सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसमा व्यापक आत्मसमीक्षा र रूपान्तरण जरुरी

सोमबार, ११ साउन २०८३, १७ : ०८
सोमबार, ११ साउन २०८३

सारांश

  • बीपी कोइराला स्मृति दिवस नेपाली कांग्रेसका लागि विगतको समीक्षा र भविष्यको बाटो तय गर्ने अवसर हो।
  • पार्टीभित्रको असहमति व्यवस्थापन र सङ्गठनलाई पुनर्जीवन दिन आत्मसमीक्षा र रूपान्तरण जरुरी छ।
  • कांग्रेसले इतिहासको गौरवलाई शक्ति बनाउँदै नयाँ पुस्ताको भरोसा जित्न आत्मसमीक्षा, रूपान्तरण, पुस्तान्तरण र एकतामा जोड दिनुपर्छ।

भर्खरै बीपी कोइराला स्मृति दिवस मनाइएको छ । यो दिवस नेपाली कांग्रेसका लागि आफ्ना संस्थापक नेताको सम्झना गर्ने दिन मात्र होइन। यो पार्टीले आफूलाई ऐनामा हेर्ने, विगतका उपलब्धि र कमजोरीको निर्मम समीक्षा गर्ने तथा भविष्यको बाटो तय गर्ने अवसर पनि हो। बीपीले देखाएको लोकतन्त्र, राष्ट्रियता, समाजवाद, सहिष्णुता, संवाद र राष्ट्रिय एकताको मार्गलाई सम्झने हो भने आज कांग्रेसभित्र सबैभन्दा पहिले आवश्यक कुरा हो, आत्मसमीक्षा, सहमति, सहकार्य र एकता।

नेपाली कांग्रेसका पाका र अनुभवी नेताहरूप्रति एउटा आग्रह छ, बीपी स्मृति दिवसलाई नेतृत्वमाथि आरोप लगाउने वा आफ्नै पार्टीका सहकर्मीलाई गाली गर्ने अवसर नबनाऔँ। आफ्नै नेतृत्वप्रति कटु शब्द र आरोप प्रत्यारोपले क्षणिक राजनीतिक सन्तुष्टि त दिन सक्छ, तर त्यसले सङ्गठनभित्र विश्वास, एकता र सहकार्यको वातावरण निर्माण गर्दैन।

विचार फरक हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर असहमति व्यक्त गर्ने शैलीले नै राजनीतिक संस्कारको परिचय दिन्छ। यदि हामी साँच्चै बीपीका विचारका अनुयायी हौँ भने, असहमतिलाई पनि सभ्य ढङ्गले राख्न सक्नुपर्छ। आपसी सम्मान, सहिष्णुता र संवादको संस्कृतिलाई बलियो बनाउनुपर्छ। व्यक्तिगत कटुता होइन, साझा उद्देश्यलाई केन्द्रमा राख्नुपर्छ।

आज नेपाली कांग्रेसका अगाडि सबैभन्दा ठुलो प्रश्न यही हो, पार्टीभित्रको असहमति कसरी व्यवस्थापन गर्ने र सङ्गठनलाई कसरी पुनर्जीवन दिने ? समयले कांग्रेस आन्दोलनसँग गम्भीर आत्मसमीक्षा र निर्मम रूपान्तरणको माग गरिरहेको छ। पुरानो इतिहास, गौरवशाली योगदान र लोकतान्त्रिक सङ्घर्षको विरासत महत्त्वपूर्ण छन्। तर इतिहासको गौरवले मात्र वर्तमानको राजनीतिक चुनौती समाधान गर्दैन। जनताको बदलिँदो अपेक्षा, नयाँ पुस्ताको चेतना र प्रविधिको युगसँगै पार्टीको सोच, सङ्गठन र कार्यशैली पनि बदलिनुपर्छ।

आजको पुस्ता विगतको योगदान मात्रै सुन्न चाहँदैन। उसले परिणाम खोज्छ। रोजगारी खोज्छ। सुशासन खोज्छ। अवसर खोज्छ। न्याय खोज्छ। भ्रष्टाचारमुक्त शासन खोज्छ। राजनीतिक दलभित्र पनि पारदर्शिता, उत्तरदायित्व र पुस्तान्तरण खोज्छ। त्यसैले प्रश्न उठ्छ, के नेपाली कांग्रेसले समयको यो आवाज सुनेको छ ?

पुराना दल र तिनका पाका नेतृत्वमाथि जनताको असन्तुष्टि बढिरहेको छ। अझै पनि आत्मसमीक्षा र तथ्यगत विश्लेषणको कमी देखिन्छ। उही दम्भ, उही भाषा, उही शैली र उही राजनीतिक अभ्यास दोहोरिइरहने हो भने परिवर्तनको अपेक्षा कसरी गर्ने? पुस्तान्तरण र रूपान्तरण भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।

जनताले पुराना नेतृत्वलाई मत दिन त परै जाओस्, उनीहरूको अनुहार हेर्न र भाषण सुन्न समेत रुचि नदेखाउने अवस्था उत्पन्न भयो भने त्यसको दोष जनतालाई दिन मिल्दैन। त्यसको कारण खोज्ने जिम्मेवारी राजनीतिक दलहरूकै हो। जनता बदलिएका छन्, तर दलहरू कति बदलिए ? यही प्रश्नको उत्तर खोज्न नेपाली कांग्रेस तयार हुनुपर्छ।

स्मृति दिवस मनाऔँ, तर सिकौँ पनि। पृथ्वीनारायण शाहदेखि बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसम्मको राजनीतिक इतिहासले नेपाललाई राष्ट्र निर्माण, लोकतन्त्र र परिवर्तनका अनेक पाठ दिएको छ।

हामीसँग कहिल्यै पुरानो नहुने विचार छन्। त्याग र समर्पणको लामो इतिहास छ। तर विडम्बना के छ भने, यही देशमा राजनीतिक स्वार्थका लागि जनतालाई कहिले जातका नाममा, कहिले भूगोलका नाममा, कहिले धर्मका नाममा र कहिले अन्य भावनात्मक नाराका आधारमा विभाजित गरियो।

राजनीतिको केन्द्रमा नागरिक र विकास हुनुपर्ने हो। तर हामीले धेरै पटक विभाजनलाई राजनीतिको साधन बनायौँ। यसको मूल्य देशले चुकायो, जनताले चुकाए। अब जनतालाई फेरि त्यही विभाजनको राजनीतिमा अल्झाइराख्ने कि विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र अवसरको राजनीतिमा लैजाने ? देशलाई विभाजन होइन, विकास चाहिएको छ। द्वेष होइन, अवसर चाहिएको छ। निराशा होइन, आशा चाहिएको छ।

आज युवा पुस्ता ठुलो सङ्ख्यामा बिदेसिइरहेको छ। गाउँहरू खाली हुँदै छन्। सहरहरू पनि भविष्य खोज्दै हिँड्ने युवाको अभावमा क्रमशः वृद्ध समाज जस्ता देखिन थालेका छन्। यस्तो अवस्थामा राजनीतिक दलहरूले आफ्ना आन्तरिक झगडा र पदको प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय भविष्यबारे सोच्नुपर्छ।

यस सन्दर्भमा भारतीय राष्ट्रिय कांग्रेसको इतिहासबाट पनि नेपाली कांग्रेसले केही पाठ सिक्न सक्छ। भारतमा जवाहरलाल नेहरु, इन्दिरा गान्धी र राजीव गान्धीजस्ता नेतृत्वले लामो समयसम्म कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली बनाइराखे। तर प्रभावशाली नेतृत्वको अवसानपछि पार्टीभित्र दोस्रो तहका नेताबिचको शक्ति सङ्घर्ष बढ्दै गयो। त्यसको प्रभाव निर्वाचन परिणाम र सङ्गठनात्मक एकतामा पनि देखियो।

पछि कांग्रेसभित्रको असन्तुष्टि र विभाजनले क्षेत्रीय राजनीतिक शक्तिहरूलाई उदाउने अवसर दियो। शरद पवरको नेतृत्वमा राष्ट्रवादी कांग्रेस पार्टी र ममता बनर्जीको नेतृत्वमा तृणमूल कांग्रेसजस्ता शक्तिहरूको उदय त्यसै प्रक्रियाको एउटा उदाहरणका रूपमा हेर्न सकिन्छ। यी दलहरूले आ–आफ्नो क्षेत्रमा प्रभाव जमाए पनि पछिल्ला वर्षहरूमा तिनले पनि विभाजन र आन्तरिक सङ्कटको सामना गरेका छन्।

यसैबिच भारतीय जनता पार्टीले सङ्गठन निर्माण, विचार धारात्मक आधार, राष्ट्रिय स्वयंसेवक सङ्घसँगको समन्वय र समय अनुकूल नेतृत्व परिवर्तनमा जोड दिँदै आफ्नो प्रभाव विस्तार गर्‍यो। १९८४ को लोकसभा निर्वाचनमा दुई सिटमा सीमित भएको भाजपा पछि अटल बिहारी वाजपेयीको नेतृत्वमा गठबन्धन सरकारसम्म पुग्यो र त्यसपछि नरेन्द्र मोदीको नेतृत्वमा २०१४ र २०१९ मा स्पष्ट बहुमतको सरकार बनाउन सफल भयो। २०२४ मा भने उसले बहुमत गुमाए पनि गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गरिरहेको छ।

यसको अर्थ भारतीय राजनीतिलाई जस्ताको तस्तै नेपालमा लागू गर्नुपर्छ भन्ने होइन। तर एउटा महत्त्वपूर्ण पाठ अवश्य लिन सकिन्छ । कुनै पनि राजनीतिक दल इतिहास र भावनाको बलमा सधैँ बलियो रहन सक्दैन। सङ्गठन, नेतृत्व परिवर्तन, समय अनुकूल विचार र जनतासँगको निरन्तर सम्बन्ध आवश्यक हुन्छ। नेपाली कांग्रेसले पनि अब यही वास्तविकतालाई स्वीकार गर्नुपर्छ।

पार्टीभित्र पुस्तान्तरण हुनुपर्छ, तर पुस्तान्तरणको अर्थ पुरानो पुस्तालाई अपमान गर्नु होइन। अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडिनुपर्छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आकाङ्क्षाबिच पुल निर्माण गर्नुपर्छ। कांग्रेसको चुनौती नेतृत्व परिवर्तन मात्र होइन, राजनीतिक संस्कारको परिवर्तन पनि हो। निर्णय प्रक्रियामा पारदर्शिता, उम्मेदवार छनोटमा लोकतान्त्रिक अभ्यास, सङ्गठनमा अवसरको न्यायपूर्ण वितरण र कार्यकर्ताको सम्मान अब नारामा सीमित हुनुहुँदैन।

पार्टीभित्र पुस्तान्तरण हुनुपर्छ, तर पुस्तान्तरणको अर्थ पुरानो पुस्तालाई अपमान गर्नु होइन। अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडिनुपर्छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आकाङ्क्षाबिच पुल निर्माण गर्नुपर्छ।

कांग्रेसको चुनौती नेतृत्व परिवर्तन मात्र होइन, राजनीतिक संस्कारको परिवर्तन पनि हो। निर्णय प्रक्रियामा पारदर्शिता, उम्मेदवार छनोटमा लोकतान्त्रिक अभ्यास, सङ्गठनमा अवसरको न्यायपूर्ण वितरण र कार्यकर्ताको सम्मान अब नारामा सीमित हुनुहुँदैन।

आज पार्टी एकताका लागि दबाब आवश्यक छ। तर एकता पद बाँडफाँडका लागि होइन, उद्देश्यका लागि हुनुपर्छ। सहमति चुनाव जित्नका लागि होइन, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न हुनुपर्छ। सहकार्य सत्ता प्राप्तिका लागि होइन, देश निर्माणका लागि हुनुपर्छ। यदि हामी बीपीलाई साँच्चै सम्झिरहेका छौँ भने उहाँको तस्बिरमा माल्यार्पण गरेर मात्र पुग्दैन। उहाँले देखाएको लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतार्नुपर्छ।

कांग्रेसले अब आफैँसँग एउटा कठोर प्रश्न गर्नुपर्छ, हामी आफ्नै आस्थाको मलामी बन्ने बाटोमा छौँ कि समयमै आफूलाई सच्याएर नयाँ पुस्ताको भरोसाको पार्टी बन्ने बाटोमा? सक्किन तयार तर सच्चिन तयार छैनौँ भने इतिहासले कसैलाई माफी दिँदैन। अब पनि ढिलो भएको छैन। नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई बोझ होइन, शक्ति बनाउन सक्छ। बीपीको विचारलाई स्मृतिमा होइन, व्यवहारमा उतार्न सक्छ। पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र जनताको आकाङ्क्षालाई जोड्न सक्छ।

त्यसका लागि पहिलो सर्त हो, आत्मसमीक्षा। दोस्रो, रूपान्तरण। तेस्रो, पुस्तान्तरण। र चौथो, एकता। आजको आवश्यकता स्पष्ट छ, सहमति, सहकार्य र एकता। यो एकता कुनै व्यक्ति वा गुटको हितका लागि होइन। सार्वभौम राष्ट्र, राष्ट्रियताको रक्षा, लोकतन्त्र र विधिको शासनको सुरक्षाका लागि हो। कांग्रेस जस्तो राष्ट्रिय शक्ति बलियो भए मात्रै देशले सही दिशा दिन सक्छ।

त्यसैले बीपी स्मृति दिवसमा उहाँलाई सम्झने मात्र होइन, उहाँबाट सिक्ने सङ्कल्प गरौँ। असहमतिलाई सम्मान गरौँ। संवादलाई प्राथमिकता दिऔँ। व्यक्तिगत कटुता त्यागौँ। साझा उद्देश्यलाई केन्द्रमा राखौँ। नेपाली कांग्रेस अब पनि सच्चिन सक्छ। तर त्यसका लागि पहिले उसले आफूभित्र हेर्नुपर्छ। समयले ढोका ढकढक्याइरहेको छ। अब निर्णय कांग्रेसकै हातमा छ, ढोका खोल्ने कि इतिहासको ढोकामै उभिएर भविष्य गुमाउने ?

(लेखक नेपाली कांग्रेस जुम्लाका सचिव तथा हिमा गाउँपालिका अध्यक्ष हुन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मणबहादुर शाही
लक्ष्मणबहादुर शाही
लेखकबाट थप