गोइताले आरोप अस्वीकार गर्दै सत्तारूढ अधिकारीहरूलाई राज्य कोषको दुरुपयोग गरेको र आफूलाई यातना दिएको खुला आरोप लगाएका थिए ।
गोइता सन् २०२० अगस्टमा निर्वाचित राष्ट्रपति इब्राहिम बुबकार केइतालाई सत्ताच्युत गर्ने सैनिक कूमा संलग्न सेना अधिकारीमध्ये एक हुन् । उक्त कूको नेतृत्व कर्नेल असिमी गोइताले गरेका थिए ।
दुवैको एउटै थर भए पनि उनीहरूबिच कुनै नाताको सम्बन्ध छैन ।
कूटनीतिक दबाबपछि सेनाले सत्तालाई नागरिक नेतृत्वको अन्तरिम सरकारलाई हस्तान्तरण गरेको थियो, जसको जिम्मेवारी मालीलाई फेरि नागरिक शासनतर्फ फर्काउने थियो ।
कासुम गोइता उक्त अन्तरिम सरकारको पालामा देशको आन्तरिक गुप्तचर प्रमुख बनेका थिए ।
सन् २०२१ मा असिमी गोइताले दोस्रो पटक सत्तापलट गर्दै अन्तरिम सरकारका नेताहरूलाई हटाएर आफैँ अन्तरिम राष्ट्रपति घोषित भएपछि कासुम गोइतालाई पदबाट हटाइएको थियो ।
प्रहरी महान्यायाधिवक्ताले गोइता र अन्य पाँच प्रतिवादीका लागि २० वर्ष कैद माग गरेका थिए ।
मुद्दामा दोषी ठहर भएका सबै छ जनाले आरोप अस्वीकार गरेपनि उनीहरूलाई ७ देखि १५ वर्षसम्मको कैद सजाय सुनाइएको छ ।
“हामी यो फैसलाबाट आश्चर्यचकित भएका छैनौँ। हामी घरेलु कानुनी विकल्पहरू सबै प्रयोग गर्नेछौँ र त्यसपछि अन्य निकायमा जाने योजना छ,” गोइताका एक वकिलले एएफपीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण