डाक्लाङ र कोदारी क्षेत्रको पहिरो प्रभावित स्थलमा मन्त्री लम्साल र गौतम, बस्ती स्थानान्तरणको आश्वासन
सारांश
- सिन्धुपाल्चोकको डाक्लाङ र कोदारी क्षेत्रमा पहिरो प्रभावित स्थलको निरीक्षण गर्न मन्त्री लम्साल र गौतमसहितको टोली पुगेको छ।
- मन्त्री लम्सालले पहिरोबाट जोखिममा परेका बस्ती स्थानान्तरण र भौतिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी सरकारले लिने आश्वासन दिएका छन्।
- चिनियाँ पक्षको संलग्नतामा डेढ अर्बभन्दा बढी लागतमा कोदारी क्षेत्रको पहिरो दीर्घकालीन समाधानका लागि ठेक्का सम्झौता भइसकेको छ।
सिन्धुपाल्चोक । विगत ११ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग सुचारु गर्ने प्रयासस्वरूप सरकारको एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ।
शनिबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको हो।
राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिएको यस निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थाँतथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका छन्। पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पत्तिको सुरक्षाको पूर्ण जिम्मेवारी लिने आश्वासन दिए।
यद्यपि, सरकारको यस आश्वासनप्रति स्थानीयले पूर्ण विश्वास भने व्यक्त गरिसकेका छैनन्। ‘केही समस्या छैन,’ मन्त्री लम्सालले भने, ‘हामी एकदम पोजिटिभ छौँ र हामी लागि पर्छौँ।’
निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार डाक्लाङ क्षेत्रमा रहेका तीनवटा ठुला पहिरोमध्ये पहिलो पहिरोको काम भइरहेको छ। दोस्रो र तेस्रो पहिरोको व्यवस्थापनका लागि प्रक्रियागत ढिलाइ भएको उनले स्पष्ट पारे।
महानिर्देशक जैसीले स्थानीयको आशङ्का निवारण गर्न विशेषज्ञ टोली परिचालन गरिसकिएको र जमिनभित्रको पानीलाई पाइपमार्फत सुरक्षित तवरले बाहिर निकाल्ने प्रविधि प्रयोग गरिने बताए। उनले स्थानीयसँग समन्वय गर्न डाक्लाङ र कोदारीबाट दुई–दुई जना प्रतिनिधि तोक्न आग्रह गर्दै विशेषज्ञको सल्लाह र नागरिकको सुरक्षालाई प्राथमिकता दिएर मात्रै काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
‘चिनियाँ पक्षको संलग्नतामा अत्यन्तै बलियो र भरपर्दो डिजाइन तयार भएको छ,’ महानिर्देशक जैसीले भने, ‘नदीको सतहबाटै पाइल हालेर पर्खाल उठाउने र डेढ अर्ब रुपैयाँभन्दा बढीको लागतमा कोदारी क्षेत्रको पहिरो दीर्घकालीन रूपमा समाधान गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ।’
निरीक्षण टोलीमा योजना आयोगका सदस्य अर्जुनजङ्ग थापा, पूर्वाधार सचिव गोपाल सिग्देल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र सडक विभागका इन्जिनियरहरूको सहभागिता रहेको थियो। कोदारी राजमार्ग अन्तर्राष्ट्रिय व्यापारिक नाकासमेत भएकाले यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरकारले जोड दिएको छ।
तर स्थानीयको अवरोध र भौगोलिक जटिलताका कारण राजमार्ग कहिलेसम्म पूर्ण रूपमा खुल्ने भन्ने विषय अझै निश्चित हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
-
अपराध पीडितका लागि क्षतिपूर्ति र अन्तरिम राहत अनिवार्य माग गरिने : महान्यायाधिवक्ता कँडेल
-
सियाटलको फुड फेस्टिभलमा गोलीकाण्ड: ३ जनाको मृत्यु, एक संदिग्ध पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण