आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
सांसदसँग

सांसदका रूपमा गर्नुपर्ने उत्तरदायित्व पूरा गर्छु: मोहन आचार्य

रसुवाको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्छु
आइतबार, १० साउन २०८३

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा जिल्लाबाट तेस्रो पटक प्रतिनिधिसभामा पुग्ने अवसर पाएका छन् । ४८ वर्षीय आचार्यको रसुवामा पारिवारिक राजनीतिक प्रभाव छ ।

रसुवाको लहरेपौवामा जन्मिएका आचार्यले २०८२ को निर्वाचनमा १० हजार ६ सय ५६ मत प्राप्त गरेर संसद्को यात्रा तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसन्त भट्टलाई ५ हजार ८५ मतले पराजित गर्दै संसद् पुगेका आचार्य चतुर नेता मानिन्छन् ।

उनी २०४८ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए । आचार्यसँग 'सांसदसँग' स्तम्भका लागि गरिएको कुराकानी:

  • रसुवा जिल्लाबाट तपाईंले तेस्रो पटक चुनाव जित्नुभयो । तेस्रो पटकसम्म जिताएर संसद्‌सम्म पठाउनुहुने रसुवाका जनतालाई के भन्न चाहनुहुन्छ ?

म उहाँहरूप्रति धेरै आभारी छु । उहाँहरूले अहिलेसम्म मलाई जुन माया र विश्वास दिनुभयो त्यसका लागि मेरो व्यक्तिगत तर्फबाट आभार प्रकट गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु । अहिलेलाई म यति मात्र भन्न चाहन्छु ।

  • रसुवाका लागि तपाईं परिचित नै हुनुहुन्छ, बाँकीलाई अलिकति तपाईंको पृष्ठभूमि बताइदिनुस् न ।

म विद्यार्थीकालदेखि नै नेविसंघमा केही समय आबद्ध रहेँ । एसएलसीपछि मैले भारतमा पढेँ । प्लस टु पूरा गरेर मैले ब्याचलर लेभल सिभिल इन्जिनियरिङ फिलिपिन्सबाट गरेँ । फेरि नेपालमै फर्किएँ ।

मेरो पारिवारिक व्यापार थियो । व्यापार गर्दै, देशको सेवा गर्दै र जनताहरूको बीचमा गएर नेपाली कांग्रेसमा आबद्ध भएँ । सन् २०१७ देखि सक्रिय राजनीतिमा होमिएँ । नेपाली कांग्रेसमा आबद्ध भएर केन्द्रीय सदस्य छु । र, प्रतिनिधिसभा सदस्यका रूपमा यो मेरो तेस्रो कार्यकाल हो ।

  • यो पालिको चुनावमा जनतासँग के–के प्रतिबद्धताहरू गर्नुभएको थियो ? तपाईंका एजेन्डाहरू के–के थिए ?

कतिपय मैले गर्नुपर्ने कामहरू बाँकी थिए । रसुवा हिमाली र पहाडी क्षेत्र समेटिएको जिल्ला हो । भूगोलको चुनौती छ, सडक सञ्जालका विषयहरू सधैँ पेचिला छन् । सङ्घीयता लागू भएपछि धेरैजसो भूगोलहरूमा सडक सञ्जाल पुर्‍याउने र त्योभन्दा पहिला विद्यालयहरूमा स्वास्थ्य सेवा दिलाउने, भूगोलको कठिनाइ भएको ठाउँमा बाटोको व्यवस्था गर्ने मेरो चुनौती रह्यो । धेरै ठाउँमा काम गर्दै आएको छु । अझ धेरै गर्न बाँकी छ ।

विकास गर्ने कुराहरू निरन्तर भइरहने कुरा हुन् । विद्यालयको भौतिक संरचना, भुईँचालोले थिलथिलो भएका क्षेत्र, कतिपय भूगोलमा जनताहरू बस्न नमिल्ने अवस्था छ, अहिले पनि मेरा रसुवाली दाजुभाइ दिदीबहिनीहरू नजिकको जिल्ला नुवाकोटमा गएर बसिरहनुभएको छ । कतिपय पुनर्निर्माणका कामहरू अझै पनि बाँकी छन् । त्यो प्रक्रियामा कानुनी समस्या र झन्झटिला कुराहरूलाई टुङ्ग्याउँदै काम गरिरहेको छु ।

सबैभन्दा खानेपानीको ठूलो समस्या छ । २०४३ सालमा तत्कालीन अवस्थामा मेरा आदरणीय ठूलोबुबा स्वर्गीय रामशरण आचार्यले नौकुण्ड खानेपानीको कुरा गर्नुभयो । मैले भूगोलहरू अध्ययन गर्दा एउटै सोर्सबाट लगभग ६३ हजार जनसङ्ख्यालाई पुग्न सक्ने पानी ग्राभिटी फ्लोमा दिन सक्ने सोच राखेर अघि बढेको छु । तर इआईए (विगत सात–आठ वर्षदेखि अघि बढेको छैन । यो पास भयो भने यसले पूर्ण रूप पाउँछ भन्ने विश्वास छ ।

  • संसद्‌मा कस्ता विषयवस्तुहरूमा आवाज उठाउन मन लाग्छ ?

स्वाभाविक रूपले मेरा रसुवाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नुभएका कठिनाइका कुराहरूमा आवाज उठाउन मन लाग्छ । त्यहाँ धेरै हाइड्रो पावरहरू छन् । हाइड्रो पावरहरू बनाउँदै गर्दा जुन ढङ्गले कम्युनिटी सीएसआरर कम्युनिटी सपोर्टका प्रोग्रामहरू छन्, ती पारदर्शी ढङ्गले नभएको जस्तो मेरो अनुमान छ । त्यसमा जनताले लाभ पाऊन् भनेर लागेको छु ।

त्यहाँ कतिपय 'लाइफ लाइन'सँग जोडिएको नेसनल हाइवे छ । त्यसलाई फेरि अपग्रेड गर्नुपर्छ, यो विषयमा पनि लागिरहेको छु । पुनर्निर्माणका कुराहरू गर्नुपर्नेछ, त्यो विषयमा पनि लाग्दै छु । हामीसँग धार्मिक क्षेत्र गोसाईँकुण्ड जस्तो पवित्र धाम छ । काठमाडौँबाट यति नजिकै लाङटाङ भ्याली त्यहीँ छ । त्यसको पदमार्गलाई अपग्रेड गर्नुपर्ने, पूर्वाधारहरू विकास गर्नुपर्ने कुरामा म लागिरहेको छु । अर्को आमाछोदिङ्मो गाउँपालिकामा पार्वतीकुण्ड जस्तो ठाउँ छ, त्यसको अपग्रेड गर्नु छ । सेन्जेन भ्याली रसुवा जिल्लाको चिलिमे वडामा पर्छ । यो धेरै सुन्दर ठाउँ छ, त्यसको अझ अपग्रेड गर्नु छ । यस्ता चिजहरूमा म लागिरहेको छु । कतिपय भूगोलहरूमा पुल-पुलेसाहरू बनाउनु थियो, ती बनाउँदै गएका छौँ । कतिपय ठाउँमा अझै बनाउन बाँकी छन् । बाँकी बनाउने काममा म लागिरहेको छु ।

पर्यटन व्यवसायी, कृषिमा लाग्नुभएका साथीहरूलाई सहयोग गर्ने र सडक सञ्जाल पुर्‍याउने कुरामा म लागिरहेको छु । यी कुराहरू चाँडोभन्दा चाँडो सकाउनुपर्ने भएकाले म निरन्तर लागिरहेको छु ।

  • यो कार्यकाललाई अर्थपूर्ण र महत्त्वपूर्ण बनाउन संसद्‌मा कस्तो भूमिका खेल्नुहुनेछ ? के–कस्ता योजनाहरू छन् ?

स्वाभाविक रूपले मेरा हिजोकै कामहरू धेरै बाँकी छन् । अहिले राष्ट्रको जनमतले हामी प्रतिपक्षमा छौँ । सरकार रास्वपाको छ । उहाँहरूको योजना कार्यान्वयन गर्ने कुराहरू हेर्दै छौँ । जनताका लागि उहाँहरूले कुन ढङ्गको कार्यक्रम लिएर आउनुहुन्छ, त्यसपछि प्रतिनिधिसभा सदस्यको नाताले अतिरिक्त रसुवा जिल्लाले पाउने सुविधाका कुराहरूबारे भन्न सक्छु । मेरो बलबुता, सम्बन्ध र मैले गर्नुपर्ने उत्तरदायित्वका कुराहरू पूरा गर्ने नै छु । रसुवाली दाजुभाइ दिदीबहिनीहरूलाई सुविधायुक्त बनाउन मेरो निरन्तर प्रयास रहन्छ । त्यसमा ध्यान दिएरै म काम गर्नेछु ।

  • तेस्रो पटक संसद्‌मा आउँदा केही फरक महसुस भएको छ कि ?

स्वाभाविक रूपले २०७४ देखि आजसम्म आउँदै गर्दा ७४ को संसद्‌मा हामी प्रतिपक्षमा थियौँ । ७९ मा नेपाली कांग्रेस ठूलो पार्टी बन्यो । हामी सरकारमा सम्मिलित भयौँ तर हाम्रो प्रधानमन्त्री बन्न सक्नुभएन । विभिन्न कुराले गर्दा भदौ २३ र २४ को आन्दोलन भयो । आन्दोलनपछि नेपालमा भइरहेका पार्टीहरूको संरचनामा धेरै कुराहरू परिवर्तन भए । अहिलेको सदनमा धेरै नयाँ पार्टीका साथीहरू आउनुभएको छ ।

रास्वपाको लगभग दुई तिहाइको सरकार छ । उहाँहरूले कसरी अगाडि बढाउनुहुन्छ भन्ने कुराहरू हेर्न बाँकी नै छ । स्वाभाविक रूपले नयाँ अनुभव गर्ने कुरा त भइ नै हाल्यो । लामो समयदेखि राजनीति गर्दै आउनुभएको राजनीतिक दलको नेतृत्वले गर्न सक्ने कुराहरू अनुमान गर्न सकिन्थ्यो । अहिले संसद्‌मा हामी हिजोभन्दा अलिकति फरक दृश्य पाउँदै छौँ । भोलि कस्तो हुन्छ, समयले साबित गर्दै जाला । कतिपय कुराहरू उहाँहरू पनि सिक्दै हुनुहुन्छ जस्तो मलाई लाग्छ । कतिपय कुराहरू राम्रा होलान्, कतिपय कुराहरूमा उहाँहरूले 'रिथिङ्क'  गर्नुपर्ने जस्तो मलाई लाग्छ ।

आम जनतालाई नयाँ सरकारले सार्वभौमसत्ताको मालिक कसरी बनाउँछ, नेपाली जनताहरू कसरी सन्तुष्ट हुन्छन्, त्यही हेर्न बाँकी छ । हिजोभन्दा आज केही फरक कुराहरू छन् । अझ ठोस निर्णय लिन बाँकी नै छ । भर्खरै सरकारले १०० दिन पार गरेको छ । त्यसले गर्दा अहिले अनुमान मात्र गर्न सकिन्छ ।

  • रसुवाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

म तपाईंहरूको बीचमा सधैँ इमानदार, निष्कलङ्क भएर तपाईंहरूको साथमा रहनेछु । तपाईंहरूको बीचमा बत्ती भएर बस्नेछु । मैले आफ्नो बलबुता र मेरो बुद्धिले भ्याएसम्म तपाईंहरूको सेवामा रहनेछु । पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुविधा, पर्यटन क्षेत्रको विकासका कुराहरूमा मैले सधैँ जोड दिनेछु । तपाईंहरूको बीचमा रहेर दुःख-सुखमा साथ रहनेछु । तपाईंहरूको विश्वास र मायालाई म डगमगाउन र चुक्न दिने छैन । माया, ममता कायम राख्दै जानुहोस् भन्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया