डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
सारांश
- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी र सरकारबीच धनगढीमा भएको वार्ता शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसम्बन्धी केही विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न सकेन ।
- डा. केसी पक्षका अनुसार विश्वविद्यालय सञ्चालन, शिक्षण अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने विषयमा सहमति भएको छ ।
- विवादास्पद उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा भने सहमति हुन नसकेपछि सोमबार पुनः वार्ता बस्ने तय भएको छ ।
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबिच धनगढीमा आइतबार भएको वार्ता निष्कर्षमा पुग्न सकेन ।
सेती प्रादेशिक अस्पतालमा दिउँसोदेखि रातिसम्म भएको छलफलमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित केही विषयमा सहमति भए पनि विवादित उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न नसकेको हो ।
डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीले विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुवै पक्षबिच कुनै असहमति नरहेको बताए । उनका अनुसार यसै वर्षदेखि ३०० शय्याको आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्ने र यसै शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने विषयमा सहमति भएको छ ।
‘अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वतयारी, अनुगमन र अनुमति दिने निकायले प्रक्रिया छिटो पूरा गर्नुपर्नेमा दुवै पक्ष सकारात्मक छन्,’ जैसीले भने ।
तर, विश्वविद्यालयका वर्तमान रजिस्ट्रार डा. भीम चन्द र उपकुलपतिलाई हटाउने विषयमा भने सहमति हुन सकेन । डा. केसी पक्षले रजिस्ट्रारमार्फत भएका सामान खरिद, कर्मचारी भर्नालगायतका काममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदको स्वार्थ जोडिएको आरोप लगाएको छ ।
केसी पक्षका अनुसार रास्वपाका सांसद केपी खनाल वर्तमान रजिस्ट्रारलाई हटाउन नहुने पक्षमा निकै सक्रिय छन् । अस्पतालका सामान खरिद र कर्मचारी भर्ना प्रक्रियामा स्वार्थ जोडिएको आरोप उनीमाथि लगाइएको छ ।
यसबारे रातोपाटीले सांसद केपी खनालसँग जिज्ञासा राखेको छ । सांसद खनालले यो आरोप अस्वीकार गर्दै आफू गेटामा विश्वविद्यालय सञ्चालन हुनुपर्ने पक्षमै रहेको बताए । रजिस्ट्रार नियुक्ति आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पार्दै उनले यो विषय सिनेट र छनोट समिति क्षेत्राधिकारमा रहेको बताए ।
‘गेटामा विश्वविद्यालय सञ्चालन हुनुपर्छ, एमबीबीएस पढाइ सुरु हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो । यदि विश्वविद्यालय सञ्चालन नै रोक्ने गरी चलखेल गरियो भने सुदूरपश्चिमका विद्यार्थी नै मारमा पर्छन्,’ सांसद खनालले भने ।
रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले पनि विश्वविद्यालय सञ्चालन हुन नदिन विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाए ।
‘६ महिनासम्म विश्वविद्यालयका संरचना निर्माण भइरहँदा कसैले चासो दिएन । अहिले ठुलो बजेट आएपछि मात्रै विवाद सिर्जना गरिएको छ । यसले सुदूरपश्चिमलाई पछि पार्ने काम गर्छ,’ उनले भने ।
यसैबिच, सुदूरपश्चिमका केही जनप्रतिनिधिले पनि अहिलेका उपकुलपति र रजिस्ट्रार हटाउने पक्षमा आफूहरू नरहेको बताएका छन् । उनीहरूको भनाइमा अहिले नेतृत्व परिवर्तनको विवादमा अल्झिए विश्वविद्यालय सञ्चालन झन् ढिलो हुने र प्रदेश फेरि पछि पर्ने अवस्था आउन सक्छ ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पदाधिकारीको विषयभन्दा पनि विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आफू मेयरका रूपमा मात्र नभई सुदूरपश्चिमका नागरिकका हैसियतले पनि यसै आर्थिक वर्षभित्र एमबीबीएसको पढाइ सुरु हुनुपर्ने पक्षमा रहेको धारणा राखे ।
‘विश्वविद्यालय घोषणा भइसकेको छ । अब यसै शैक्षिक सत्रदेखि डाक्टरी पढाइ सुरु हुनुपर्छ । को पदाधिकारी रहने वा नरहने भन्ने विषय त्यसपछि छलफल गर्न सकिन्छ । अहिले मुख्य कुरा विश्वविद्यालय सञ्चालन हो’, हमालले भने ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले पनि नेतृत्व विवादभन्दा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरे । उनले गेटामा छिट्टै चिकित्सा शिक्षाको पठनपाठन सुरु गरी सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने बताए ।
आइतबारको वार्ता रातिसम्म चले पनि अन्तिम निष्कर्षमा पुग्न सकेन । सोमबार बिहान १० बजेदेखि पुनः वार्ता बस्ने तय भएको छ । सरकार र डा. केसी पक्ष दुवैले आजको छलफलबाट बाँकी विवाद समाधान भई सहमति जुट्ने अपेक्षा गरेका छन् ।
डा. गोविन्द केसीले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा सुरु गर्न तथा विवादास्पद नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै धनगढीमा २४औँ सत्याग्रह गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
-
नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?
-
लामो युद्धका लागि अमेरिकाभन्दा बलियो अवस्थामा इरान
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण