आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
अपडेट

प्रश्नपत्र लिक घटनाको छानबिन समितिमाथि नै प्रश्न

आइतबार, १० साउन २०८३, १३ : ३१
आइतबार, १० साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
  • परीक्षा केन्द्र तोक्ने अख्तियारी पाएको त्रिवि डिन कार्यालयले आफैँ छानबिन समिति गठन गर्दा यसको निष्पक्षतामाथि प्रश्न उठेको हो ।
  • एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मच्चिएको छ ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ । परीक्षा केन्द्र तोक्ने अख्तियारी पाएको त्रिवि व्यवस्थापन डिन कार्यालयले आफैँ छानबिन समिति गठन गर्दा यसको निष्पक्षतामाथि प्रश्न उठेको हो ।

त्रिविका एक अधिकारीले परीक्षा केन्द्रको अन्तिम निर्णय लिने निकाय डिन रहेको र यो घटनाको छानबिन कमिटी समेत डिन कार्यालयबाटै भएकाले यसको निष्पक्षतामाथि प्रश्न रहेको बताए । उनले भने– ‘आफैँ झाँक्री आफैँ बोक्सी भन्या जस्तो दिन कार्यालय नै दोषी भएर उसले आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरा कतिको सान्दर्भिक हुन्छ ।’ 

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न आइतबार बिहान एक समिति गठन गरेको छ ।

छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा.अच्युत ज्ञवाली रहेका छन् । यस्तै, सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् ।

समितिलाई सात दिन समय दिइएको त्रिवि व्यवस्थापन सङ्कायका सहायक डिन डा.भरत राईले रातोपाटीलाई जानकारी दिए । त्रिविका निमित्त रजिस्ट्रार समेत रहेका व्यवस्थापन सङ्कायका डिन प्रा.डा.महानन्द चालिसेले समितिको प्रतिवेदनलाई अक्षरश कार्यान्वयन गर्ने बताए । चालिसेले रातोपाटीसँग भने– ‘म डिन मात्रै नभई परीक्षा समितिको संयोजक पनि हुँ । निष्पक्ष छानबिन हुन्छ । यस विषयलाई सरकारले समेत चासोका साथ हेरेको छु । जो दोषी देखिन्छ त्यसलाई कानुन बमोजिम कारबाही हुन्छ । यसमा निश्चिन्त हुनुहोस् । ’

त्रिविको स्नातकोत्तर तह एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मच्चिएको छ । 

बिहीबार देशभरका क्याम्पसहरूमा सञ्चालित परीक्षाको प्रश्न पत्र १२ बजेर ६ मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि त्रिविको परीक्षा प्रणालीको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो । यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले समेत चासो देखाएको छ ।

754699819_1785149089319408_6235202139015369626_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप